१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पहिरोले घेरियो खलंगा, २ घर पुरिए

तीन सातादेखि खलंगामा सडक यातायात अवरुद्ध
चार दर्जन घर पहिरोको उच्च जोखिममा
स्थानीय बासिन्दालाई सास्ती, सम्बन्धित निकाय बेखबर
भीमबहादुर सिंह

जाजरकोट — शनिबार रातिको भारी वर्षााले जाजरकोटकाे भेरी नगरपालिका– ३ ठाँटीबजारमा पहिराेले दुई वटा घर पुरिएका छन् । आइतबार बिहान ८ बजेतिर पहिरो खसेको हो । घरभित्र ५ जना बालबालिका रहेको जानकारीका अाधारमा प्रहरी र स्थानीयले उद्धार सुरु गरेका छन् । अहिलेसम्म ती बालबालिका बारे यकिन हुन सकेको छैन ।

पहिरोले घेरियो खलंगा, २ घर पुरिए

चारैतिर पहिरो खसेपछि खलंगा बजारमा तीन सातादेखि यातायात ठप्प छ । वर्षात् सुरु भएसँगै साउन पहिलो सातादेखि खलंगा पहिरोको घेरामा परेको छ । खलंगा–पाँचकटिया, खलंगा–नेपालगन्ज, खलंगा–रिम्ना हुँदै डोल्पा जाने सडक पहिरोको जोखिम मूल्यांकन नगरी खनेकाले चारैतिर पहिरो खसेको हो ।


यस्तै तीन साताअघिको भारी वर्षाले खहरे खोला, भेलाले, न्युरोड, रेडक्रस भवन, सिटिजन बैंक, रिसाङ, स्याँलालगायत स्थानमा सडक भत्किएको छ । खहरेखोला र रेडक्रस भवन नजिकको सडकमा मान्छे हिँड्ने बाटोसमेत छैन । पैदलयात्री जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।
सडक विस्तार गर्दा मापदण्डअनुसार नाली नबनाइएकाले पानीले सडक बगाउँदै लगेको छ ।

पहिरोले खलंगा आउन र जान समस्या भएको भेरी नगरपालिका –३ का बुद्धिबहादुर खत्रीले बताए । सदरमुकाममा यातायातका साधन चल्ने बाटो बन्द भएपछि वृद्धवृद्धा र बिरामी बढी समस्यामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको मूल्य अकासिएको छ ।


खलंगा बजार तल रहेको जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका–३ र ४ का न्युरोड, शान्तिचौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका चार दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातार वर्षासँगै घरमुनिको सडक पहिरिन थालेपछि खलंगावासी जाग्राम बस्ने गरेका छन् ।

पहिरोले न्युरोड र ठाँटी बजारको पूरै बस्ती बग्ने खतरा बढेको छ । ४/५ तले पक्की घर पहिरोको जोखिममा परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । पहिरोले भद्रबहादुर वली, गुलावी सुनार, केशव बस्नेत, तेजबहादुर खत्री, शान्तबहादुर शाही, लोकबहादुर खत्री, मेनुका खडका, हर्कबहादुर खडका, गणेशबहादुर थापा, बलबहादुर विक, रेशम सुनार, भीमराज सिंह, गणेश कामीलगायतको घर उच्च जोखिममा परेको स्थानीय शान्तबहादुर शाहीले बताए ।


मापदण्डअनुसार सडक निर्माण तथा उचित ढल निकासको व्यवस्था नहुँदा खलंगा बजारलाई घेरेर ठूला पहिरो जानुका साथै दर्जन स्थानमा सडक भासिएको शाहीले बताए । उनका अनुसार गत साउन ६ गतेदेखि पहिरो खस्ने क्रम रोकिएको छैन । ‘तत्काल पहिरोको रोकथाम र ढल निकासको व्यवस्था नगरे बस्ती नै बग्ने खतरा बढदै गएको छ,’ उनले भने ।

भिरालो भूबनोटको खलंगामा डोजर लगाएर जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको उनले बताए । रुपैडियादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा कालेगाउँ सडक स्तरोन्नति गर्दा ग्याभिङ, नालीलगायतमा ध्यान नदिइएकाले खलंगा बजार पहिरोको मारमा परेको उनको भनाइ छ ।


सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड स्तरोन्नतिका लागि गतिलो डिजाइन नबनाउँदा र गुणस्तरीय निर्माणमा ध्यान नदिँदा ठाउँ–ठाउँमा पहिरोको उच्च जोखिम भएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । यसले गर्दा खलंगा बजारका चार दर्जन पक्की घर जोखिममा परेको उनले जानकारी दिए ।

सडकमा नाली नबनाउनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फाल्नु, सडकछेउमा जथाभावी सेफ्टी टयांकी बनाउनु, भत्किएको सडक समयमै मर्मत सम्भार नगर्नु, जथाभावी बन विनाश गर्नुलगायत कारणले पहिरोको जोखिम बढेको घर्तीले बताए । पहिरोबाट खलंगा बजार जोगाउन चुनौती भएको उनले बताए । सिटिजन बैंकनजिक, खहरेखोला र रेडक्रस भवन तलको पहिरो नियन्त्रण गर्न करोडौं बजेट आवश्यक पर्ने प्रमुख घर्तीको भनाइ छ ।

भिरालो जमिनमा भवनसंहिता तथा प्राविधिक डिजाइनबिना ४/५ तले घर निर्माण गर्नु अर्को जोखिम भएको उनको भनाइ छ । ‘नगरपालिका क्षेत्रभित्र न सडकमा नाली छन् न ढल निकासको उचित व्यवस्था छ,’ उनले भने, ‘न त सडकछेउमा भवन निर्माण आचारसंहिता लागू गरेर घर बनेका छन् ।’


सदरमुकाम क्षेत्रको पहिरोको जोखिम टार्न स्थानीय सरकारको सामथ्र्यले नभ्याउने र तत्काल सम्बन्धित निकायले पहल नथाले ठूलो धनजनको क्षति हुने नगर प्रमुख घर्तीले बताए । पहिरोको जोखिम टार्न सडक विभाग, भवन तथा सहरी विकास विभागलगायत निकायले उचित योजना तथा बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । खलंगामा पहिरोको जोखिम घटाउन अनिवार्य ढल निकासको व्यवस्था तत्काल गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?