बुढीगण्डकीमा डुबानमै नपर्ने जग्गाको ३ कराेड मुआब्जा वितरण

प्रहरी परिचालन र पत्राचार गरेर रकम असुल्दै मुआब्जा वितरण समिति
हरिराम उप्रेती

गोरखा — बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमै नपर्ने ३५ रोपनी जग्गाको मुआब्जा रकम वितरण गरेको  खुलेको छ । मुअाब्जा वितरण समितिले २१ जनाको खातामा झण्डै तीन करोड निकासा दिएकाे खुलेकाे हो । 

बुढीगण्डकीमा डुबानमै नपर्ने जग्गाको ३ कराेड मुआब्जा वितरण

घ्याल्चोक, भुम्लीचोक, दर्वुङमा मुआब्जा वितरणमा त्रुटि नभेटिए पनि बुङ्गकोट नाम्जुङ र फुजेलमा मुआब्जा वितरणमा निकै लापरवाही भएको पाइएको हो । आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास, तथा पुस्थापना इकाइ, प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला मुआब्जा वितरण समिति र नापी कार्यालको लापरवाहीकै कारण रकम वितरण भएको छ ।

अहिले मुआब्जा वितरण समितिले डुबानमा नपर्ने जग्गाधनीलाई निकासा भएको रकम फिर्ताका लागि अनेक प्रयास गरिरहेका छन् । केहीलाई प्रहरी परिचालन गरेर रकम फिर्ता गर्न भनेको छ भने केहीलाई पत्राचार गरेको छ । ‘हामीलाई हाम्रो जग्गाको पैंसा आउँछ भनेर थाहा पनि थिएन,’ सहिद लखन गाउँपालिका–८ वुङ्गकोटकी एक पीडितले भनिन्, ‘वडा अध्यक्षले बोलाएर तिमीहरुको नाम निक्लिएको छ आउ भन्नुभयो, सिउरेनटारको कार्यालयमा गएर फाराम बुझायौ अनि प्रभु बैंकबाट रकम झिक्यौ ।’

डुबानमा नपर्ने जग्गाको मुआब्जा गएको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले प्रहरी परिचालन गरेर साउन ९ गते एक जनालाई पक्राउ गरेर भाेलिपल्ट छाडेका थिए । आफुहरुको नाम निक्लिएर पैसा झिकेपछि अहिले मुआब्जा वितरण समितिले दुख दिएको उनीहरुको गुनासो छ ।

आइतबारसम्म पाँच जनाले रकम फिर्ता गरिसकेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले बताए । ‘१०–११ जनाको प्रक्रियामा छ, केहीले फिर्ता गरे,’ उनले भने । गोरखापत्रमा सूचना प्रकाशित गर्दा देखि नै त्रुटि भएको पाइएको भट्टराइले बताए ।

नापीनक्साकै कारण नपाउनेको खातामा पनि मुआब्जा रकम निकासा भएको पाइएको आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास, तथा पुस्थापना इकाइका प्रमुख कृष्ण कार्कीले बताए । ‘उनीहरुको पनि गल्ती छैन, निवदेन हामीले नै मागेका हौं, नाम निक्लिएको पनि छ,’ उनले भने ।

नापी नक्सामा उक्त जग्गा बुढीगण्डकी डुबानमै परेको देखिएको उनले बताए । ‘नापीनक्साले डुबान क्षेत्रमा देखाउने तर ब्यवहारिक हिसाबले हेर्दा त्यो डुब्ने भन्दा बाहिर छ,’ उनले भने । आगामी सोमबार सम्म २१ जनाकै पैसा फिर्ता हुने उनको भनाइ छ । मुआब्जा वितरण समितिले शुक्रबारसम्म पैसा फिर्ता गर्न उनीहरुलाई अल्टिमेटम दिएको छ ।

१२ सय मेगावाटको उक्त आयोजनाको जलाशय क्षेत्रफल ६३ वर्ग किलोमिटर छ । आयोजनाका कारण धादिङ र गोरखातर्फका ३ हजार पाँच सय ६० परिवार पूर्णरुपमा विस्थापित हुनेछन् भने ८ हजार एक सय ५३ परिवार प्रभावित हुनेछन् । आयोजनाका कारण धादिङको साविकका १३ र गोरखाको १४ गाविसका स्थानीय प्रत्यक्ष प्रभावित हुनेछन् । आयोजनाका कारण डुबानमा पर्ने धादिङ र गोरखातर्फका पीडितलाई हालसम्म १५ अर्ब रुपैंया मुआब्जा वितरण भइसकेको छ । जग्गासहित घर गोठ फलफूलको मुआब्जा वितरण तथा पुनर्स्थापनकाका लागि ६० अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण २१, २०७५ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?