सेनाको नयाँ अस्पतालमा सेवा सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले महांकालस्थित नवनिर्मित भवनमा छाउनी अस्पतालको दन्त र बाल चिकित्सा सेवा सञ्चालनमा ल्याएको छ । यससँगै उक्त भवनमा आकस्मिक र बहिरंग सेवा पनि सञ्चालनमा आउने भएको छ ।

दाँतसम्बन्धी समस्याको सामान्य उपचार छाउनीमा हुने भए पनि उच्चस्तरीय उपचार भने नयाँ भवनमा हुने सेनाले जनाएको छ । उक्त भवन सैनिक कल्याणकारी कोषबाट निर्माण गरिएको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै अत्याधुनिक उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन सुरु भएको जनाएका हुन् । महाभूकम्पपछि उक्त भवनबाट प्रदान गरिंदै आएको स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द भएको थियो ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रुपमा नै यसलाई उपयोग गर्ने क्षत्रीले बताए । अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुने बताइएको छ । आरम्भमा दन्त चिकित्सा, बाल चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उक्त भवनबाट उपलब्ध हुने जनाइएको छ ।

ऐतिहासिक सम्पदाका रूपमा रहेको उक्त अस्पतालको पुरानो स्वरूपमै अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको बताउँदै क्षत्रीले भने, ‘छाउनी अस्पतालमा बिरामीको चापलाई यसले घटाउने छ ।’ उनले भविष्यमा सर्वसाधारण नागरिकलाई पनि स्वास्थ्यसेवा उपलब्ध गराउने योजना रहेको बताए । रुक्मांगद कटवाल प्रधानसेनापति हुँदैदेखि छलफलमा आएको भए पनि यसको निर्णय गौरवशमशेर राणाको पालमा भएको हो । भवन जमिनमाथि सात तला र अन्डरग्राउन्ड दुई तला पार्किङ गरी नौ तलामा समेटिएको छ ।’

पहिलो विश्वयुद्धबाट प्रभावित नेपाली सैनिकको उपचार र स्वास्थ्य सेवाका लागि बेलायतले १९८२ सालमा उक्त अस्पताल निर्माण गरिदिएको हो ।

प्रकाशित : श्रावण १९, २०७५ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरा भित्र्याएर बुहारीको बिहे

पश्चिम तराईको डगौरा थारु समुदाय छोराको मृत्युपछि बुहारीका लागि आफंै केटा खोजिदिन्छ । घर भित्र्याएर पूजाकोठामा दूधभात खुवाउँछ अनि बुहारीसँग धुमधाम बिहे गराइदिन्छ ।
भवानी भट्ट

कञ्चनपुर — वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो ।

भोरुवा परम्पराअनुसार विवाह गरेका कञ्चनपुरको वेदकोट–७ का जोगराम दम्पती छोरासँग । तस्बिर : भवानी । कान्तिपुर

बुढ्यौलीले छोएपछि सासूससुरा पनि सहारा दिन सक्ने अवस्थामा थिएनन् । व्यावहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा परम्परा सहारा बनिदियो ।

डगौरा थारू समुदायको ‘भोरुवा राख्ने’ परम्पराले रिनालाई पुनर्जीवन दिएको हो । उनको परिवारले जिल्लाकै शुक्लाफाँटा नगरपालिकाको नौखुरी शिविरका फूलरामलाई दुलहीझैं घर भित्र्यायो । फूलरामलाई छोरा बनाएर रिनाको विवाह गराइदिए ।

ससुरा लक्ष्मणले पछिल्ला दिन हराउँदै गएको परम्परा बुहारीकै लागि अघि बढाए । ‘यो परम्पराले मेरा टुहुरा नातिले बुबा मात्रै पाएनन्, मैले छोरा पनि पाएँ,’ रिनाकी
सासू पार्वतीले भनिन्, ‘अहिले घरमा कमाउने र खेतीको काम गर्ने जिम्मा उसैको काँधमा छ ।’

कलुराम बितेपछि बुबा लक्ष्मणले नौखुरीबाट फूलरामलाई ल्याएर परम्पराअनुसार छोरा बनाए । बुहारीसँग विवाह गराइदिए । जवान बुहारीलाई एकल राख्नु हुँदैन भनेर छोरा बनाएर विवाह गराएको पार्वतीले बताइन् । पार्वतीले फूलरामलाई पूजाकोठामा देवताको थानमै लगेर काखमै बसाएर दूधभात खुवाएर छोरा बनाएकी हुन् ।

‘बूढाले खोजेर ल्याएपछि बुहारी र छोराले एकअर्कालाई मन पराए,’ उनले भनिन्, ‘त्यसपछि हामीले परम्पराअनुसार काम गर्‍यौं ।’ अहिले फूलराम रोपाइँ सकेर कामका लागि भारतको सिमला गएका छन् । लक्ष्मण र पार्वतीका अर्का छोरा पनि छन् । तर यो दम्पती फूलरामसँगै बस्छ । जेठो छोराभन्दा बढी रेखदेख र माया पनि फूलरामले गर्ने गरेको उनीहरूले बताए । मिहिनेत गर्ने भएकाले खानलाउने समस्या पनि टरेको छ । उनीहरूसँग घडेरीका लागि मात्रै जमिन छ । फूलरामले डेढ बिघा जमिन अधियाँ कमाउँछन् । खेतीको काम सकेपछि कामका लागि भारत जान्छन् ।

