कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रतिकूल मौसमका कारण अवतरण नगरेरै फर्किन्छन् जहाज 

रासस

जुफाल, डोल्पा — केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ ।

प्रतिकूल मौसमका कारण अवतरण नगरेरै फर्किन्छन् जहाज 

निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताए । 'अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुश्किलले जम्मा १०/१२ वटासम्म उडान हुन्छ' उनले भने । 'हवाई उडान अनियमित हुनुमा बिग्रँदो मौसम नै हो' उनले भने ।


मौसमकै कारणले नेपालगञ्ज विमानस्थलदेखि उडान भइसकेका जहाजसमेत विमानस्थलमा अवतरण गर्न नसकेर फर्कने गरेको उनले बताए । आज मात्र जुम्ला, हुम्ला, मुगु, बाजुरालगायतका विमानस्थलमा केही उडान भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।


दैनिक ५० प्रतिशतसम्म उडान रद्द हुने गरेपछि पश्चिमका सिमिकोट, जुफाल, जुम्ला, ताल्चालगायतका विमानस्थलमा यात्रु अलपत्र परेका छन् । विमानस्थलमा दैनिक यात्रु थपिने तर उडान भने नहुने भएपछि यात्रुको चाप बढ्दै गएको छ । राष्ट्रिय सडक सञ्जालको पहुँच पुग्न नसकेका डोल्पा र हुम्लाका विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढेको छ । जोखिमपूर्ण पैदलयात्राका कारण सर्वसाधारण जहाजबाटै गन्तव्यसम्म पुग्न खोज्ने गरेकाले डोल्पा र हुम्ला विमानस्थलमा यात्रुको चाप अन्य विमानस्थलको तुलनामा धेरै हुने गरेको हो ।


कर्णालीका विमानस्थलमा हवाई उडान अनियमित हुने गरेपछि हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलदेखि जुम्ला, डोल्पा, हुम्ला, बझाङ, मुग र बाजुराका विमानस्थलमा उडान हुने गर्दछ । यस विमानस्थलबाट तारा, समिट, सीता, नेपाल एयरलाइन्सलगायतका निजी तथा सरकारी विमान कम्पनीले उडान भर्दै आएका छन् ।


अवतरण नगरेरै फर्किन्छन् जहाज


केही दिनयता प्रतिकूल मौसमका कारण नेपालगञ्जबाट उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन् । आजभोलि जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाग्लो हुस्सुले हवाई रुट बन्द भएपछि पहाडी जिल्लाका विमानस्थल पुगेका जहाज पनि अवतरण नगरेरै बीचबाटै फर्किने गरेको विमान कम्पनीहरुले जनाएका छन् । साथै क्षणभरमै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेको छ ।


शुक्रबार बिहान मात्रै नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका विभिन्न विमानस्थलका लागि उडेका तारा एयरको जहाज अवतरण गर्न नसकेरै फर्केका थिए ।


जुफाल विमानस्थल पाँच दिनदेखि बन्द


डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द भएको छ । खराब मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँच दिनदेखि एउटा पनि उडान हुन सकेको छैन ।


मौसम बिग्रदै गएका कारण आजभोलि आठ/दश दिनमा तीन–चारवटा उडान मात्रै हुने गरेको जुफालमा उडान भर्दै आएका विमान कम्पनीले जानकारी दिएका छन् । जुफाल विमानस्थलमा जहाज आउन छाडेपछि कतिपय सर्वसाधारण जोखिमपूर्ण पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । जहाज आउन छाडेपछि जुफालमा कतिपय बिरामी, वृद्धवृद्धा अलपत्र परेका छन् । 'दैनिक बिहान विमानस्थल आउछौँ तर जहाज आउँदैन्, निराश भएर घर फर्किनु परेको छ' त्रिपुरासुन्दरी नगरपालिका–१ की भावना कठायतले गुनासो गरिन् ।


पाँच दिनदेखि जहाज नआएकाले जुफाल विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढ्दै गएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिए । जुफाल विमानस्थलमा जहाजको पर्खाइमा बसेका सबै यात्रुलाई उडाउन एकैचोटी चार/पाँचवटा उडान आवश्यक पर्ने भण्डारीले बताए ।

प्रकाशित : श्रावण १९, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?