२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चुडियो एउटा कोपिला

स्वरूप आचार्य

काठमाडौँ — पूरानो सिनामंगल-३२, खहरेस्थित हाईल्याण्ड ईंग्लिस स्कुल सोमबार अन्य दिनभन्दा एक घण्टाअगाडि छुट्टी भइसकेको थियो ।

चुडियो एउटा कोपिला

केही विद्यार्थी छिटो स्कुल छुट्टी भएकोमा खुशी हुँदै घर लम्किरहेका थिए । केही भने रुन्चे र आतंकित अनुहार बनाएर घर जाने कि स्कुलमै बस्ने दोधारमा देखिन्थे । सहपाठी निशान खडकालाई के भएको हो भन्ने जिज्ञासा उनीहरुको अनुहारमा झल्किन्थ्यो ।


अरु दिन ४ बजे छुट्टी हुने स्कुल सोमबार ३ बजे नै बिदा गरिएकाले उनीहरुको मनमा अनेक शंका–उपशंका थियो । स्कुल ग्राउण्डमा पनि शिक्षक तथा शिक्षिकाहरु निन्याउरो अनुहार बनाएर सत्यतथ्य थाहा पाउन प्रतिक्षारत देखिन्थे । उनीहरु आफ्नो मोबाइलको स्क्रिनमा फ्ल्यास भइरहेको ब्रेकिङ न्यूज सही हो वा होइन खुट्याउन व्यस्त थिए । एक छेउमा स्कुलका प्रिन्सिपल प्रल्हाद खनाल आफ्ना एक शिक्षकसँग घटनाबारे छलफल गर्दै थिए ।


मुसलधारे साउने झरी रोकिएर आकाश केही खुले पनि पानी छिट्याउन बन्द भएको थिएन । सिमसिमे पानीमा रुझै मैदानमा कल्याङमल्याङ गरिरहेका विद्यार्थी र शिक्षकहरुको अनुहारमा शंका र उपशंका सहितको प्रश्न देखिन्थ्यो ।


‘हाम्रै स्कुलमा पढ्ने एकजना नानीले भनेपछि हामीले निशान अपहरणमा परेको थाहा पायौं । । त्यसपछि मैले घटनाबारे बुझ्न धेरै प्रयास गरें,’ स्कुलका प्रिन्सिपल खनालले भने, ‘निशानको घरको फोन नम्बर पनि उठेन । पछि नानीको बुवालाई फोन गरेपछि थाहा भयो । निर्दयीहरुले उसलाई मारेछन् ।’


प्रिन्सिपल खनाल हतास देखिन्थे । उनलाई अन्तिमपटक आफ्नो विद्यार्थीको अनुहार हेर्ने इच्छा रहेछ । त्यसैले उनी हतारिँदै घटनास्थल पनि पुगेका रहेछन् । उनी पुग्दा निशानको शव प्रहरीले घटनास्थलबाट उठाएर प्रहरी कार्यालय अगाडि रहेको शव बाहनमा राखिसकेको थियो । उनले शवबाहनको झ्यालबाट नियाले । निलो त्रिपालमा बेरिएको शव त देखे, अनुहार देख्न सकेनन् । उनले गाडीको ढोकै खोलेर निशानलाई हेर्न खोजे तर प्रहरीले दिएन ।


प्रहरी कार्यालयमा उनले निशानको अपहरण र हत्यामा संग्लन दुई जना प्रहरी इन्काउन्टरमा मारेको खबर पाए । त्यहाँबाट उनी सोझै स्कुल फर्किए र अन्य शिक्षक शिक्षिकालाई आफूले थाहा पाएका घटना विवरण सुनाए । कक्षा ६ मा अध्ययनरत निशान ३ कक्षादेख त्यहाँ पढन थालेका थिए । उनले निशान पढाईमा सामान्य भएपनि अन्य अतिरिक्त क्रियाकलापमा तगडा भएको कुरा सुनाए ।


कक्षा शिक्षक जानकी जोशीका अनुसार कक्षामा सबैसँग मिलनसार निशान विरलै मात्र कक्षा छुटाउँथे । ‘एकदमै राम्रो बच्चा थियो । हेर्दा पनि राम्रो थियो र बोली व्यवहार पनि राम्रो थियो,’ उनले भनिन्, ‘मैले प्रिन्सिपल सरले भनेपछि मात्रै थाहा पाएँ ।’ यति भनेपछि उनले केही भन्नै सकिनन् ।


