कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जनकपुर–जलेश्वर सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी, जर्जर सडकमा गुड्ने बस पनि थोत्रै

अजित तिवारी

जलेश्वर (महोत्तरी) — जनकपुरबाट महोत्तरीको जलेश्वर पुग्ने सडक खण्डमा पाइलापिच्छे खाल्डाखुल्डी छन् । जर्जर सडकमा गुड्ने बस पनि थोत्रा छन् । जनकपुरबाट जलेश्वर १७ किलोमिटर सडक छिचोल्न बसलाई कम्तीमा १ घण्टाभन्दा बढी समय लाग्छ । वर्षौंदेखि जर्जर बनेको सडकको निर्माण सुरु भएको २ वर्ष बितेको छ ।

जनकपुर–जलेश्वर सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी, जर्जर सडकमा गुड्ने बस पनि थोत्रै

दुई खण्डमा फरक–फरक निर्माण कम्पनीले सकार गरेको सडक निर्माण सुस्त छ । जर्जर सडकमा थोत्रा बसको यात्राले सर्वसधारण आजित छन् । ‘सडकको अवस्था हर्दा पनि जलेश्वर जान मन मान्दैन,’ जनकपुर उद्योग वाणिज्य संघका सदस्य शंकर पासवानले भने, ‘एक त सडक जर्जर छ, त्यसमाथि थोत्रा बसको यात्रा ।’


जनकपुरदेखि जलेश्वरको रूटमा चल्ने बस २० वर्षभन्दा पनि पुराना छन् । धेरैजसो बसका सिट भाँचिएका छन् । थोत्रा बसको झरझरको आवाज झन् चर्को हुन्छ । ‘सडकको हालत खराब रहेकाले जनकपुर–जलेश्वर रूटमा नयाँ बस हाल्न मान्दैनन्,’ महोत्तरी मठिहानीस्थित संस्कृत विद्यापीठका प्राचार्य ईश्वरी पौडेलले भने, ‘कामले गर्दा जलेश्वर–जनकपुर ओहरदोहर गर्नुपर्ने बाध्यता छ । सडक र बसको हालत भने जर्जर छ ।’


सडक कार्यालयले जलेश्वर–जनकपुर सडक निर्माणका लागि रोशन कन्स्ट्रक्सन र हिरा भगतको निर्माण कम्पनीलाई ठेक्का दिएको छ । कतै ६ र कतै ४ लेनमा निर्माण ठेक्का लागेको जनकपुर–जलेश्वर खण्डको काम अहिले ठप्प छ । सडक कार्यालयले पटक–पटक म्याद थपे पनि सुधारको कुनै संकेत देखिएको छैन । सानो पानी पर्दा पनि सडक खण्ड हिलाम्मे हुन्छ ।


‘मोटरसाइकल हाँकेर जलेश्वर पुग्नु ठूलै युद्ध जितेजस्तो हुन्छ,’ व्यापारी पासवानले भने, ‘हिलाम्मे सडक हुँदा मोटरसाइकल चिप्लने खतरा पनि उत्तिकै हुन्छ ।’


महोत्तरीको पिपराभन्दा दक्षिण सडकमा बनाउने पर्ने पुलको काम त्यतिकै थन्किएको छ । जलेश्वर हुँदै बर्दिवास पुग्ने ४२ किलोमिटर अर्को सडकको दुरावास्था जनकपुर–जलेश्वर सडकभन्दा पनि जर्जर छ । जलेश्वर आवत–जावत गर्ने धेरैजस्तो यात्रुहरू सडकको दुरावस्थाले मिठामोड हुँदै भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।


महोत्तरी, मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलले जनकपुर–जलेश्वर सडकको अवस्था दयनीय भएकाले महोत्तरीमा बाहिरबाट आउनेको संख्यामा कमी आएको बताए । ‘जलेश्वरमा काम पर्दा पनि सकभर नआउने र अरु माध्यमले नै काम गराउन खोज्नुमा सडकको अवस्थाले पनि हो,’ मेयर मण्डलले भने ।

प्रकाशित : श्रावण २२, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?