कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जथाभावी संरचनाले खलंगा असुरक्षित

भीमबहादुर सिंह

जाजरकोट — भौगर्भिक अध्ययन, माटो परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनबिनै भौतिक संरचना बनाइएकाले सदरमुकाम खलंगाको चारैतिर पहिरो खस्न थालेको छ । भिरालो भूबनोट, कमजोर जमिन र अन्धाधुन्ध संरचना निर्माण भएकाले खलंगा बजार पहिरोको उच्च जोखिम परेको भेरी नगरपालिकाका इन्जिनियर नवराज शर्माले बताए ।

जथाभावी संरचनाले खलंगा असुरक्षित

‘वन विनाश र अन्धाधुन्ध संरचना निर्माण हुँदा भूक्षय बढेको छ,’ उनले भने, ‘कमजोर भूबनोट भएको ठाउँमा जमिनले भार धान्न नसक्ने गरी संरचना बन्नु पहिलो कारण हो ।’ उनका अनुसार सडकमै नाली नबनाउनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फाल्नु, भवन संहिताअनुरूप घर निर्माण नगर्नु, सडक तल जथाभावी चर्पीको सेफ्टी ट्यांकी बनाउनु, भत्किएको सडकको समयमै मर्मतसम्भार नगर्नुलगायत कारणले खलंगा बर्सेनि पहिरोको मारमा परेको हो । जथाभावी वन विनाश र बजारमा ढल निकासको व्यवस्था तत्काल नगरिए बजार नै असुरक्षित हुने शर्माको भनाइ छ ।

खलंगामा आइतबार बिहान मात्रै पहिरोमा दुई घर पुरिँदा ८ बालबालिकासहित ९ जनाको ज्यान गएको थियो । ठाउँ–ठाउँमा खसेको पहिरोले तीन सातादेखि खलंगा बजारसँग यातायात सम्पर्क टुटेको छ । पहिरोले छिन्चु–जाजरकोट, खलंगा–रिम्ना र खलंगा–पाँचकटिया सडक अवरुद्ध छन् । कतिपय ठाउँमा हिँड्नसमेत समस्या भएको स्थानीयले बताएका छन् । ‘खहरेखोला र रेडक्रस भवननजिकको सडकमा हिँड्ने बाटोसमेत छैन,’ स्थानीय शारदा सिंहले भनिन्, ‘पैदलयात्री पहिरो खसेको ठाउँमा झुन्डिएर आवतजावत गर्न बाध्य छन् ।’ तीन साताअघिको भारी वर्षाले खहरे खोला, भेलाले, न्युरोड, रेडक्रस भवन, सिटिजन्स बैंक क्षेत्र, रिसाङ, स्यालालगायत स्थानको सडक भत्काएको छ ।

खलंगा बजार तल रहेको जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका–३ र ४ का न्युरोड, शान्तिचौतारा, भेलाले, ठाँटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका ६ दर्जन घर पहिरोको उच्च जोखिममा छन् ।मापदण्डअनुसार सडक निर्माण र उचित ढल निकास नहुँदा बजारभित्र ठूलो पहिरो जानुका साथै दर्जन स्थानमा सडक भासिएको भेरी नगरपालिका–३ का वडाध्यक्ष लीलाबहादुर शाहले बताए ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?