२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

युवालाई गाउँमै रोजगारी

मेनुका ढुंगाना

अछाम — घरको आर्थिक अवस्था कमजोर भएपछि मंगलसैन–४ का रोहित विक पढाइ अधुरै छाडेर भारतको मुम्बई गए । त्यहाँ मजदुरी गर्दै आएका उनी ४ वर्षपछि फर्केका छन् । नगरपालिकाले युवालाई गाउँमै रोजरागारी दिन लागेको खबर सुनेर उनी घर आएका हुन् ।

युवालाई गाउँमै रोजगारी

‘नगरपालिकाले रोजगारी दिने कुरा थाहा पाएपछि घर फर्केको छु,’ रोहितले भने, ‘पढाइ अधुरै छाडेर कामको खोजीमा भारत गएको थिएँ ।’ रोहित मात्रै होइनन्, उनीजस्तै कामको खोजीमा भारत पसेका युवा धमाधम घर फर्कंदै छन् ।

मंगलसैन नगरपालिकाले विकास निर्माण कार्यदल गठन गरेर ७ सय युवायुवतीलाई गाउँमै रोजगारी दिने योजना अघि बढाएको छ । कामको खोजीमा अछामका अधिकांश युवा भारत जाने गरेका छन् ।

स्थानीय तहमै काम दिएर उनीहरूलाई बिदेसिनबाट रोक्न कार्यदल गठनको योजना ल्याएको नगरपालिकाले जनाएको छ । इच्छुक युवा छनोट गर्न कार्यालयले आवेदनसमेत लिन थालेको छ । विकास कार्यदलमा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका महिला–पुरुष छनोट गर्ने नगरपालिकाको योजना छ । ‘दैनिक अनिवार्य ८ घण्टा काम लगाएर मासिक १२ हजार पारिश्रमिक दिने योजना छ,’ नगरप्रमुख पदमबहादुर बोहराले भने, ‘काम गर्न विभिन्न समूह गठन गर्छौं । कार्यदलमार्फत एउटा वडामा आवश्यकताका आधारमा २५ देखि ५० जनाको समूह बनाइने र उनीहरूलाई सुरुमा ६ महिनाका लागि करार नियुक्ति दिइने बोहराले बताए ।

‘निगरानीका लागि प्रत्येक समूहमा एकजना सुपरभाइजर तोक्ने तयारी छ,’ उनले भने । विकास निर्माण कार्यदल गठन गरेर नगरपालिकाका १४ वटै वडामा परिचालन गर्ने योजना बनाइएको मंगलसैन–६ का वडाध्यक्ष जनकराज भण्डारीले जानकारी दिए । कार्यदलका सदस्यहरूले भवन, बाटो, कुलो, पानीको मुहान मर्मत, सरसफाइ र अवरुद्ध सडक मर्मतलगायत पूर्वाधार निर्माणमा काम गर्नेछन् । उनीहरूलाई गाउँमा परिचालन गरेपछि उपभोक्ता समिति, ठेक्कामार्फत गरिने काम र डोजरको प्रयोग पूर्ण रूपमा बन्द गरिने नगरप्रमुख बोहराले बताए । एउटा वडामा ५० जनाको समूह निर्माणका लागि सूचना प्रकाशन गरेलगत्तै आवेदन दिएका महिला र पुरुष रोजगारी पाउने आसमा अन्तिम नतिजा कुर्न थालेका छन् । कार्यदलमा आवेदन दिनेमा महिला पनि उल्लेख्य छन् ।

नगरप्रमुख बोहराले विकासका नाममा ठूलो बेथिति रहेको बताए । ‘विकास कार्यदल गठन भएर परिचालन भएपछि त्यस्तो गर्न पाइनेछैन,’ उनले भने, ‘ढाँटेर, ठगेर र कागज बनाएर रकम असुल्ने काम सबै बन्द हुनेछ ।’ कार्यदलमार्फत गरिने कामको अनुगमन र मूल्यांकनसमेत गरिने उनको दाबी छ ।

प्रकाशित : श्रावण २२, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?