पहिरोले गाउँमै थुनिए स्थानीय

राजेन्द्र मानन्धर

दोलखा — बिगु गाउँपालिकाको बुलुङ गाउँ पहिरोले घेरिएको छ । चारैतिर पहिरो गएपछि हिंड्ने बाटो छैन । मंगलबार रातिको पहिरोमा घाइते भएकाको बुधबार अपराह्न हेलिकप्टरबाट उद्धार गरिएको छ । घाइते एक दम्पतीलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

दोलखाको बिगु गाउँपालिकाको बुलुङखानीका श्यामबहादुर श्रेष्ठ दम्पतीको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गरिंदै । तस्बिर : कान्तिपुर

मंगलबार राति भीषण वर्षापछि पहिरो गएको थियो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार बुलुङ जाने बाटो क्षतिग्रस्त भएको छ । स्थलमार्गबाट घाइतेलाई उद्धार गर्न सम्भव नभएकाले गृह मन्त्रालयले पठाएको सेनाको हेलिकप्टरमार्फत घाइतेलाई काठमाडौं लगिएको छ । पहिरोले घर पुरिँदा बुलुङखानीका श्यामबहादुर श्रेष्ठ र दलमाया श्रेष्ठ घाइते छन् । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छोरा सुशीलले जानकारी दिए ।

स्थानीय हरि श्रेष्ठले ठाउँठाउँमा पहिरो गएकाले स्थानीयवासी घेराबन्दीमा परेको बताए । ‘न गाउँ पस्न सकिन्छ, न त निस्कन नै,’ उनले भने । बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काका अनुसार पहिरोले बुलुङका विभिन्न ठाउँको जमिन चिराचिरा परेकाले हिंड्डुलमै समस्या छ । उनका अनुसार बुलुङ, लादुक र ओराङमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ । लादुकस्थित सार्की गाउँमा ३० घरको सिरानबाट पहिरो खसेको छ । गाउँ तलबाट पनि पहिरो गएकाले स्थानीय उच्च जोखिममा छन् ।

Yamaha

प्रमुख जिल्ला अधिकारी पाठकले प्रहरीले उद्धार र घटना विवरण संकलन गरिरहेको बताए । बुलुङको ठाडो खोलामा आएको बाढीले २० परिवार विस्थापित भएका छन् । स्थानीय छत्रबहादुर तामाङले मानवीय क्षति नभए पनि चौपाया क्षति भएको बताए । केही परिवारका घर भत्किएपछि चौरमा पाल टाँगेर बसिरहेका छन् । सिंगटी बजारका दुई ठूला खोलामा बाढी आएपछि स्थानीय राति सुरक्षित स्थानमा गएका थिए । गाउँपालिका अध्यक्ष खड्काले सिंगटी बजारसम्म पुग्न पनि पहिरो बाधक बनेको जानकारी दिए ।

यस्तै उत्तरी गौरीशंकर गाउँपालिकाको खारेमा रहेको स्वास्थ्यचौकी भवनलगायत बस्तीमा पनि पहिरोले क्षति पुर्‍याएको छ । त्यहाँका केही घर, गोठ, चौपाया र बालीमा क्षति पुगेको जिल्ला प्रशासनले जनाएको छ ।

सडकमा बढी क्षति
जिल्लाको उत्तरी भूभाग जोडने दोलखा–लामाबगर सडकमा क्षति हुँदा सिंगटीदेखि लामाबगरसम्म यातायात सञ्चालन अवरुद्ध भएको छ । लादुक र बुलुङ जाने सडकका दर्जनौँ खण्ड बगाएको छ । बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले उत्तरका मुख्य र ग्रामीण सडकहरू मंगलबार रातिको पहिरोले क्षतिग्रस्त बनाएको बताए । सिंगटीदेखि लामाबगरसम्मको सडक सञ्चालनमा ल्याउन डोजर पठाइएको उनले बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सहपाठी मृत्युले विद्यालय सुनसान

एउटै बेच्नमा बसेको र सँगै खेलेको साथीको बिछोडले बालबालिका टोलाउने गरेका छन् 
भीमबहादुर सिंह

जाजरकोट — शुक्रबार दिउँसो करिब १ बजे । विद्यालयबाट सँगसँगै आएका योगेन्द्र परियार र गोविन्द परियार ठाँटीबजारबाट छुट्टिए । छुट्ने बेला गोविन्दले भने, ‘पर्सि (आइतबार) भेटौंला, म्याडमले दिएको होमवर्क गरेर ल्याउनु है ।’

आइतबार त आयो, तर मिलन हैन, बिछोड ल्याएर । आइतबार बिहान खसेको पहिरोले गोविन्दलाई घरभित्रै पुर्‍यो । उनलाई सम्झिँदा सहपाठी योगेन्द्रको मन अहिले पनि भक्कानिन्छ । ‘आइतबार बिहानै पहिरोले साथीलाई लगेको सुनेपछि सुरुमा त पत्याउनै सकिनँ,’ उनले भने, ‘स्कुलमा गएर पढ्न पनि मन लागेको छैन ।’

योगेन्द्रमात्र होइन, हनुमान प्राथमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थी उत्तिकै स्तब्ध छन् । आइतबारको घटनामा गोविन्दसँगै भगवती लुहार, दशरथ परियार, रञ्जना लुहार र मनीषा लुहारको मृत्यु भएको थियो । सहपाठीको मृत्युपछि बालबालिका विद्यालय जानसमेत सकेका छैनन् ।

विद्यालयमा चार दिनदेखि राम्ररी पढाइ हुन सकेको छैन । एउटै बेच्नमा बसेको, सँगै खेलेको साथीको बिछोडले बालबालिका टोलाउने गरेका छन् । ‘भगवती मिलनसारमात्र होइन, पढाइमा पनि उत्तिकै तगडा थिइन्, उनी नहुँदा पढ्न मनै लाग्दैन,’ सहपाठी भूमिका रोकायाले भनिन्, ‘मलाई नजानेको कुरा सिकाउँथिन्, अब मलाई सहयोग कसले गर्ला ?’

५ कक्षासम्म पढाइ हुने हनुमान प्राविमा मुस्किलले ७० विद्यार्थी छन् । हुने–खानेका बालबालिका निजी विद्यालयमा पढ्नाले सदरमुकामको केन्द्रमा अवस्थित यो विद्यालयमा विपन्न र मजदुरका बालबालिकामात्र पढ्छन् । विपद्ले पनि विपन्नका सन्तान अध्ययनरत विद्यालयलाई नै पछ्याएको छ । ‘आइतबारको घटनाले विद्यालय पूरै शोकमा डुबेको छ,’ प्रधानाध्यापक इन्दिरा शाहले भनिन्, ‘जेहेन्दार र लगनशील विद्यार्थी घटनामा परेपछि हामी निकै दु:खी छौं ।’

प्रकाशित : श्रावण २४, २०७५ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT