चौरजहारी अस्पतालमा तनाव, तीन राउन्ड हवाई फायर

हरि गौतम

काठमाडौँ — चौरजहारी नगरपालिका–१, मा सञ्चालित चौरजहारी अस्पतालमा तोडफोड भएको छ । अस्पतालमा उपचारत एक महिलाको लापरबाहीको कारण मृत्यु भएको आरोप लगाउँद मृतकका आफन्तले आइतबार अस्पतालमा तोडफोड गरेका हुन् । 

चौरजहारी अस्पतालमा तनाव, तीन राउन्ड हवाई फायर

जाजरकोट भेरी नगरपालिका १३ कुदुकी २८ वर्षीया यशोधा मल्ल आरसीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित उनका आफन्तले अस्पतालको इमर्जेन्सी, ढोका तथा काउन्टरमा तोडफोड गरेका हुन् । अहिले पनि चौरजहारी अस्पतालमा मृतकका आफन्तले ढुङ्गामुढा गरिरहेका छन् । अस्पताल परिसरमा प्रहरी छ । प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गामुढा गरिरहेकाले प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गरेको छ । प्रहरीको उपस्थिति संख्या कम भएकाले अस्पतालमा थप क्षति हुने र भर्ना भएका अन्य बिरामी समस्यामा पर्ने सम्भावना बढेको अस्पतालले बताएको छ । अस्पतालमा स्वास्थ्यकर्मी नभएकाले अन्य बिरामीको हेरचाहमा समस्या देखिएको छ ।

गत शुक्रबार अस्पतालमा भर्ना भएकी यशोधा मृगौला र पत्थरीको बिरामी थिइन् । रोगले च्यापेपछि उनका आफन्तले जिल्ला बाहिर लिन चाहेका थिए । उनलाई जिल्ला बाहिर लिन मगाइएको हेलिकप्टर अवतरण भइसकेपछि मात्रै बिरामीको मृत्यु भइसकेको खबर आफन्तलाई दिइएको थियो । मृत्युको खबर पाउनासाथ आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

उनीहरुले गलत सुई (इजिेक्सन) लगाइएपछि बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालका डाक्टर कालेव बुढाले स्वास्थ्यकर्मीको लापरबाहीले बिरामीको मृत्यु नभएको दाबी गरे ।

प्रकाशित : श्रावण २०, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?