२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जतुवाको घरघरमा पाइपबाट ग्यास

उपभोक्ता भन्छन्, 'छिटो, मिठो र सस्तो हुँदो रहेछ'  
देवनारायण साह

मोरङ — प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । भारतले नाकाबन्दी गरेर गयाँसको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थिए ।

जतुवाको घरघरमा पाइपबाट ग्यास

तर, विराटनगर महानगरको जतुवामा भने स्थानीयस्तरमा पाइपबाट भान्छामै आइपुगेको ग्यासबाट खाना पाक्न सुरु भएको छ । गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले जतुवा आसपासका घरमा खाना पाक्न थालेको हो ।


तर, यो पाइपबाट भान्छामा ग्यास लैजाने काम भने सरकारले होइन, विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले गरेको हो । सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्‍याएको हो । आइतबार रातीदेखि पाइपमा आइको ग्यासबाट खाना पाक्न थालेको छ ।


'आश्चर्य र खुशी लागेको छ,’ स्थानीय रीनादेवी मिश्रले भनिन्, ‘बायो ग्यासमा पकाएको खाना एलपी ग्यासमाभन्दा मिठो र छिटो पाक्दोरहेछ ।’ उनले अब सिलिण्डर बिस्फोट भएर दुर्घटना हुने डर नरहेको बताइन् ।


स्थानीय रोहिनीकुमारी यादवले पाइपबाट भान्छामै ग्यास आइपुगेपछि निकै सुविधा भएको बताइन् । ‘यो बिल्कुलै नयाँ सुविधा पायौं,’ उनले भनिन्, ‘अब ग्यास सकिएपछि सिलिण्डर बोकेर लैजाने र ल्याउने झन्झट सकियो ।’


विराटनगर १४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा निर्माण गरिएको बायो ग्यास प्लाण्टबाट उत्पादन भएको ग्यास सेन्थेटिक ट्यांकमा सोमबार ग्यास भर्दै । तस्विर : देवनारायण/कान्तिपुर ।

स्थानीय शीला दाहाल यसअघि दुई महिनामा तीनपटक ग्यास सिलिण्डर खरिद गर्न जाने गर्थिन् । तर अब त्यो झन्झटबाट मुक्त भइन् । पाइपबाट आएको ग्यास एलपी ग्यासभन्दा सस्तो र छिटो खाना पाक्ने उनको अनुभव छ । ९ जनाको परिवारका लागि एलपी ग्यासमा खाना पकाउँदा दुई महिनामा ४ हजार ६५ रुपैयाँ खर्च हुनेमा वायो ग्यास प्लान्टलाई मासिक हजार रुपैयाँ बुझाए हुने भएको छ ।


‘यसअघि आस्थाको केन्द्र रहेको श्रीकृष्ण गौसेवा सदन अब सुविधाको समेत केन्द्र बन्न पुगेको छ,’ स्थानीय लक्ष्मीनारायण यादवले भने । २०४४ सालमा स्थापना भएको सदनबाट बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संयोजन र विश्व बैंकको सहयोगमा निर्माण भएको बायो ग्यास प्लाण्टबाट उपभोक्तालाई शुक्रबारदेखि नियमित ग्यास आपुर्ति हुन थालेको छ ।


पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरेको छ । सदनका अध्यक्ष शंकरलाल अग्रवालका अनुसार उपभोक्ताको घरघरमा ग्यास चुल्हो बालेर ५ दिन परीक्षण गरेपछि आइतबार रातीदेखि नियमित आपुर्ति थालेको हो ।


उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्ने दर निर्धारण गरिएको छ । यो एलपी ग्यास भन्दा सस्तो हुन्छ ।


बायो ग्यास प्लाण्टमा सोमबार गोबर हाल्दै । तस्विर : देवनारायण/कान्तिपुर ।

'सदन गैरनाफामूलक संस्था भएकाले ग्यासको बिक्री बितरण व्यावसायिक भन्दा पनि सेवा भावले गर्छौं,’ उनले भने । सदनले प्रत्येक घरमा दुइटा चुलो र ग्यास प्रयोग गर्न आवश्यक सामग्री नि:शुल्क उपलब्ध गराएको छ । गौशालाभन्दा उत्तरतर्फ एक किलोमिटरसम्मको बस्तीको ४८ घरमा दोस्रो चरणमा ग्यास पुर्‍याउने लक्ष्य रहेको अग्रवालले बताए ।


सदन समितिले विश्व बैंकको सहयोगमा आर्थिक वर्ष ०७३/७४ मा विद्युत उत्पादन गर्ने उद्देश्यसाथ वायो ग्यास प्लाण्ट निर्माणको ठेक्का नेपाल उर्जा विकास कम्पनीलाई दिएको थियो । तर मुलुकमा लोडसेडिङ्ग अन्त भएपछि समितिले २०७४ फागुनमा ग्यास उत्पादन गर्ने निर्णय गरेको थियो ।


