२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

किशोरी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

दिनहुँ दवावमुलक प्रदर्शन, घट्ना लुकाने कोशिस भएको पीडितका बावुको आशंका
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।

किशोरी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ । 'हामीले जे आश‌का गरेका थियौं, त्यही पुष्टी भयो' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने । तर बलात्कार गर्ने समुहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।


‘अहिलेसम्म घट्नास्थल पहिचान गर्न सकेका छैनौं’ डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं ।’


उनले सामुहिक हो की होइन भनेर ‘भ्याजिनल स्वाव’ जाँच गर्न पठाएको बताए । तर, उक्त जाँचको प्रतिवेदन आउन महिनौं समेत लाग्न सक्ने उनको भनाई रहेको छ । उनले शव भेटिएका दिन घट्ना स्थलमा पानी धेरै भएका कारण अनुसन्धानमा समस्या भएको बताए ।


जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । यसका साथै प्रदेश ७ का ९ वटै जिल्लामा अनुसन्धानमा दखल राख्ने र अनुभवी सबै प्रहरीलाई बोलाएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।


यद्यपी घट्नाको नजिक समेत पुग्न नसकेको प्रहरीले जनाएको छ । ‘कुनै संकेतसम्म पत्ता लाग्न सकेको छैन’ डिएसपी सेठीले भने, ‘घट्ना भएको दुई/तीन दिन लगातारको आन्दोलनले पनि प्रभाव पार्‍यो ।’ उनका अनुसार तत्काल किशोरीका आफन्तसंग कुरा गर्न नसक्दा अनुसन्धानका लागि आवश्यक जानकारी लिन नसकिएको हो ।


प्रहरीले अनुसन्धानका क्रममा ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरिसकेको छ । अझै यो क्रम जारी रहेको जनाएको छ । किशोरीका बुवाले भने शंकास्पद व्यक्तिलाई सोधपुछ गरेर छाडेकोमा आपत्ती जनाएका छन् । ‘हामीले जसमाथि शंका गरेका थियौं, उनीहरुलाई सामान्य सोधपुछ गरेर छाडियो’ उनले भने, ‘हामीले केहि भन्दा अनुसन्धान गरिरहेका छौं भन्छन् ।’


अघिल्लो विहीवार बेपत्ता किशोरीको शव शुक्रवार विहान भीमदत्त नगरपालिका १८ निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।


दिनहुँ प्रदशर्न


शव भेटिएको ११ दिनसम्म पनि अपराधीलाई पक्राउ नगरेको भन्दै सुरु भएको आन्दोलन अझै रोकिएको छैन । उल्टाखाम क्षेत्रका स्थानीयले दिनहुँ प्रदर्शन गरिरहेका छन् । उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै दवावमुलक रुपमा बजार बन्द र यातायात बन्दसम्मका कार्यक्रमहरु गरिरहेका छन् ।


आईतबार पनि आन्दोलनरत महिलाहरुको एक समुह आएर बजार बन्द गराए । उनीहरुले खुला रहेका पसलहरु जबर्जस्ती बन्द गराउँदै हिडे । महेन्द्रनगरको मदन चोकमा पुगेर प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै हत्यारा पत्ता लगाउन भईरहेको ढिलाईप्रति आक्रोश पोखे ।


‘अनुसन्धान भईरहेको छ भन्दा भन्दै यतिका दिन वितिसके’ किशोरीका बुवाले भने, ‘कतै घट्ना लुकाउने खेल त भईरहेको छैन, घट्नामा ठुलै मान्छेको हात छ कि जस्तो पनि लागेको छ ।’ उनले स्थानीय प्रहरी प्रशासनलाई दवाव दिन लागि परेको बताए । सोमबार पनि महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २०, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?