कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रहरी हत्या प्रकरण : राज्यमन्त्री शर्मा र मेयर मिश्रलाई पक्राउ गर्न अदालतकाे पत्र 

जनकपुर — उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही) लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेशको फैसलासहित पत्र काटेको छ । 

प्रहरी हत्या प्रकरण : राज्यमन्त्री शर्मा र मेयर मिश्रलाई पक्राउ गर्न अदालतकाे पत्र 

उच्च अदालतका रजिष्टार मानवहादुर कार्कीले फरार सबै आरोपीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखलाई फैसलासहित पक्राउ गर्न पत्राचार गरिएको बताए ।


बिहीबार उच्च अदालतले हुलाकमार्फत पठाएको पक्राउ गर्ने पत्र जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिउँसाेसम्म प्राप्त गरेको छैन । महोत्तरी प्रहरीका एसपी कुवेर कडायतले उच्च अदालतको पत्र प्राप्त नभइसकेको बताए । ‘पत्र प्राप्त भएपछि अध्ययन गरेर आदेश कार्यान्वयन गरिन्छ,’ महोत्तरी प्रहरीका एसपी कडायतले कान्तिपुरसँग भने, ‘कानुनअनुसार कार्वाही अगाडि बढ्नेछ ।’

महोत्तरी प्रहरीका प्रमुख एसपी कडायतको भने सरुवा भएको छ । उनको ठाउँमा एसपी इश्वर कार्की आउने भएका छन् ।


उच्च अदालत, जनकपुरका न्यायधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले मंगलबार असई विकको हत्या आरोपीलाई अबिलम्ब पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, महोत्तरी र त्यसका प्रमुखको नाममा परमादेश जारी गरेका थिए । परमादेशमा आरोपी पक्राउ गर्न जिल्ला अदालत महोत्तरीको आदेश अटेरी गरेका महोत्तरी प्रहरीलाई उच्च अदालतले ‘कानुनको धज्जी नउडाउन’ समेत सचेत गराएको छ ।

सशस्त्र प्रहरीका असई विकको हत्या आरोप लागेका अभिराम शर्मा प्रदेश २ को समाजिक विकास राज्यमन्त्री हुन् भने अर्का आरोपी रामशंकर मिश्र (शंकर शाही) जलेश्वर नगरपालिकाका निर्वाचित मेयर हुन् ।


राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल राय पनि विक हत्याका आरोपी हुन् । राय, संघीय समाजवादी फोरमका नेता हुन् ।


तेस्रो मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई विकको २०७२ भदौ २५ गते हत्या गरिएको थियो ।


आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।


विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदिप साह पूर्पक्षका लागि कारागार चलान भइसकेका छन् । भने, अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् ।

असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमवहादुर विकले २०७२ असोज १ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरेको थियो ।


फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ चैत २८ गते परमादेशका लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन् । उनको रिटमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित : श्रावण १८, २०७५ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?