२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाटोमा खोला बगेपछि ...

फातिमा बानु

काठमाडौँ — एक वर्षदेखि ‘ब्रेन टियुमर’ समस्या भोगिरहेका दश वर्षीय बालक रिचन ठकुरी सोमबार नियमित उपचारका लागि अस्पताल जान पाएनन् । आइतबार रातभर परेको भारी वर्षाका कारण ललितपुरस्थित लुभुको गोदावरी खोला बढ्यो, बाटो नाघ्नेगरी उर्लेको खोलाका कारण सवारीसाधन ठप्प भयो । यति मात्रै होइन खोलाको पानी उनको घरभित्रै पसेको छ ।

बाटोमा खोला बगेपछि ...

उनकी आमा रेणु ठकुरीले भनिन्, ‘राति हामी सुतिरहेकै बेला घरभित्र पानी पसेछ, हामी बिउँझिदा खाट आधा डुबिसेको रहेछ ।’ एकातिर बिरामी छोराको उपचार रोकियो छ, अर्कातिर खानेबस्ने सामान सबै भिजेपछि कहाँ बस्ने के खाने समस्याले उनी चिन्तित छिन् ।


खोलानजिकै घर भएका स्थानीय बासिन्दा श्यामकृष्ण थापा पानी दर्केको रात सुत्न सक्दैनन् । घरभित्र पानी पस्ने डरका कारण आफू र परिवार सुत्नै नसक्ने उनले बताए । उनले भने, ‘आज बिहान आँखै अगाडि एउटा कार डुब्यो, समयमा प्रहरी नआएको भए उनीहरूको ज्यानै जान्थ्यो ।’


महालक्ष्मी नगरपालिकाको यो गोदावरी खोलामा अहिले पुल छैन । बाटो विस्तारका क्रममा तीन महिनाअघि भत्काइको पुल अहिलेसम्म निर्माण हुन सकेको छैन । पुल नबन्दासम्म पानीको निकासका लागि बनाएको डाइभर्सन पाइप साँघुरो हुँदा पानी बाटोभरि बग्छ । जसल गर्दा खोलावरवरका बासिन्दा विभिन्न समस्या पर्छन् । ठूलो पानी पर्दा पानीमाथि बनाइएको कृत्रिम बाटो खोलोमा परिणत हुन्छ । सवारीसाधन त ठप्प हुन्छ नै स्थानीय बासिन्दा वारपार समेत गर्न सक्दैनन् । वरपरका शैक्षिक संस्था पनि बन्द हुन्छ ।


त्यसदिन उनीहरूको दैनिकी नै ठप्प भएजस्तो छ । पढ्नेहरू विद्यालय/कलेज जान पाउँदैनन् । जस्तो सुकै इमर्जेन्सी भएपनि स्वास्थय उपचारका लागि अस्पताल जान पाउँदैनन् । काम गर्नेहरू कार्यालय निस्कन पाउँदैनन् । वैकल्पिक बाटोपनि साँघुरो भएका कारण ठूला सावारीसाधन गुड्न सक्दैनन् । गुडेका पनि दुर्घटनामा पर्ने गरेका छन् । कसैको घरभित्र पानी कसैको माछापालन व्यवसाय धरापमा परेको छ, खेतीपाती पनि डुवानमा परेको छ ।


स्थानीय प्रहरी सहायक निरीक्षक मिरा बोटगी भन्छिन्, ‘मानवीय क्षति भएको छैन, तर वर्षा सुरु भएदेखि नै स्थानीय त्रासमा बाँचिरहेका छन् ।’ पुल नबन्दा ललितपुरको लामाटार, ढुंगिन, सिस्नेरी, विष्णुडोलसम्ममा बासिन्दा मर्कामा परेका छन् ।


लुभु वडा अध्यक्ष डा. विश्वराज श्रेष्ठ भन्छन्, ‘केन्द्रको बजेटमा पुल बन्न लागेको हो, स्थानीयको पहलले केही हुन सकेको छैन ।’ सोमबार नै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर पुल बनाउने काम छरितो बनाइने उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?