कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जाजरकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो [अपडेट]

भीमबहादुर सिंह

जाजरकोट — अविरल वर्षाका कारण भेरी नगरपालिका ३ ठाँटीबजारमा पहिरोमा पुरिएर आइतबार ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ८ बालबालिका छन् । पहिरोमा परी एक जना घाइते भएका छन् । 

जाजरकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो [अपडेट]

सय मिटर माथिबाट आएको पहिरोले स्थानीय तीर्थराज बोहरा र जीतबहादुर सुनारको घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । शनिबार रातिको लगातारको वर्षापछि गएको पहिरोबाट घरमुली तीर्थराज बोहराकी छोरी ५ वर्षीय नजिता बोहरा, उक्त घरमा डेरा गरी बस्ने भेरी नगरपालिका ६ गंगटीयाका लालबहादुर लुहारकी २५ वर्षीय श्रीमती शितल, उनकै छोरीहरु ९ वर्षीया भगवती, ६ वर्षीया रञ्जना र ३ वर्षीया मनिषाको मृत्यु भएको हो ।


त्यस्तै पहिरोमा पर्दा जीतबहादुरको घरमा डेरा गरी बस्ने कुशे ५ खुर्पाका प्रेमबहादुर परियारका १२ वर्षीय छोरा नरेन्द्र, कुशे ६ भार्मका कृष्णबहादुर परियारका १० वर्षीय छोरा नविन, नलगाड नगरपालिका ३ करुवाका जीतबहादुर परियारका ५ वर्षीय छोरा दशरथ र १२ वर्षीय छोरा गोविन्दको मृत्यु भएको छ । पहिरोले तीर्थराजको घरमा डेरा गरी बस्ने एकै परिवारका ४ जनाको ज्यान लिएको छ ।


पहिरोले घर भत्केपछि पुरिएका ३५ वर्षीय लालबहादुरको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको थियो । कम्मर र हात चोटपटक लागेको लालबहादुरको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । उद्धार ढिलाई हुँदा पुरिएका अन्य सबैको मृत्यु भएको थाप्लेका ओमप्रकाश सिंह राठौरले बताए । पहिरो खसेको डेढ घण्टापछि मात्र सेना, प्रहरीसहित उद्धार टोली घटनास्थल पुगेको उनले बताए । घटना स्थलदेखि २ सय मिटरमा प्रहरी चौकी, १ किलोमिटरको दूरीमा जिल्ला प्रहरी तथा सशस्त्र प्रहरी, ५ सय मिटरको दूरीमा जिल्ला प्रशासन कार्यालय र २ किलोमिटर टाढा नेपाली सेनाको ब्यारेक छन् ।


पहिरोमा पुरिएकाको शव निकाल्न २ देखि ८ घण्टा लागेको राठौरले बताए । पहिरोको कारण ठाटीबजारका किशोर खत्री, कर्ण खत्री, कर्णबहादुर शाही, प्रेमबहादुर शाही, प्रकाश विक, कमल रावत, अर्जुन पुन, आशे कामी, कुमारो नेपाली, ओमजंग शाह, तेज विक्रम शाहलगायतका १७ घर उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताए । लगातारको वर्षात, पहिरो खस्ने क्रम जारी रहनु र हिलाम्मे माटोका कारण उद्धारमा ढिलाई भएको खतिवडाले बताए ।


खलंगा बजार क्षेत्रमा ढल निकासको ब्यवस्था नहुँदा, मापदण्ड विपरित जथाभावी घर बनाउँदा, घडेरी खन्दा निस्केको माटो जथाभावी फाल्दा, वनजंगल विनास गर्दा, डोजरले सडक खन्दा, जोखिमयुक्त स्थानमा ग्याबीङ्ग तथा मेसिनरी वाल नलगाउनु जस्ता कारणले ठूलो मानवीय क्षति भएको नागरिक अगुवा केदारबहादुर शाहले बताए । सदरमुकाम खलंगामा पहिरोको जोखिम बढ्दै गएको जानकारी हुँदाहुँदै पनि सम्बन्धित निकायले जोखिम न्युनीकरणतर्फ ध्यान नदिएको उनको आरोप छ ।


खलंगा बजारबाट बाहिर निस्कने र आउने बाटोसमेत नभएको उनले बताए । खलंगाबजारका ६५ घर पहिरोको उच्च जोखिममा परेको उनले बताए ।


.............

अविरल वर्षात्‌का कारण भेरी नगरपालिका–३, ठाँटीबजारमा आइतबार बिहान पहिरो खस्दा पुरिएका ७ जनाको शव निकालिएकाे छ । उक्त पहिरोमा २ जना अझै पुरिएका छन् । एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका थिए ।


पहिरोमा पुरिएका तीर्थराज बोहराकी छोरी ५ वर्षीय नज्मा बोहरा, २५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना बिक, ३ वर्षीय मनिसा बिक, ९ वर्षीय भगवती बिककाे शव निकालिएकाे छ । पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको छ । उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले एकै परिवारका ४ जना र स्थानीय जीतबहादुर सुनारको घरमा बस्ने ४ जना बालक पुरिएका थिए।

१२ वर्षीय गोविन्द परियार, ६ वर्षीय दशरथ परियार, १२ वर्षीय नरेन्द्र परियार र १० वर्षीय नवीन परियार पुरिएका थिए। उनीहरु मध्ये २ जनाकाे शव भेटिए पनि सनाखत हुन सकेकाे छैन ।


पुरिएकाहरुको प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय लगायतले उद्धार जारी राखेको निमित्त प्रजिअ खतिवडाले बताए । उक्त पहिरोको कारण ठाँटीबजार आसपासका १७ वटा घर जोखिममा रहेको उनले बताए ।


जाजरकोटकाे भेरी नगरपालिका–३ ठाँटीबजारमा आइतबार बिहान गएको पहिरो । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर ।

प्रकाशित : श्रावण २०, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?