४५ लाख क्षतिपूर्ति तिरेर फर्के राई

होम कार्की

काठमाडौँ — साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।

साउदीमा जेलबाट छुटेर त्रिभुवन विमानस्थलमा आइपुगेका प्रेमबहादुर राई आफ्ना पत्नी सरिता र छोरीसँग ।



Yamaha

राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो। उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो।

नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए। त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो।

राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो। अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो।

‘मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एक/एक पैसा दिनुभएको छ। त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘ममाथि अन्याय भएको थियो। त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो।’
माई नगरपालिका–४, इलामका राई २०१६ मार्च ३१ देखि जेलमा थिए। उनी सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रस्क्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए। बिदाबाट फर्केको साढे दुई महिनापछि तामाको तार लोड भएको गाडी राजधानी रियादको जनद्रियाबाट हराएको थियो। ‘सामान पुर्‍याउने कम्पनी बन्द भइसकेको थियो। सडक छेउमा गाडी राखेर साथीको कोठामा खाना खाएर फर्किंदा गाडी देखिनँ। नदेख्नेबित्तिकै कम्पनीको म्यानेजर र प्रहरीलाई खबर गरेको थिएँ,’ प्रेमले अदालतसमक्ष बयानमा भनेका थिए, ‘म पूर्ण रूपमा निर्दोष छु।’

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमि टाढा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ। कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा रोडमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गरी अदालतमा क्षतिपूर्ति दाबी गरेको थियो।

सार्वजनिक अदालतका न्यायाधीश इब्राहिम विन सिड विन अली अल–अस्करको इजलासले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको हो। सार्वजनिक कानुनअनुसार घटना शंकास्पद रहेको भन्दै बिमा कम्पनीले सामानको क्षतिपूर्ति दिन इन्कार गरेको छ। कम्पनीले ८ लाख रियाल बराबरको बिमा गरेको थियो।

प्रेमलाई छुटाउन रकम संकलन गर्ने प्रेम बचाउ अभियान समितिकी सदस्य अनिता ताम्बुसाहले एउटा निर्दोष नेपालीलाई ल्याउन सफल भएको बताइन्। ‘अनाहकमा फस्न पुगेका प्रेमलाई परिवारसँग पुनर्मिलन गराउन सफल भएका छौं, यसले नेपाली दाजुभाइबीचको एकता देखियो,’ उनले भनिन्, ‘साउदीमा फसेका प्रेमहरूलाई उद्धार अझै गर्नुछ।’


प्रकाशित : श्रावण २०, २०७५ २१:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण

स्थानीय प्रशासनलाई समेत कुनै जानकारी छैन
भवानी भट्ट

कञ्चनपुर — माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो । 

टनकपुर बाँध छेउमा सडक निर्माणका लागि सर्भे गर्दै भारतीय प्राविधिकहरु । तस्बिर : भवानी भट्ट/कान्तिपुर

भारतीय पक्षले ब्रह्मदेव बजारसम्मै सडक निर्माणको काम थालेको छ। साउन दोस्रो सातादेखि उक्त क्षेत्रमा डोजर लगाएर सडक सम्याउने काम सुरु गरिएको हो। टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म १ हजार २५८ मिटर सडक निर्माणका लागि भारतको लोक निर्माण विभागले काम थालेको हो।

निर्माण कम्पनीका इन्जिनियर सिपि शर्माको टोलीले सडक सम्याउने र सर्भेको काम गरिरहेको छ। उनका अनुसार टनकपुर बाँधको माथिल्लो र फेदीको सडक दुवै कालोपत्रे हुनेछ। टोलीले करिब डेढ सय मिटर नेपाली भूभागसम्मै सडक निर्माणको काम गरिरहेको छ। ‘यो हाइ लेभलको सहमति हो’ शर्माले भने, ‘त्यही अनुसार हामीले काम गरिरहेका हौं।’

