बलात्कार आरोपीद्धारा आत्महत्याको प्रयास

हरि गौतम

रुकुम पश्चिम — बलात्कारको अभियोगमा पक्राउ परेका एक किशोरले आत्महत्याको प्रयास गरेका छन् ।

बलात्कार आरोपीद्धारा आत्महत्याको प्रयास

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दीपक बुढाथोकीले हिरासत भित्रको शौचालयमा आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।


आठबीसकोट नगरपालिका–९ घर भएका बुढाथोकी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए । श्रावण १७ गते राती आफूलाई बलात्कार गरेको भन्दै एक २० वर्षीया युवतीले उजुरी दिएकी थिइन् ।


उजुरीको आधारमा १८ गते पक्राउ परेका बुढाथोकीले २० गते बेलुकी आफैले लगाएको कमिजले धारामा झुण्डिएर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।


अदालतबाट एक हप्ताको म्याद थप गरी ल्याएको केही बेरमा शौचालय पसेका बुढाथोकी ननिस्किएपछि सुरक्षागार्डले आत्महत्याको प्रयास गरिरहेका बेला उद्दार गरेको डीएसपी खड्काले बताए ।

‘शौचालयभित्रको सानो धारामो तन्किएर आत्महत्याको प्रयास गरेको रैछ, प्रहरीले थाहा पाएपछि प्रहरी र अन्य थुनुवाको सहयोगमा उसको उद्दार भयो,’ डीएसपी खड्काले भने ।

बुढाथोकीको हाल नेपालगन्जस्थित कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । बुढाथोकीलाई तत्कालै जिल्ला अस्पताल सल्लेमा लिएर उपचार गरिएको थियो । थप उपचारको लागि जिल्ला बाहिर लैजानुपर्ने भनिएपछि नेपालगन्ज लगिएको प्रहरीले बताएको छ ।


बुढाथोकीका आफन्तले भने प्रहरीको यातना दिएको दाबी गरेका छन् । डीएसपी खड्काले बुढाथोकीलाई हिरासतमा कुनै यातना नदिएको दाबी गरे ।

‘ऊसँगै पक्राउ परेको अर्को पनि छ, प्रहरीले यातना दिएको भए दुवैलाई दिन्थ्यो होला,’ डीएसपी खड्काले भने, ‘पक्राउ परिसकेको मान्छेलाई यातना दिनुहुँदैन भन्ने कुरा प्रहरीले राम्ररी बुझेको छ ।’


ती महिलालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका १७ वर्षीय भीमबहादुर बटाला पनि पक्राउ परेका छन् ।

गत १७ गते राती साढे दश बजेको समयमा उनीहरुले आफूलाई जबरजस्ती गरेको ती युवतीले इलाका प्रहरी कार्यालय आठबीसकोट र जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएकी थिइन् ।

प्रकाशित : श्रावण २१, २०७५ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?