सुरुमा ८४ लाख लागतमा निर्माण थालेको प्लाण्टलाई ग्यास उत्पादन गरेर पाइपमार्फत घरघरमा आपुर्ति गर्ने निर्णय गरेपछि लागत १ करोड २५ लाख रुपैयाँ पुगेको हो । शुरुमा लागत मूल्यको २० प्रतिशत १६ लाख गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो । सरकारले बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमार्फत २० प्रतिशत लागत सहभागिता ४० लाख उपलब्ध गराइदिएको छ । उक्त रकम विराटनगर महानगरपालिकामा सरकारले पठाइसकेको जिल्ला समन्वय समितिका वातावरण तथा ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए । उनले विश्व बैंकले ८५ लाख अनुदान सहयोग उपलब्ध गराएको बताए ।


३ सय २० घनमिटरको यस वायो ग्यास प्लाण्टमा दैनिक १ सय ६० किलो ग्यास उत्पादन हुन्छ । यो ग्यास तीन किलोमिटर क्षेत्रमा १ सय ५० घरलाई पुग्छ तर प्लाण्ट भएको क्षेत्रमा बाक्लो बस्ती नभएकोले अहिले एक किलोमिटर क्षेत्रको ८० घरमा मात्रै आपुर्ति गर्ने निर्णय भएको सदनका पदाधिकारीले बताएका छन् ।


सेन्थेटिकको ठूलो ट्यांकमा उत्पादन भएको ग्यास जम्मा गर्दै आपुर्ति थालेको छ । उनले एलपी ग्यासभन्दा मोटो र गुणस्तरको भएकोले सलाई कोरेर मात्रै बाल्न सकिने बताए । यो ग्यास प्लाण्टले वार्षिक एक हजार सिलिण्डर एलपी ग्यास प्रतिस्थापन गर्ने उनको भनाई छ । उनले ८० घरमा नियमित ग्यास आपुर्तिका लागि ३ सय ४० भोल्ट विद्युत आवश्यक हुन्छ तर अहिले २ सय २० सम्ममात्रै विद्युत रहने गरेकोले पहिलो चरणमा ३२ घरमा मात्रै आपुर्ति थालिएको बताए ।


यो साताभित्रै थप ४८ घरका लागि पाइप ओछ्याउने काम सुरु हुने भएपनि विद्युतको भोल्टेज समस्या समाधान नभएसम्म नियमित ग्यास आपुर्तिमा कठिनाइ हुने अध्यक्ष अग्रवालको भनाई रहेको छ । सरकारले तत्काल ५० केभिएको ट्रान्सफर्मर उपलब्ध नगराइदिए कम्प्रेसर मेसिन चलाउन समस्या हुने र ग्यास आपुर्ति गर्न नसिकने अवस्था छ । उनले प्लाण्टमा दैनिक २ हजार किलो गोबर आवश्यक भएको पनि बताए ।


महानगरका उद्योगी–व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा गौसेवा सदन चलेको छ । गौ सेवक १८ जना छन् । गाईको स्वेच्छाले सेवा गर्न अवकास प्राप्त कर्मचारीलगायत स्थानीयवासी आउने गरेका छन् । सदन सञ्चालनका लागि बार्षिक ८० लाखसम्म खर्च हुने गरेको यादवले सुनाए । उनले १५ देखि २० लाख मल र दुध बिक्री, उद्योगी व्यवसायीको स्वेच्छिक दानबाट र बाँकी घरघरबाट चन्दा संकलन गरेर सदन चलाउँदै आएको बताए ।


सदनले जैविक मल बनाएर बेच्दै आएको छ । थोकमा १० रुपैयाँ प्रतिकिलो र खुद्रामा १२ रुपैयाँको दरमा मल बिक्री गर्दै आएको गौ सेवक महिचन्द्र यादवले बताए ।


गाईले दैनिक दिइरहेको दुई हजार पाँच सय किलो गोबर ग्यास प्लाण्टमा हाल्ने गरेको र ग्यास प्लाण्टबाट निस्केको गोबरको पानी सुकाएर जैविक मल तयार गर्ने गरिएको छ ।


सदनमा ८१ वटा दुध दिने गाई छन् । बाछाबाछीले खाएर उब्रिएको ४० लिटरसम्म दूध बिक्रीबाट हुने आम्दानी सदनकै खर्चमा उपयोग गरिन्छ । बिहान गौमूत्र सेवन गर्नेहरु पनि सदनमा आउने गर्छन् ।


प्रकाशित : श्रावण २२, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?