दुर्घटना गर्दै, उन्मुक्ति पाउँदै

एउटै चालक ५० पटकभन्दा बढी कारबाहीमा 
दीपेन्द्र विष्ट

काठमाडौँ — सोविन्द तामाङले चलाएको माइक्रो बसले ठक्कर दिँदा ३ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रस्ट छ ।

दुर्घटना गर्दै, उन्मुक्ति पाउँदै

तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर, गाडी चलाउने सरकारी अनुमति पाइरहे ।


हिलटेक कम्पनीको नाममा रहेको को१क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । उनी कहिले लेन अनुशासन मिचेको त, कहिले फरक किसिमका हेलचेक्य्राइँ गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे ।


अर्जुन सेवाले चलाएको माइक्रो बसले किच्दा २ वर्षअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो । नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रोबस अचानक ब्रेक फेल भएर दुर्घटना भएको थियो । यसमा तीन किसिमका कमजोरी भएका थिए, पर्यटक बसमा विद्यार्थी बोक्नु, अति जीर्ण गाडी चलाउनु र पटके उल्लंघनकर्ता चालक हुनु ।


प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार अर्जुन सेवाले लाइसेन्स लिएको ९ वर्षमै साना–ठूला गरी २६ दुर्घटना गराएका थिए । २०६३ मा वाग्मती अञ्चल यातायात कार्यालयबाट लाइसेन्स लिएको केही महिनामै उनले ठक्कर दिए र जरिवाना तिरेर निस्के । ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइसेन्स लिएको ६ महिनाभित्र उनले तीनपटक जरिवाना तिरिसकेका थिए । २०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे । २०७२ मा मात्र ५ पटक जरिवानामा परे । उनले २०६५ मा तनहुँको घाँसीकुवामा गाडी दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको थियो । पुर्पक्षका लागि थुनामा रही छुटेको केही महिनामै उनले पुन: गल्ती गरे र जरिवाना तिरे ।


पाँच वर्षअघि बौद्धमा विष्णुबहादुर बलले चलाएको माइक्रो बसको ठक्करले मोटरसाइकल चालक भक्तबहादुर विकको घटनास्थलमै मृत्यु भयो । बल २० पटक कारबाहीमा परिसकेका व्यक्ति हुन् । बा१ज ९७६ नम्बरको ट्याक्सीका चालक अष्टनारायण महर्जन ३४ पटक र बा२ख ९५ नम्बरको गाडीका चालक प्रकाश आचार्य ४२ पटक कारबाहीमा परे ।


यसरी पटक–पटक दुर्घटना गरेर पनि चालकले तुरुन्तै उन्मुक्ति पाउने गरेका छन् । ‘जतिसुकै ठूलो दुर्घटना भए पनि चालक सजिलै उम्कने गरका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले भने, ‘तत्काललाई पक्राउ गरेर मुद्दा चलाए पनि अदालतबाट छिट्टै उन्मुक्ति पाउँछन्, केही समयपछि त्यही चालकले गाडी चलाउन थालेको भेटिन्छ ।’


प्रहरीले संकलन गरेको तथ्यांकका आधारमा आर्थिक वर्ष २०७४/७५ मा उपत्यकामा प्रत्येक दिन १७ सवारी दुर्घटना हुने गरेको पाइएको छ । चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रीको लापरबाही, तोडफोडबाट सवारी साधनको क्षति, सडकको अवस्था र मौसम तथा चौपायाका कारण प्रत्येक दिन उपत्यकामा सवारी दुर्घटना बढदै गएको प्रहरीले उल्लेख गरेको छ ।


सबभन्दा बढी दुर्घटनाचाहिँ चालकको लापरबाहीले हुने गरेको छ । एक प्रहरी अधिकारीले पछिल्लो पटक उपत्यकाको सडकको दुरवस्थाले गर्दा सवारी दुर्घटना बढेको दाबी गरे । ‘चालक ओभर कन्फिडेन्टमा गाडी हाँक्छन्, तर सडकको अवस्था नाजुक छ,’ ती अधिकारीले भने, ‘सडकको अवस्था नबुझेरै गाडी हाँक्दा पनि दुर्घटना बढेका छन् ।’ चालकको लापरबाहीले ६ हजार ३ सय ८१, तीव्र गतिले ७१, मादक पदार्थ सेवनले २ सय २१ र यान्त्रिक गडबडीले गर्दा ४४ दुर्घटना भएको प्रहरी तथ्यांकमा छ ।


कानुनमा लाइसेन्स खारेज गर्ने, पटक–पटक दुर्घटना गराउने, लापरबाही गरेर चलाउनेलाई कडा कारबाही गर्ने व्यवस्था नभएकै कारण चालकले अदालतबाट सजिलै उन्मुक्ति पाउने गरेको बुझाइ ट्राफिक प्रहरी अधिकारीहरूको छ । ‘दक्ष चालक पनि छैनन्, जभाभावी गाडी चलाउँछन्, दुर्घटना गर्छन्, प्रहरीले कारबाही गर्छ, अदालत पठाउँछ, कानुन कमजोर भएका कारण केही समयपछि नै अदालतले छाडिदिन्छ,’ उनले भने, ‘त्यसकारण त्यस्ता चालकको मनोबल बढेको पाइन्छ ।’ सडक विभागका प्रवक्ता तुलसीराम अर्यालले अस्वस्थ प्रतिस्पर्धाले गर्दा चालकले जथाभावी गाडी चलाउँदा दुर्घटनाको अनुपात बढेको बताए ।


लाइसेन्स तत्काल खारेज गरेर निश्चित अवधिपछि मात्र नयाँ लाइसेन्स लिन पाउने कानुन बनाउनुपर्ने उनले बताए । ‘कानुन कडा बनाउनुपर्छ,’ उनले भने, ‘नत्र लापरबाहीपूर्वक चलाउने चालकको मनोबल बढ्छ ।’

प्रकाशित : श्रावण २०, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?