१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बालविवाह रोक्न बालिका बिमा

अमृता अनमोल

बुटवल — कलिलैमा गरिने विवाह र छोरीमाथि हुने हिंसा रोक्न के गर्नुपर्ला ? धेरै ठाउँमा उत्तिकै उपायबारे बहस हुन्छन् । रूपन्देहीका केही स्थानीय तहले भने यसबाट छुटकाराका लागि बालिका बिमा सुरु गरेका छन् ।

बालविवाह रोक्न बालिका बिमा

ओमसतिया गाउँपालिकाले गत आर्थिक वर्षबाट नवजात छोरीको बिमा सुरुवात गरेको थियो । त्यसलाई पछ्याउँदै गैडहवा गाउँपालिकाले चालु वर्षदेखि यस्तो कार्यक्रम सुरु गरेको छ । दुवै गाउँपालिकाले २५ हजारको बिमा गर्छन् । यसरी बिमा गरिएका छोरीले २० वर्ष उमेर पुगेपछि रकम झिक्न पाउँछन् ।

२० वर्षभन्दा पहिल्यै बिहे भए वा छोरीलाई प्रारम्भिक शिक्षा प्रदान नगरे बिमा जफत हुन्छ । दुवै मधेसी समुदायको बाहुल्य भएका गाउँपालिका हुन् । त्यहाँ बालविवाह बढी हुने गरेको छ । यस्ता चेतनामूलक कार्यक्रम धेरै सञ्चालन भए पनि जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय तहमा बालविवाहमा कमी ल्याउन सकिएको छैन । गत वर्षबाट बिमाको सुरुवात गरेको ओमसतियामा बालिका हिंसा धेरै छ । लिंग पहिचान गरेर भ्रूणहत्या, छोरी नपढाउने र बालविवाह गर्ने चलन व्याप्त छ ।

जनप्रतिनिधिले पहिलो गाउँसभाबाट कार्यक्रम लागू गरेका हुन् । ‘स्याहारमा ध्यान नदिने र बालविवाह हुने भएकाले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या परेको छ,’ ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवटले भने, ‘बालविवाह रोक्ने उद्देश्यले बिमा सुरु गरेका हौं ।’

गाउँपालिकाले गत वर्षबाट नवजात बालिकाको बिमा गर्दै आएको छ । एक बालिका बराबर गाउँपालिकाको २० हजार र अभिभावकको ५ हजार गरी २५ हजारको बिमा हुन्छ । बिमाका लागि छुट्टै कार्यविधि छ । त्यसअनुसार बालिका जन्मेपछि भरसक ३५ दिनभित्र, नत्र जन्मेको वर्षमा जन्मदर्ता गर्नुपर्छ । यसपछि अभिभावकले वडा कार्यालयमा बिमाका लागि निवेदन दिनुपर्छ ।

वडाले सिफारिस गरेपछि गाउँपालिकाले तोकेका साना किसान सहकारी संस्थामा खाता खोल्नुपर्छ । त्यसमा २० वर्षपछि साँवा ब्याज निकाल्ने गरी बालिकाका लागि २० हजार गाउँपालिकाले र ५ हजार रुपैयाँ भने बाबुआमाले जम्मा गर्नुपर्छ । विपन्न परिवारका लागि भने बाबुआमाबाट दिने रकम पनि गाउँपालिकाले बेहोर्छ । बालिका २० वर्ष पुगेपछि यो साँवा ब्याजसहित निकाल्न मिल्छ ।

प्रकाशित : श्रावण २०, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?