कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कायम मुकायम प्रधानन्यायाधीशमा जोशी नै रहने

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय सुनुवाई समितिबाट अस्विकृत भएपछि समेत जोशी केही साता कामू प्रधानन्यायाधीशमा यथावत रहने छन् । उनले राजिनामा गरे वा संसदमा महाभियोगको प्रस्ताव दर्ता भएको अवस्था बाहेक अर्को प्रधानन्यायाधीश नियुक्त नहुदासम्म जोशी यथावत हुनेछन् ।

कायम मुकायम प्रधानन्यायाधीशमा जोशी नै रहने

संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ ।

संसदीय सुनुवाई समितिले जोशीलाई न्यायाधीशमा अस्विकृत गरेको नभई प्रधानन्यायाधीश हुनमात्रै अस्विकृत गरेको हो ।


सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म उनी कामू प्रधानन्यायाधीशमा यथावत हुनेछन् । तर प्रधानन्यायाधीश पदमा अस्वीकृत भइसकेको अवस्थामा पदमा रहिरहँदा उनीमाथि नैतिक प्रश्न भने खडा हुनेछ ।


सम्भावनामा मिश्र


दीपकराज जोशी अस्विकृत भइसकेको अवस्थामा अव संवैधानिक परिषद्ले दुई जनालाई प्रधानन्यायाधिशमा सिफारिस गर्न पाउने व्यवस्था छ । सर्वोच्च अदालतमा ३ वर्ष काम गरिसकेका न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुने भनी संविधानमा भएको व्यवस्था अनुसार ओमप्रकाश मिश्र र चोलेन्द्रशम्सेर जवरा सिफारिसका लागि योग्य हुनेछन् । तर हालसम्म वरिष्ठता क्रममा अगाडि रहेकालाई नै सिफारिस गर्ने प्रचलनका आधारमा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको सिफारिस हुने सम्भावना छ ।

संवैधानिक परिषद्ले सिफारिस गरी मिश्रको नाम संसदीय सुनुवाईबाट अनुमोदन भएमा अहिलेकै अवस्थामा दीपकराज जोशी वरिष्ठतम् न्यायाधीश हुनेछन् । उनले राजिनामा दिएमा चोलेन्द्रशम्सेर राणा वरिष्ठतम् न्यायाधीश हुनेछन् । वरिष्ठतम् न्यायाधीश न्यायपरिषद र न्याय सेवा आयोगको समेत सदस्य हुने व्यवस्था छ । सर्वोच्च अदालतको अभिलेख अनुसार, मिश्र ६५ वर्ष नपुग्दासम्म अर्थात आगामी पुस १६ गतेसम्म सर्वोच्च अदालतमा कार्यरत हुनेछन् ।

प्रधानन्यायाधीशको रोलक्रममा रहेका चोलेन्द्रशम्सेरले मिश्रको अवकाशपछि सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् । हालकै परिस्थिति यथावत रहेमा उनी आगामी पुस १६ गतेपछि २०७९ मंसीर २७ गतेसम्म झण्डै ४ वर्ष प्रधानन्यायाधीश हुनेछन् । यो वीचमा उनीपछिको वरिष्ठताक्रममा रहेका दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का उमेरहद्का कारण अवकाश पाइसकेका हुनेछन् भने हरिकृष्ण कार्कीको पालो आउनेछ ।

प्रकाशित : श्रावण १८, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?