कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र !

अजित तिवारी

जनकपुर — जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र ! सुन्दै आश्चर्य लाग्ने घटना हो यो । त्यही प्रमाणपत्रले उनलाई आफू जीवित रहेको प्रमाणित गराउन मुस्किल परेको छ रामसेवक राय यादवलाई । महोत्तरी, औरही–६ खोपीबैरियाका ५९ वर्षीय यादव आफ्नो मृत्युको प्रमाणपत्र बोकेर जिउँदै रहेको प्रमाण जुटाउन जिल्ला प्रशासन कार्यालय, अदालत र जनप्रतिनिधिसम्म गुहार्न बाध्य छन् ।

जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र !

उनको नाममा रहेको करोडौंको जग्गा हत्याउन उनकी सौतेनी आमा र भाइको योजनामा २०६८ जेठ १ गते मृत्युको प्रमाणपत्र बनाइयो ।


रामसेवकको नाममा रहेको जलेश्वर–बर्दिवास सडकछेउकै १० कठ्ठा खेत र ५ कठ्ठा घडेरीको मोहमा परेकी सौतेनी आमा शकुन्ती देवी र उनका छोरा रामपुकारको दबाबमा बुवा रामवृक्ष यादवले आफ्नै जिउँदो सन्तानको मृत्युको प्रमाणपत्र बनाइदिए । मृत्युको प्रमाणपत्र बनाइएका बेला रामसेवक भने भारतको पञ्जावमा थिए ।


रामवृक्षकी पहिली श्रीमती कौशिल्यादेवीले एकमात्र छोरा रामसेवकको नाममा उक्त जग्गा पास गरिदिएकी थिइन् । कौशिल्यादेवीको मृत्युपछि रामवृक्षले शकुन्ती देवीसित अर्को विवाह गरे ।


रामसेवक पनि २०४८ सालमा विवाह गरेर कमाउन पञ्जाव छिरे । उनी दुई दशक उतै बसे । रामसेवककी श्रीमती अन्तै लागिन् । सौतेनी आमा शकुन्तीदेवी र उनका छोरा रामपुकारलाई भने रामसेवकको नाउँमा रहेको करोडौंको जग्गाले अत्याइरहयो । अनि रचे प्रपञ्पच ।


केही स्थानीयको सनाख्त जुटाएर तत्कालीन पञ्जिकाधिकारी गोपाल पाठकले रामसेवकको मृत्यु २०६७ कात्तिक १४ गते भएको भन्दै मृत्यु दर्ताको प्रमाणपत्रमा सरकारी मोहर लगाइदिए । मृत्युको प्रमाणपत्र बनेलगत्तै सौतेनी आमा र उनको छोराले रामसेवकको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरिदिए ।


एक वर्षअघि घर फर्किएका रामसेवकलाई सौतेनी आमा र भाइले चिन्न इन्कार गरे । बुवा रामवृक्ष यादवको देहान्त भइसकेकाले उनलाई फसाद् पर्‍यो ।


‘गाउँ आउँदा त सबैले तिम्रो त मृत्यु भइसकेको छ भन्दा छक्क परें,’ रामसेवकले भने, ‘जिउँदो मान्छे आफैंले जिउँदो छु भनेर प्रमाणित गराउनुपर्ने स्थिति छ ।’ उनी पञ्जाव बस्दा पनि छिमेकी र साथीहरूको सम्पर्कमा रहेको दाबी गर्छन् । पञ्जावबाट फर्किएदेखि गाउँकै मन्दिरमा आश्रय बनाएका छन् । यताउताबाट मागेर दुई छाक टार्छन् । अनि, आफू जिउँदो रहेको प्रमाणित गराउन सरकारी निकाय चार्हछन् ।


‘अहँ, कहीं कतैबाट सुनुवाइ भएको छैन,’ रामसेवकले भने, ‘आफ्नै मृत्युको प्रमाणपत्र बोकेर १ वर्षदेखि सबैतिर गुहारिसकें । वकिलसँग सल्लाह गर्दा १० हजार रुपैयाँ मागे, जुन दिने मेरो हैसियत छैन ।’ उनका छिमेकी रामनारायण यादव मृत्युको प्रमाणपत्र बनाएर रामसेवकलाई अन्याय गरिएको बताउँछन् ।


‘जिउँदो मान्छेलाई सम्पत्ति हत्याउन मृत्यु भएको जालसाजी गरिएको छ,’ यादवले भने, ‘कानुनी रूपमा रामसेवकलाई जीवित प्रमाणित गरेर जालसाजी गर्नेमाथि कारबाही हुनुपर्छ ।’

मृत्यु प्रमाणपत्र बनाएर घरजग्गा हत्याएका सौतेनी आमा र भाइले रामसेवकलाई चिन्नै इन्कार गरिरहेका बेला मृत्यु दर्ता बदर गर्न सीडीओलाई निवेदन दिन पनि औरही–६ का वडाध्यक्षसमेत तयार नरहेको स्थानीय राजकिशोर रायले बताए । कानुन व्यवसायी सुदीप कोइराला जिउँदो मानिसको मृत्यु दर्ता प्रमाणपत्र बनाएका व्यक्तिले मृत्यु दर्ता फिर्ता गर्न अस्वीकार गर्दा पनि व्यक्तिगत घटना दर्ता ऐनले सिडिओलाई मृत्यु दर्ता बदर गर्ने अधिकार रहेको बताउँछन् ।


महोत्तरीका सिडिओ उमेशकुमार ढकालले संघीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएको समस्या भएकाले स्थानीय विकास अधिकारीसित कुराकानी भइरहेको बताए । ‘जिउँदो मान्छेको मृत्युको प्रमाणपत्र बनाएर अन्यायमा पार्नेलाई पनि कारबाही हुन्छ,’ ढकालले भने, ‘स्थानीय विकास अधिकारी काठमाडौं गएकाले उहाँ आएलगतै के भएको हो बुझेर करेक्सन गर्ने काम हुन्छ । र, दोषीलाई कारबाही पनि हुन्छ ।’


अधिवक्ता कोइरालाका अनुसार जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता गराउनेविरुद्ध अदालतमा मृत्यु दर्ता खारेजसँगै जालसाजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा पनि चलाउन सकिन्छ । रामसेवककको मावाली वडा औरही–७ का वडा अध्यक्ष गणेश यादवले उनी जिउँदो रहेको सिफारिस गर्न आफू तयार रहेको बताउँछन् ।

प्रकाशित : श्रावण २३, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?