‘निशान स्काउटमा खुब राम्रो थियो,’ प्रिन्सिपल खनालले निशानको बारेमा थप जानकारी दिँदै भने, ‘हामीले केही साता अघि स्काउटमा सहभागी विद्यार्थीलाई तालिमका लागि २ रात सुन्दरीजल लिएर गएका थियौं । त्यहाँ निशान पनि थियो ।’


प्रिन्सिपल खनालका अनुसार निशान स्काउटमा मात्र नभई फुटबल पनि राम्रो खेल्थे । स्कुलको जुनियर टिमका सदस्य पनि थिए । ‘सुरुमा स्कुल भर्ना गर्दा निशानको आमाले आर्थिक समस्या छ । केही दिन स्कुलको फी तिर्न तलमाथि हुन सक्छ भन्नुभएको थियो,’ उनले भने, ‘सामान्य चियापसल गरेर गुजारा चलाइरहेको परिवारको छोरालाई अपहरण गरेर त्यत्रो रकम मागेको सुन्दा पत्यार नै लाग्दैन ।’


विद्यालय प्रांगणमा भेटिएका एक विधार्थी आफ्ना सहपाठीलाई सुनाइरहेका थिए,। ‘बन्दर हिजो ट्युसन सकेर, पानी पुरी खाएर गएको थियो । अब कहिल्यै आउँदैन रे ।’ निशानलाई साथीहरुले बलाउने नाम रहेछ ‘बन्दर’ । ‘फुटबल खेल्न नपाए बन्दर साह्रै रिसाउँथ्यो,’ ती बालकले रुन्चे स्वरमा पुरानो घटना सम्झिदै भने, ‘हामीले जिस्काएर टिम पुगिसक्यो भन्यौं भने रिसाउँदै कहिल्यै बोल्दिन भनेर घर जान्थ्यो ।’


निशानको साथीले भने झैं उनको फुटबल मोह उनको कापीमा स्पष्ट देखिन्थ्यो । उनको डेरामा रहेको कपीमा भर्खरै सकिएको विश्वकपको चित्र थियो र हत्या हुँदाको बखत उनको जिउँमा अर्जेन्टिनाको जर्सी । निसानको डेरामा पुग्दा उनको मावली पट्टीका हजुरबुवा मिनप्रसाद सापकोटा भक्कानिएर बसीरहेका थिए । उमेरले ६० कटिसकेका उनी नातीको मृत्युले विक्षिप्त थिए । नातीको ब्याग खोतलेर कपीमा लेखिएका अक्षर हेर्दै आँशु खसालिरहेका थिए ।


‘मेरो छोरीको एक्लो छोरो । असत्ती मुर्दारहरुले मारे,’ उनी भक्कानिए, ‘नाती त मरिहाल्यो । अब आमा नि मर्ली भन्ने पीर भो । प्रेसर छ । बुढा देश बाहिर छ । दुई छोरी अर्काको घरमा काम गर्दै पढदैछन् । किन यस्तो गरेका रैछन् ?’ उनले एकै सासमा आफ्नो अवस्था सुनाइभ्याए र लामो खुईयया काडे ।


घटनास्थलमा शवको सनाखत गराएपछि प्रहरीले निशानको आमालाई डेरामा छोड्न ल्यायो । मिनले छोरीलाई आफ्नै घर लैजान अनुरोध गरे । ‘यहाँ एक्लै बसी भने त मरिहाल्छे नी,’ घरबाहिरको पेटीमा उनी भक्कानिन थाले । वरपरका केही छिमेकी उनलाई सम्झाउन आए । ‘मेरो घर अलि माथि छ । त्यहाँ छोरा(नाती, बुहारीहरु छन् । त्यहाँ भए हेर्ने मान्छे हुन्छ । त्यसैले उता पठाइदिएको,’ उनले भने ।


नातीको हत्याले विक्षिप्त बनेका मिनप्रसाद अघिल्लो दिनका कुरा सकी नसकी सुनाईरहेका थिए । ‘हिजो साँझसम्म यतै थियो केटो । राती नौ बजे फोन गरेर पैसा मागेपछि मात्रै थाहा पायौं, अपहरणमा परेको भन्ने,’ उनले थकथकीको स्वरमा सुनाए, ‘केटो खेल्न यताउति गइरहन्थ्यो । त्यसैले यतै होला भन्ने ठानेका रहेछन् । फोन आएपछि पो ओठतालु सुक्यो ।’

उनले भक्कानो छुटाउँदै भने, ‘अपहरणकारीलाई अपांग बनाएर छाडिदिनुपर्ने, तिनलाई नि पुलिसले मार्‍यो भन्ने सुन्छु ।’

प्रकाशित : श्रावण २१, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?