१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नेपाल–भारत सुरक्षा बैठक : सीमामा संयुक्त गस्ती बढाइने

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरू समन्वय र संवाद प्रभावकारी बनाउन सहमत भएका छन् । दुई देशका उच्च सुरक्षा अधिकारी सम्मिलित ‘कोअर्डिनेसन समिति’ को बुधबार नयाँदिल्लीमा सुरु तेस्रो बैठकमा केन्द्रदेखि स्थानीयस्तरसम्म समन्वय गर्ने सहमति बनेको एक अधिकारीले बताए । 

नेपाल–भारत सुरक्षा बैठक : सीमामा संयुक्त गस्ती बढाइने

बैठकमा सीमापार अपराध नियन्त्रणका लागि औपचारिक संयन्त्र बनाई नियमित गस्ती गर्ने सहमति भएको छ । क्षमता अभिवृद्धिका लागि दुई संगठनले आ–आफ्ना अनुभव साट्ने र अवलोकन भ्रमण गर्ने समझदारी पनि बनेको छ ।


सीमा सुरक्षा दुवै मुलुकको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएका विषय भन्दै बैठकलाई नियमित गरिने भएको छ । यसअनुसार एपीएफ र एसएसबी प्रमुखहरूको ‘कोअर्डिनेसन समिति’ को बैठक वर्षमा एकपटक, बटालियन तहको बैठक ६ महिनामा र चेकपोस्टका नेतृत्व गर्ने अधिकारीहरूबीको बैठक महिनामा एकपटक गर्न दुवै पक्ष सहमत भएका छन् । सीमा सुरक्षा प्रभावकारी बनाउन स्थानीयस्तरमा सूचना आदानप्रदान तथा सञ्चार सेवा दुरुस्त बनाउने विषय पनि बैठकको एजेन्डामा रहेको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले बताए । सशस्त्र सुरक्षा बलको क्षमता अभिवृद्धिका लागि दुई पक्षीय तालिमका विषयमा पनि छलफल गरिने उनले जानकारी दिए ।


सहमतिहरूमा अन्तिम हस्ताक्षर भने बिहीबार मात्र हुनेछ । बिहीबार प्रतिनिधिमण्डल अवलोकन भ्रमणमा निस्कने कार्यक्रम छ । पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन् । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. इला मैनाली पनि सहभागी छन् । ‘कोअर्डिनेसन समिति’ को बैठक चार वर्षयता बस्न सकेको थिएन । सन् २०१२ मा पहिलो र २०१४ मा दोस्रो बैठक बसेको थियो ।


नेपालमा सशस्त्र प्रहरी बल (एपीएफ) र भारतमा सीमा सुरक्षा बल (एसएसबी) लाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ । केही वर्षयता एसएसबीले नेपाल–भारत सीमामा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । उसले ५३० वटा सीमा पोस्ट खडा गरिसकेको छ । एपीएफले पनि त्यसैअनुरूप संरचना अगाडि बढाउँदै लगेको छ ।


प्रकाशित : श्रावण २३, २०७५ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?