कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गोरुको बिमा घरबाटै

दिप्ती सिलवाल

पर्वत — व्यावसायिक बंगुरपालन गर्दै आएकी कुश्मा–१ पाङकी हेमकला पुनलाई पशु उपचारमा प्राविधिकका कारण सजिलो भएको छ । खुर्कोटका भैंसीपालक हेमनाथ चापागाईंलाई अघिल्लो वर्ष घरमै पशु प्राविधिक पुगेर अनुदानको फर्म भरिदिए ।

गोरुको बिमा घरबाटै

फलेवास–३ की तुलसी सापकोटाको घरमै पुगेर प्राविधिकले मूल्यांकन गरेपछि भैंसी र गोरुको बिमा घरबाटै गरिन् ।

स्थानीय तह कार्यान्वयनयता कृषि र पशुमा एक गाउँ–एक प्राविधिक खटिएपछि धेरै किसानले लाभ लिएका छन् । बेमौसमी तरकारी तथा पशुपन्छी पालनमा धेरै सजिलो भएको किसानले बताएका छन् । ‘पहिला बंगुर बिरामी हुँदा कुश्मा जानुपथ्र्यो,’ हेमकलाले भनिन्, ‘अहिले सजिलो छ । प्राविधिकहरू दिनैपिच्छे घरकै बाटो हिँड्नुहुन्छ । सामान्य समस्या हुँदा पनि घरबाटै समाधान भएको छ । औषधि उपचार गर्न बाहिर कतै जानुपरेको छैन ।’ औषधोपचारदेखि अनुदान सहयोगसमेत घरमै पाउँदा खुसी लागेको उनले बताइन् ।

व्यावसायिक रूपमै कृषिमा लागेका पशुपालक मात्रै नभएर तरकारी तथा नगदे बाली लगाएका किसानलाई पनि हाल घरघरमै प्राविधिक पुगेर सहयोग गर्न थालेका छन् । ‘पहिला सदरमुकाममै जाँदा पनि प्राविधिक भेटिन्थेन,’ जलजला–८ का रामप्रसाद सुवेदीले भने, ‘अहिले घरघरै प्राविधिक आएर सोध्छन् । तरकारीमा समस्या देखिए घरमै विषादी ल्याइदिन्छन् । खेतीपातीमा धेरै सजिलो भएको छ ।’ पैयुँ गाउँपालिकामा कार्यरत कृषि प्राविधिक सन्दीप तिवारी दैनिक १० देखि १५ जना किसानका घरघरै पुग्छन् । गतवर्ष गाउँपालिकाले करारमा नियुक्ति गरेका उनको दैनिकी हरेक दिन गाउँमा पुगेर किसानका समस्या बटुल्ने हुन्छ । ‘हरेक किसानका सानातिना समस्या बटुल्छौं,’ पैयुँका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘महिनाभरका समस्या कार्यपालिकाको बैठकमा राखेर सम्बोधन गर्ने गरिएको छ ।’ किसानलाई आर्थिक, प्राविधिक तथा अन्य परामर्शका सल्लाह घरघरै पुगेर दिने गरिएको उनले बताए ।

आर्थिक अभावले व्यवसाय विस्तारमा समस्या भएको देखिए किसानले मागेको उपकरण या वस्तु गाउँपालिकाले खरिद गरिदिने प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल भुसालले बताए ।
पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ६१ वटै वडामा पशु तथा कृषि प्राविधिक खटिएका छन् । त्योबाहेक हरेक गाउँपालिकामा अधिकृतस्तरका पशु चिकित्सकको व्यवस्था छ । कुश्मा नगरपालिकामा उपसचिव तहको वरिष्ठ पशु चिकित्सकको व्यवस्था छ ।

कतिपय गाउँपालिकाले किसानको सुविधाका लागि मासिक पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । ‘अघिल्लो आर्थिक वर्षमा चार पटक पशु शिविर चलाइयो,’ जलजलाका पशु चिकित्सक विमल शर्मा पौडेलले भने, ‘बिरामी पशु लिएर उपचारमा आउन किसानलाई समस्या हुन्छ । शिविर चलाउँदा घरघरै उपचार पाएका छन् ।’ किसानलाई पशुको उपचारका साथै परामर्शसमेत दिइएको उनले बताए ।

घरघरै शिविर चलाउँदा पशुलाई दिनुपर्ने नियमित खोप, भिटामिन, माटे र जुकाको औषधि खुवाउने तालिका लगायतको सिकायत प्राविधिकले दिँदैआएका छन् । टोलटोलमा प्राविधिक भएपछि पशुपन्छीको उपचार पनि समयमा हुने गरेको स्थानीय किसानले बताए ।

प्रकाशित : श्रावण २१, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?