उक्त सडक निर्माणका लागि लोक निर्माण विभागले ५ करोड ८४ लाखमा ठेक्का दिएको भारतिय अखबार अमर उजालाले लेखेको छ। गत सातामात्रै भारत उत्तराखण्डको चम्पावत जिल्लाका डिएम सत्यनारायण पाण्डेयसहितको टोलीले निर्माणाधीन सडकको निरीक्षण गरेका थिए। ब्रह्मदेवका स्थानीयसमेत माथिल्लो सहमति भन्नेवित्तिक्कै अलमलमा परेका छन्। उनीहरु भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गस्ती गर्ने बाटो बनाउने काम भइरहेको हुन सक्ने आशंकामा छन्।

नेपाली भूभागमै निर्माण भइरहेको सडकका विषयमा भने यहाँको स्थानीय प्रशासन र सुरक्षा निकायलाई भने कुनै जानकारी नै छैन। कुन सहमतिअनुसार कसले निर्माण गरिरहेको हो भन्ने विषयमा समेत जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडाले बताए। उनले भारतीय पक्षले कुनै किसिमका समन्वय वा जानकारीबिना नै काम गरिरहेका बताए।

‘हामीले तत्काल उक्त क्षेत्रमा भइरहेको काम रोक्न भनेका छौं’ प्रजिअ खडाले भने, ‘कुन सहमति हो कसले काम गरिरहेको हो यस विषयमा जानकारी आएपछि मात्रै काम गर्न भनेका छौं।’ तर भारतीय पक्षले भने नियमित काम गरिरहेको स्थानीयले जनाएका छन्।

भीमदत्त नगरपालिका वडा नं. ९ का अध्यक्ष राम नाथका अनुसार भारतीय पक्षले पुरानो सहमति भन्दै धमाधम काम गरिरहेको छ। यस विषयमा नगर कार्यपालिकाको बैठकमा समेत आफूले कुरा राखेको उनले जानकारी दिए। ‘यो भारतको हेपाहा प्रवृत्ति हो’ उनले भने, ‘माथिल्लो तहमा सहमति भएको हो भने पनि स्थानीयस्तरमा समन्वय गरेर मात्रै काम सुरु गरिनुपर्थ्यो, तर कुन सहमति हो कहिले भएको हो त्यसको कुनै पनि जानकारी छैन।’

उक्त क्षेत्रमा भारतीय भूभागमा पर्ने टनकपुर लिंक रोड र महाकाली सिँचाई आयोजना तेस्रो चरणको नहर भारतीय पक्षले निर्माण गर्नुपर्ने महाकाली सन्धिमा उल्लेख छ। तर, अहिले निर्माण भइरहेको सडक भने लिंक रोडतर्फ नभई ब्रह्मदेव बजारतर्फ जोडिन्छ। उक्त क्षेत्रमा वर्षौं‌देखिको सीमा विवादसमेत यथावत छ। ३ नम्बर सीमा स्तम्भ महाकाली नदीको बीच भागमा रहेको नेपाली पक्षको दाबी छ। भारतीय पक्षले ब्रह्मदेव बजारको आधा भाग सीमामा पर्ने दाबी गर्दै आएको छ।

‘यो विषय अव संयुक्त सर्भे टोलीले टुंग्याउने छ’ सशस्त्र प्रहरी बल ३५ नं. गण मझगाउँका गणपति एसपी विनोदराज श्रेष्ठले भने, ‘अहिले वर्षातको सिजन भएकाले सीमा सर्भेको काम रोकिएको छ, असोज/कार्तिकदेखि फेरि सुरु हुनेछ।’ ब्रह्मदेवमा निर्माण भइरहेको सडकका विषयमा सशस्त्र प्रहरीसँग पनि कुनै समन्वय र जानकारी नभएको एसपी श्रेष्ठले बताए।

प्रकाशित : श्रावण २०, २०७५ २१:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT