३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जन्मनेलाई हजार, मर्नेलाई ५ हजार

कुम्भराज राई

ओखलढुंगा — झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मिनेभन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर कुरा त्यसो होइन ।

जन्मनेलाई हजार, मर्नेलाई ५ हजार

सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जीकरण प्रणालीलाई नियमित गरी मातृशिशु स्वास्थ्यप्रति सचेत गराउन स्थानीय तहले यसो गरेको हो ।


सुनकोसी गाउँपालिकाले आफ्नो दोस्रो गाउँसभाबाट गाउँपालिकाभित्र कसैको मृत्यु भए परिवारलाई ५ हजार किरिया खर्च दिने निर्णय गरेको छ । ‘बर्थिङ सेन्टर’ मा जन्मने शिशुको परिवारलाई १ हजार दिने निर्णय गरेको छ ।


‘यो निर्णय सुन्दा एउटा अर्थ लाग्ने देखिए पनि यसको उद्देश्य विशेष छ,’ गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने, ‘वृद्ध र अपांग भत्ताको नाममा वर्षौंदेखि कर्मचारी र भत्ता लिनेका आफन्तले मरिसकेका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता लिएर अनियमितता गर्दै आएका थिए । मरेका व्यक्तिको परिवारलाई ५ हजार किरिया खर्च दिन थालेपछि यसको अन्त्य हुँदै जानेछ ।’


गाउँपालिका क्षेत्रभित्र मृत्यु हुनेलाई किरिया खर्चका साथै समवेदना पत्र प्रदान गरी उनीहरूको अभिलेख राखिने गाउँपालिकाले जनाएको छ ।


यसरी अभिलेख राख्ने क्रममा मृत्यु भएको व्यक्ति सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति हो कि होइन भनेर अभिलेख भिडाउने र यदि हो भने त्यो सुविधा कटौती गर्ने अधिकारीले बताए ।


त्यसैगरी जन्मिने शिशुको सवालमा पनि समयमा पञ्जीकरण गर्ने बानीको विकाससँगै स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउन प्रोत्साहन मिलोस् भनेर निर्णय गरिएको हो । प्राय: जोकोहीले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराउन जाँदैनन् ।


तर स्वास्थ्य संस्थामा बच्चा जन्माएमा गाउँपालिकाले त्यहीँ पुगेर जन्मदर्ताको प्रमाणपत्र दिनुका साथै शिशु र आमाको पोषण सामग्रीका लागि हजार रुपैयाँ दिँदा प्रोत्साहन हुने आशा गरिएको गाउँपालिका प्रमुख अधिकारीले बताए ।


सरकारले पहाडी भू–भागमा बच्चा जन्माउने आमालाई हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको छ । तर गाउँपालिकाले आमा र बच्चाको शिशुको पोषणका साथै जन्मदर्ता समयमा बनाउने काम व्यवस्थित गर्न थप १ हजार दिने निर्णय गरेको हो ।


किरिया खर्च र पोषण रकम हुनेखानेका लागि ठूलो रकम नभए पनि विपन्नका लागि राहत हुने भन्दै सर्वसाधारण खुसी छन् ।


स्थानीय तहहरूले आ–आफ्नै किसिमका लोकप्रिय कार्यक्रमहरू बनाउने प्रतिस्पर्धा देखिएको छ ।


दोस्रो सभाबाटै सिद्धिचरण नगरपालिकाले दोस्रो सन्तानका रूपमा छोरी जन्माउनेलाई सम्मान कार्यक्रम लागू गरेको छ । मानेभञ्ज्याङ गाउँपालिकाले स्तनपान कक्ष निर्माण गर्नेजस्ता कार्यक्रम तय गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?