कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुरप्रसादलाई अदालतमा उपस्थित हुन आदेश

रमेशकुमार पौडेल

चितवन — गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा आइतबार बहसपछि चितवन जिल्ला अदालतले जाहेरवाला मृतकका दाइ नुरप्रसादलाई अदालत ल्याउन आदेश दिएको छ । अदालतले यस्तो आदेश गरेको यो दोस्रो पटक हो ।

नुरप्रसादलाई अदालतमा उपस्थित हुन आदेश

गएको फागुन १३ गते जिल्ला न्यायाधीस कुलप्रसाद शर्माले यस्तै आदेश गरेका थिए । न्यायाधीश शर्माले नै आइतबार पनि सोही आदेश दोहोर्‍याएका हुन् । त्यो बेला गरेको आदेशपछि नुरप्रसाद अदालतमा उपस्थित भएका थिएनन् । ‘जसलाई ल्याउनु भनेको हो त्यो पत्र उसैलाई बुझाउनु पर्छ । नभए उसका परिवारलाई बुझाउने वा घरमा टाँस्नु पर्छ', अदालतका सूचना अधिकारी केशव पौडेलले भने, 'त्यसो पनि गर्न नसके वडा कार्यालय जस्तो सार्वजनिक ठाउँमा टाँस्नु पर्छ ।’


पहिलाको आदेशमा यो नियम नपुर्‍याएको हुँदा फेरि आदेश गर्नु परेको उनले बताए । ‘सम्बन्धित व्यक्ति नभेटिएपछि अपनाउनु पर्ने विधि प्रक्रिया पूरा नभएको हुँदा पहिलाको म्याद तामेली बदर गरेर फेरि ल्याउने अर्को आदेश भएको हो’ चितवन जिल्ला अदालतका सूचना अधिकारी पौडेलले भने । पहिलाको म्याद पत्र चौतारोमा टाँसेको भन्ने जानकारी आएको थियो ।

झण्डै चार वर्षदेखि सम्पर्कविहीन मृतक कृष्णका दाइ नुरप्रसाद अधिकारी आइतबार नै काठमाडौंमा फेला परेका छन् ।


सूचना अधिकारी पौडेलका अनुसार नुरप्रसाद १५ दिनभित्र अदालतमा आएर बकपत्र गर्नु पर्ने हुन्छ । आइतबार उजुरीकर्ताको तर्फबाट जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल) परमेश्वर पराजुली तथा कानुन व्यवसायीहरु बाबुराम गिरी र इन्द्र अर्यालले बहस गरेका थिए ।

त्यसैगरी मुद्दाको प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरु रमन श्रेष्ठ, मुक्ति प्रधान, धर्मराज आचार्य र दीनमणि पोखरेलले बहस गरेको सूचना अधिकारी केशव पौडेलले बताए । ‘अब सोमबार नै पत्र जान्छ । जाहेरवाला नुरप्रसाद आएर बयान गरेपछि थप प्रक्रिया अगाडि बढ्छ’ पौडेलले भने ।


कृष्ण अधिकारीको हत्या वि.सं. २०६१ सालको जेठ २४ मा भएको थियो । कृष्णप्रसादलाई हत्या गरेको जिम्मेवारी तत्कालीन विद्रोही पक्ष माओवादीले लिएको थियो । तर, मृतकका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादका तर्फबाट भाइको हत्यामा संलग्न भएको भन्दै छिमेकी र आफन्तलगायतका विरुद्ध चितवन प्रहरीमा किटानी जाहेरी परेको थियो । उनीहरुको जाहेरी परे पनि प्रहरीले अनुसन्धान गरेको थिएन । मृतक कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामायाले अनशन सुरु गरेको लामो सयमपछि प्रहरीले ७० साल साउनको अन्तिमबाट अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आरोपितहरु समाउन थाले पनि अदालतमा मुद्दा दायर भने हुन सकेको थिएन ।


नन्दप्रसाद र गंगामायाको अनशन जारी नै रहेको समयमा २०७० साल चैत्र ३० गते चितवन जिल्ला अदालतमा १३ जनालाई अभियोग लगाएर मुद्दा दायर भएको थियो । थुनेछेक बहसमा अदालतले कारागार चलान गर्न नपर्ने भनेपछि त्यो बेला समातिएका अभियुक्त छविलाल पौडेललगायत रिहा भएका थिए । तत्कालीन पुनरावेदन हेटौंडाले जिल्ला अदालतकै आदेश सदर गरे पनि सर्वोच्चले छविलाललाई थुनामा राख्न आदेश गरेको थियो । तर, छविलाल फरार नै रहे ।


