कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लेबनानबाट दुई महिलाको उद्धार

होम कार्की

काठमाडौँ — इजिप्टस्थित नेपाली दूतावासले लेबनानमा १० वर्षदेखि अलपत्र नुवाकोटकी मुनामाया तामाङ र उदयपुरकी मनिकुमारी राईलाई मंगलबार नेपाल फर्काएको छ । 

लेबनानबाट दुई महिलाको उद्धार

दूतावासले लेबनान सरकारसँग समन्वयमा उनीहरूको उद्धार गरेको हो । लामो समयदेखि दूतावाससँग सम्पर्कै गर्न नसकेका उनीहरू एक वर्षअघि मात्र सम्पर्कमा आएका थिए ।


‘उनीहरूविरुद्ध मालिकले प्रहरीमा उजुरी गरेको थियो । त्यसलाई हटाउन र ट्राभल डकुमेन्ट बनाउने प्रक्रियामै समय लाग्यो,’ दूतावासका प्रवक्ता सुजन बिडारीले भने, ‘लेबनानी अधिकारीहरूको सहयोगले सहज रूपमा नेपाल पठाउन सकियो ।’


लेबनानमा नेपाली दूतावासका प्रतिनिधि छैनन् । पीडित कामदारले इजिप्टकै दूतावासमा सम्पर्क गर्नुपर्ने अवस्था छ ।


दुवै जना गैरकानुनी ढंगले बस्दै आएका थिए । ‘मुनामाया ९ वर्ष र मनिकुमारी ४ वर्षअघि नै सुरुको घर छाडेर अन्तै काम गर्दै आएका थिए,’ बिडारीले भने, ‘मुनामायाको आम्दानी नभएकाले जरिवाना तिर्न परेन । मनिकुमारीले ८ सय डलर तिर्नुपर्‍यो ।’


मुनामाया एक गरिब परिवारमा बस्दै आएकी थिइन् । ‘उक्त परिवारले तलब दिन सकेको थिएन । तर उनीहरूसँग बस्दा नै सुरक्षित हुने देखेर अन्त गइनँ,’ मुनामायाले भनिन्, ‘त्यो घरमा एकजना बूढी मालिक्नीसँग बस्थें ।’


दूतावासले प्रहरीसँग विशेष आग्रह गरेपछि मुनामायाले जरिवाना तिर्न नपरेको जनाएको छ । मनिकुमारी भने मासिक ४ सय डलर कमाउँथिन् । उनले ८ सय डलर जरिवाना तिरिन् ।


‘गैरकानुनी हैसियतमा बसेका कामदारले जरिवाना भुक्तानी गरेपछि मात्रै लेबनानबाट बाहिर निस्कन पाउँछन् । धेरै नेपाली महिला गैरकानुनी हैसियतमा कार्यरत छन्,’ बिडारीले भन । नेपाल आइपुगेपछि दुवैले खुसी व्यक्त गरे ।


‘१० वर्षसम्म दु:ख गरियो । नेपाल जान पाइन्छ भनेर सपनामा पनि सोचेको थिइनँ । कति रात सुत्न सकिनँ, खान पाइनँ । कति रोएँ, चिच्याएँ,’ मनमायाले भनिन्, ‘अब परिवारसँग भेट्न पाउने भएँ ।’ गैरकानुनी हैसियतमा रहेका १७ नेपाली महिलालाई पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।


‘नेपाल फर्किन चाहनेहरूको सूची तयार पारेर लेबनान सरकारलाई पठाइदिन्छौं,’ उनले भने, ‘जसले जरिवाना तिर्न सक्तैन । उनीहरूलाई फर्काउने प्रक्रिया लम्बिन्छ ।’ दूतावासले ७ महिनामा २३ महिलाको उद्धार गरिसकेको छ ।


सरकारले लेबनानमा घरेलु कामदारमा जान रोक लगाए पनि अवैध बाटो जानेको संख्या १२ हजार पुगेको छ । दूतावासले लेबनानमा नेपाली कामदारको सहजीकरणका लागि अवैतनिक दूत राख्ने प्रक्रिया भइरहेको जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७५ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?