अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर लैजान रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर उडान अनुमति असहज हुँदा पर्यटक समस्यामा पर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर लैजान रोक

तातोपानी नाका बन्द भएपछि अन्तर्राष्ट्रिय नाकाका रूपमा विकसित गरिएको रसुवागढी–केरुङ आसपास हेलिकप्टर लैजान विशेष स्वीकृति लिनुपर्ने अवस्था छ ।

नेपाल–चीन सीमाक्षेत्रमा पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने गरेका छन् तर तिनको उद्धारका लागि सहजै हेलिकप्टर लैजान सकिने अवस्था छैन । सीमा जोडिएका अधिकांश क्षेत्र निषेधित भएकाले हेलिकप्टर लैजान स्वीकृति अनिवार्य लिनुपर्छ ।

लामटाङ पदयात्रा र मानसरोवरसमेतको यात्रा तय हुने क्षेत्रमा पुगेर फर्कने क्रममा यात्रु समस्यामा पर्ने गरेकाले त्यसका लागि निजी क्षेत्रले सहज उडान गर्न पाउनुपर्ने विषय पर्यटन व्यवसायीले उठाउँदै आएका छन् तर सरकारले यसमा चासो नदेखाएको गुनासो उनीहरूको छ । चिनियाँ पक्षसँग छलफल नगर्दा र नेपालले पुरानो प्रावधान परिवर्तन नगर्दा समस्या आएको हो ।

त्यस क्षेत्रलाई पुरानो प्रावधानले प्रतिबन्धित क्षेत्रका रूपमा अथ्र्याएको छ, जसमा टेकेर प्रशासकहरूले लामो प्रक्रियाको झन्झट पर्यटन व्यवसायीमाथि थोपरेको गुनासो उनीहरूको छ । उडान अनुमति लिइसकेकाले पनि प्रतिबन्धित क्षेत्रको अनुमति लिन नागरिक उड्डयन मन्त्रालय पुग्नुपर्ने झन्झट पनि छ । ‘उडानका लागि दिइएको एअर अपरेटर सर्टिफिकेटमा ‘नेपालभरि’ लेखिएको हुन्छ तर निषेधित क्षेत्रमा जान त्यो लिएर पुन: नागरिक उड्डयन मन्त्रालय पुग्नुपर्छ,’ कैलाश हेलिकप्टरको अपरेसन डिपार्टमेन्ट प्रमुख श्रीहरि कुइँकेलले भने, ‘निषेधित क्षेत्र गृहले घोषणा गरेपछि गृहमा पुगे हुने होला तर किन नागरिक उड्डयनमा पठाइन्छ ? यो बिरालो बाँधेजस्तो भयो ।’

दुई दिनअघि नुवाकोट र रसुवाका विभिन्न सडक खण्डमा गएको पहिरोले यात्रु अलपत्र परे । सरकारले उद्धार गर्ने त परको विषय, निजी क्षेत्रबाट पनि त्यसमा उद्धारका लागि पहल नगरेको गुनासो व्यवसायीहरूले नै गरेका छन् । समस्यामा परेका व्यक्तिलाई उद्धार गर्ने काम राज्यको भएको सरकारी अधिकारीहरू बताउँछन् । निजी क्षेत्रले उद्धारका नाममा व्यवसाय मात्रै गरेको उनीहरूको आरोप छ । ‘राज्यले दिएको न्यूनतम मापदण्ड पालना गर्नुपर्छ, सुधार हुँदै जान्छ,’ एक सरकारी अधिकारीले भने, ‘पर्यटन व्यवसायी बसेरै पारित गरेको कार्यविधिअनुसार काम गर्ने हो ।’

रसुवागढी राष्ट्रिय नाका हुँदाको मापदण्डलाई परिवर्तन गर्नुपर्ने पर्यटक व्यवसायी ज्योति अधिकारीले बताए ।

प्रकाशित : श्रावण १९, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?