पहिरोले डेढ दर्जन परिवार विस्थापित

कान्तिपुर संवाददाता

जाजरकोट — भेरी नगरपालिका ३, ठाँटीबजारमा गत आइतबारको पहिरोले डेढ दर्जन परिवार विस्थापित भएका छन् । पहिरो जाने क्रम अझै रोकिएको छैन ।

पहिरोले डेढ दर्जन परिवार विस्थापित

स्थानीय प्रशासनले उच्च जोखिममा परेका १७ घरपरिवारलाई तत्काल ठाँटीबजार छाड्न निर्देशन दिएको थियो । विस्थापित अधिकांशले थाप्लेस्थित वृद्धाश्रम केन्द्रमा आश्रय लिएका छन् । केहीले भने आफन्तकहाँ शरण लिएका छन् ।

सम्बन्धित निकायले पीडितलाई राहत र पुन:स्थापनामा ढिलाइ गरेको अधिकारकर्मी कृष्णविक्रम शाहले बताए । ‘आफन्त गुमाएको पीडासँगै गाँस, बास र कपासको चिन्ताले सताएको छ,’ उनले भने । पहिरो जाने सम्भावना बढेपछि डेरा बसेको घर छाडी साथीकहाँ बस्दै आएको शर्मिला थापाले बताइन् । ‘ठूलो वर्षा भए पूरै गाउँ बग्ला भन्ने त्रास छ,’ उनले भनिन्, ‘तत्काल सुरक्षित घर नपाउँदा डेरा सर्न पनि सकेकी छैन ।’

न्युरोड, भेलाले, शान्तिचौतारा, रानागाउँलगायत बस्तीका बासिन्दा पहिरोको त्रासमा छन् । रातभरि वर्षा भइरहे उनीहरू जाग्राम बस्छन् । ठाटीबजारको पहिरोले १७ घर उच्च जोखिममा परेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताए । रानागाउँ, रेडक्रस क्षेत्र, सिटिजन्स बैंक क्षेत्र, न्युरोड लगायत स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरिएको उनले जनाए ।

सदरमुकाम खलंगामा पहिरोको जोखिम बढ्दै गए पनि सम्बन्धित निकायले जोखिम न्यूनीकरणतर्फ ध्यान नदिई बेवास्ता गरेको पाइएको छ । खलंगामा सडक भासिँदा सवारी आउजाउसमेत बन्द भएको छ । खलंगा बजारका ७५ घर पहिरोको उच्च जोखिममा छन् । ठाँटीबजारको पहिरोले ९ जनाको ज्यान लिनुका साथै दुई घर पुरेको थियो ।

प्रकाशित : श्रावण २३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?