कृष्णका बाबुआमाको अनशन जारी नै रह्यो । अनशनका क्रममा २०७१ साल असोज ६ गते नन्दप्रसादको निधन भएको थियो । उनको हालसम्म पनि सतगत भएको छैन । आमा पनि बेला बेलामा अनशन बस्ने गर्छिन् । हालै फरार रहेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसर्पण गरेर कारागार गएपछि गंगामायाको अनशन स्थगित भएको थियो ।


सशस्त्र संघर्षका बेलामा भएको घटनामा अदालतमा मुद्दा दायर गरेको भनेर माओवादी पक्षले आपत्ति जनाउँदै आएको छ । प्रहरीले अनुसन्धान सुरु गर्दा र अदालतमा मुद्दा दर्ता हुँदा त्यो बेला माओवादी सडकमा समेत उत्रेको थियो । दर्ता भएपछि अहिलेसम्म यो मुद्दाको २१ वटा पेसी तोकिएको छ । २०७३ साल असोज ११ मा पनि पक्ष-विपक्षका कानुन व्यवसायीको बहस पूरा भएको थियो । तर, तत्कालीन जिल्ला न्यायाधीस टेकनारायण कुँवरले अन्तिम फैसला नसुनाएर मुद्दा गम्भीर प्रकृतिको भएको कारण देखाउँदै लिखित बहस पेस गर्न आदेश गरेका थिए । जसअनुसार त्यही वर्षको कात्तिक ५ गते लिखित बहस पनि अदालतमा पेस भएको थियो । त्यसपछि तय भएका पेसीमा बहस नै हुन सकेन । लिखित बहस पेस भएपछि गएको फागुनमा मात्रै यो मुद्दाको पेसी परेको दिन बहस भएको थियो ।


तर, त्यो दिनको बहस र आइतबारको बहसपछि उही प्रकृतिको आदेश आएको छ । सामान्यतया मुद्दा दायर भएको दुई वर्षभित्र फैसला आउँछ । यो मुद्दा दायर भएको सवा चार वर्ष हुँदा पनि प्रक्रियामा नै अल्झिरहेको छ ।


.............

सशस्त्र द्वन्द्वका बेला हत्या भएका गाेरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला अदालतमा दायर मुद्दाकाे पेसी अाइतबार तय भएकाे छ ।


जिल्ला न्यायाधीस कुलप्रसाद शर्माकाे इजलासमा मुद्दाकाे सुनुवाइ सुरू भएकाे अदालतका सूचना अधिकारी केशव पाैडेलले जानकारी दिए । गाेरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरअामा भेट्न अाएका कृष्ण अधिकारीकाे ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएकाे थियाे । जसकाे तत्कालीन विद्राेही माअाेवादीले जिम्मा लिएकाे थियाे ।

याे घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालकाे चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएकाे थियाे। मुद्दामा माअाेवादीका नेताहरूलाई नभएर अधिकांश छिमेकी र अाफन्तलाई अभियाेग लगाइएकाे छ । 'जनयुद्ध' काे घटनाका विषयमा मुद्दा चलाएकाे भनेर माअाेवादी पक्षले अान्दाेलनसमेत गरेकाे थियाे ।

मुद्दा दायर भएकाे दुई वर्षभित्र फैसला अाउने परिपाटी रहे पनि याे मुद्दा चार वर्षभन्दा बढी समयदेखि प्रक्रियामा नै अल्झेकाे छ । पेसी ताेकेका दिन अनेक कारणहरूले बहस राेकिँदै अाएकाे थियाे । अाजकाे पेसी २१ अाैं हाे ।

मुद्दाका पक्ष विपक्षका कानुन व्यवसायीहरूकाे बहस ७३ सालकाे असाेज ११ मै सकिएकाे थियाे । तर तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले फैसला नसुनाएर मुद्दा गम्भीर भन्दै लिखित बहस पेश गर्न भनेका थिए । साेही वर्षकाे कात्तिक ५ मा लिखित बहस अदालतमा पेश भयाे । तर त्यसपछि पटक पटक पेशी सर्दै अायाे । गएकाे फागुन १३ काे पेशीमा बल्ल बहस भएकाे थियाे । त्याे बेला जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले उजुरीकर्ता झिकाउन अादेश दिएका थिए ।

याे घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना लगत्तै चितवन प्रहरीमा उजुरी दिएका थिए । तर लामाे समय छानबिन सुरू भएन । बाबु नन्दप्रसाद र अामा गंगामायाले अनसन सुरू गरेपछि ७० सालकाे साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएकाे थियाे । अनसनका क्रममा नै बाबु नन्दप्रसादकाे निधन भएकाे छ । उनकाे दाह संस्कार पनि भएकाे छैन । दाजु नुरप्रसाद सम्पर्कमा छैनन् । अामा गंगामाया पनि अनशनमा नै थिइन् । केही दिनअघि मात्र उनले अनशन ताेडेकी छन् । बहस भएर अदालतले के निर्णय सुनाउँछ ? अाज धेरैले चासाे राखेका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?