वेदकोट नगरपालिका–१० की रिना।

वेदकोट–७ वसन्तपुरकी कलावतीदेवी डगौराको पनि यही परम्पराअनुसार पुनर्विवाह भएको छ । २०/२२ वर्षकै उमेरमा पति इन्द्र बहादुरको मृत्यु भएपछि उनको अवस्था पनि रिनाको जस्तै थियो । कलिला बालबालिका हुर्काउनेदेखि वृद्ध सासूससुराको रेखदेख गर्ने जिम्मेवारी कलावतीकै काँधमा आइलाग्यो ।

एक मात्र छोराको मृत्युको ६ वर्षपछि बुबा इन्द्रजितले छिमेकी गाउँका जोगरामलाई परम्पराअनुसार छोरा बनाएर बुहारीको विवाह गराइदिए । उनले पनि जोगरामलाई काखमा बसाएर दूधभात खुवाएर छोरा बनाएका हुन् । पहिलो पतिका तर्फबाट २ छोरा र २ छोरी छन् । सबैलाई पढाउने काम जोगरामकै काँधमा छ । एउटा छोरा र २ छोरीको विवाह पनि उनले नै गरिदिए ।

इन्द्रबहादुरको मृत्युपछि कलावतीका भिनाजुले जोगरामसँग कुरा चलाइदिएका थिए । त्यो कुरा कलावतीका ससुरा इन्द्रजितलाई पनि मन पर्‍यो । कलावतीको पीडा र कलिला बालबालिका देख्दा जोगरामलाई पनि सहानभूति जाग्यो । उनले कलावतीका भिनाजुको प्रस्ताव अस्वीकार गर्न सकेनन् । ‘घरमा थाहै नदिएर म यतै छोरा भएर बसें,’ उनले भने, ‘मेरा लागि यतैका आमाबुबा भए । उनीहरूको काजकिरिया पनि मैले नै गरें । पहिलो घरसँगको सबै सम्बन्ध विच्छेद भयो ।’ जोगरामका २ भाइ छन् । उनीहरूसँग उठबस चल्छ । अहिले पनि भेटघाट भइरहन्छ । तर, उनले पुरानो घरबाट न त कुनै अंश लिएका छन्, न त्यहांँ जान्छन् । त्यहांँ बिहेबारी पनि नहुने उनले बताए । ‘अहिले हाम्रो परिवार सुखी छ,’ कलावती भन्छिन्, ‘उहाँ नभएको भए अहिले मेरो हालत कस्तो हुन्थ्यो, अनुमान पनि गर्न सक्दिनँ ।’

डगौरा थारू समुदायको यो परम्परा धेरै पुरानो हो । सुरुमा एक मात्र छोरा हुने परिवारले यस्तो परम्परा अपनाएको यो समुदायका अगुवाले बताए । पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । ‘यो परम्पराले एकल महिलालाई ठूलो साथ र सहयोग पुगिरहेको छ,’ वेदकोट–७ का वडाध्यक्ष वीरबहादुर डगौराले भने, ‘अहिले यो परम्परा हराउँदै गएको छ ।’
मानव अधिकारकर्मी इन्द्रा चौधरीका अनुसार विगतमा दुई तरिकाले पुरुषलाई घरमा भित्र्याउने परम्परा थियो । बुहारी कलिलैमा एकल भए विवाह नभएको पुरुषलाई दुलही बनाएर बुहारीलाई छोरा मानेर विवाह गरिदिने चलन थियो । अर्काे छोरा मानेर भित्र्याउने । अहिले यी दुवै परम्परा घटदै गएको उनले बताइन् ।

कसरी भित्र्याइन्छ छोरा
छोराको मृत्युपछि बुहारीलाई एकल हुन नदिन डगौरा थारू समुदायमा छोरा भित्र्याउने चलन छ । यसलाई ‘भोरुवा’ राख्ने चलन भनिन्छ । छोराको मृत्युपछि आमाबुवाले अर्काे विवाह नभएको पुरुषको खोजी गर्छन् । त्यसपछि घर ल्याएर पूजाकोठामा पुर्‍याई दूधभात खुवाइन्छ । दूधभात खुवाएपछि छोरा हुने मान्यता छ ।

छोरा भइसकेपछि एकल बुहारीसँग विवाह गराइदिन्छन् । छोरा हुनुभन्दा पहिले एकल महिला र छोरा हुनेले एकअर्काेलाई हेरेर निर्णय गर्न पाउँछन् ।

यसरी छोरा भई आउनेले पुरानो घरसँगको सबै नातासम्बन्ध तोड्नुपर्ने परम्परा रहेको थारू समुदायका अगुवाले बताए । ‘युवापुस्तामा यस्तो जोडी विरलै देखिन्छ,’ थारू अगुवा बलबहादुर डगौराले भने, ‘पुरानो पुस्तामा कहींकतै भेटिन्छन् ।’

प्रकाशित : श्रावण १९, २०७५ ०७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT