१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

थर्किन छाड्यो नेपाली दूतावास

सुरेशराज न्यौपाने

नयाँदिल्ली — आठ महिनाअघिसम्म पनि नयाँदिल्लीको मन्डीहाउस चोक (बाह्रखम्बा रोड) स्थित नेपाली दूतावास परिसरको राजदूत तथा अन्य चार सहचारीको निवासमा एकाध मिनेट अन्तरमा ठूलै कम्पन हुने गर्थ्याे ।

थर्किन छाड्यो नेपाली दूतावास

करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको दूतावास परिसर मुनिबाटै रेल कुद्ने गरेका कारण चार सहचारी बस्दै आएको निवास थर्कने गरेको थियो । सोही कारण भवनका भित्ता चर्कने र छानोबाट प्लास्टर खस्ने गरेको थियो । चर्केका भित्ता जेनतेन टालटुल गरे पनि त्यहाँ बस्नेहरू सधैं त्रसित हुनुपर्ने अवस्था थियो ।

केही दिनयता दूतावास परिसर कम्पनबाट केही हदसम्म मुक्त भएको छ । दिल्ली मेट्रो कार्यालयले कम्पन हटाउन ‘सक एब्जर्बर’ उपकरण जडान गरेपछि दूतावास थर्किन छाडेको हो ।

दूतावासका प्रवक्ता हरि ओडारीले त्यसको पुष्टि गरे । ‘सक एब्जर्बर राखेदेखि पहिलेको तुलनामा अहिले कम्पन करिब छैनभन्दा हुन्छ,’ प्रवक्ता ओडारीले भने ।

दिल्ली मेट्रोले ६ वर्षअघि सञ्चालनमा ल्याएको नयाँ बैजनी मार्ग मेट्रो सेवा मन्डीहाउस चोक अर्थात् बाह्रखम्बा रोडमा रहेको दूतावासमुनि भएर कुद्ने गरेका कारण निवास थर्कने गरेको थियो । त्यस सम्बन्धमा दूतावासले भारतको परराष्ट्र मन्त्रालय र दिल्ली मेट्रो कार्यालयलाई बारम्बार जानकारी गराएको थियो ।

सुरुमा मेट्रो कार्यालयले दूतावासको गुनासोलाई खासै वास्ता गरेको थिएन । तर, करिब एक वर्षअघि दूतावासका अधिकारीहरूले दिल्ली मेट्रो प्रमुखलाई भेटेर त्यस सम्बन्धमा औपचारिक रूपमै गुनासो गरेपछि भने मेट्रो कार्यालयले कम्पन मापनयन्त्र जडान गरेको थियो । कम्पन मापन गरेको केही समयपछि ‘सक एब्जर्बर’ यन्त्र जडान गरेको जानकारी कार्यालयले दूतावासलाई गराएको प्रवक्ता ओडारीले बताए ।

नेपालस्थित परराष्ट्र मन्त्रालयले पनि सहसचिव धनञ्जय झाको संयोजकत्वमा एउटा कार्यदल गठन गरेर स्थलगत अध्ययन तथा आवश्यक सुझाव दिनका लागि टोली दिल्ली पठाएको थियो । तर, उक्त कार्यदलले प्रस्ट सुझाव नदिएका कारण प्रतिवेदन त्यत्तिकै थन्कियो । सन् १९६१ को भियना अभिसन्धिले कूटनीतिक अग्राधिकार रहेको क्षेत्रमा कुनै संरचना वा काम गर्नुपरेको खण्डमा सम्बन्धित मुलुक अर्थात् कूटनीतिक नियोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरेको छ । तर, दूतावासको मुनिबाटै मेट्रो लाइन निर्माण गर्दा भने न त पूर्वजानकारी दिइएको थियो, न त कुनै पूर्वस्वीकृति नै लिइएको थियो ।

मेट्रोको कम्पनबाट मुक्ति पाएसँगै दूतावासमा विभिन्न भौतिक संरचना निर्माणका कामलाई पनि तीव्रता दिइएको छ । परिसरभित्रै प्रिफ्याबका चारवटा आवासीय भवन बनाइएको छ भने राजदूत निवासलाई मर्मतसम्भार गरिएको छ । सेवाग्राहीका लागि भनेर घामपानी छेक्ने गरी प्रतीक्षालयसमेत निर्माण गरिएको छ । साथै एक वर्षमा सम्पन्न गर्ने गरी बाहिरबाट हेर्दा नै नेपालको कलाकृति झल्किने किसिमको स्वचालित गेटसमेत भएको पर्खाल पनि निर्माण गरिने प्रवक्ता ओडारीले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?