६ लेन सडकमा भेल

साँघुरा नालीले सडकमा भेल बग्न थालेपछि विद्यार्थीलाई पार गर्नै मुस्किल
अमृता अनमोल

बुटवल — बर्खाका बेला नदी–खोला उर्लनु स्वाभाविक हो । तर, यहाँ मूल सडक नै नदीजस्तो बन्छ । बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्गमा आधा घण्टा वर्षा हुँदा पनि भेल बग्छ । छेउका नालीमा पानी भरिँदा सडक वारपार गर्न सकिँदैन ।

६ लेन सडकमा भेल

सडकको भेल तर्न नसक्दा स्कुले बालबालिका अलपत्र पर्ने गरेका छन् । सोमबार साँझ भेलले सडक जाम भयो । पैदल यात्रु मात्र होइन, रिक्सा र मोटरसाइकललाई पार गर्न समस्या भएपछि चौराहादेखि मिलनचोक खण्डमा ठूलै जाम भयो । विद्यालयबाट फर्किरहेका बालबालिका अलपत्र परे ।

छोराछोरी लिन गएका अभिभावक पनि बीचमै अड्किए । ‘स्कुलबाट आउँदै गरेको छोरा आधा घण्टा सडकमै उभियो । सडकवारिबाट मैले हेर्ने, पारिबाट उसले हेर्ने गर्‍यौं,’ बुटवल चौराहाकी माया बरालले भनिन्, ‘पानी कम भएपछि बल्ल ल्याएँ ।’ सडक वारपार गर्न नसक्दा यात्रु र विद्यार्थीसँगै झन्डै एक घण्टा सवारीसाधनसमेत ठप्प भए ।

४ वर्षअघि ६ लेनको सडक बनाएको यहाँस्थित सडक डिभिजन कार्यालयले क्षमताअनुसारको नाली नबनाउँदा यस्तो भएको हो । जानकारका अनुसार ६ लेनको सडकका लागि न्यूनतम ९० सेन्टिमिटरको नाली आवश्यक पर्छ । यहाँ ७५ सेन्टिमिटर क्षमताको मात्रै छ । कम्तीमा ४ सय मिटरमा पानीको निकास दिनुपर्छ । यहाँ भने साढे ३ किमि लम्बाइको सडकको पानी यही नालीबाट बग्ने गरेको छ । यही नाली बीचबीचमा बन्द हुँदा पानीजति सडकमै बग्ने गरेको छ ।

डिभिजन सडक कार्यालय प्रमुख कैलाशप्रसाद श्रेष्ठले चार लेन सडक बनाउँदा तयार गरिएको नालीको डिजाइनमै ६ लेन विस्तार गरिँदा समस्या भएको बताए । गोलपार्कदेखि चौराहासम्म झन्डै साढे ३ किमि दूरीको पानी यही नालीबाट बग्ने गरेको छ । ‘सानो नाली छ, त्यसमा लामो दूरीको पानी बगाउन खोज्दा समस्या भयो,’ उनले भने, ‘बीचबीचमा पानीको निकास नखोले सडकको भेल रोकिन्न ।’ यस वर्ष बेलहिया–बुटवल व्यापारिक मार्गले सडकका घर भत्काउँदा नाली बन्द भएकाले सडकमा पानी आएको उनले जनाए ।

सडकमा भेल आएपछि सरोकारवालाले पानीको निकास खोल्न सुझाएका थिए । त्यसका लागि गोलपार्क, अस्पताल लाइन, मिलनचोक र राजमार्ग चौराहामा रहेका सडकबीचका कल्भर्टबाट तिनाउ नदीमा पानी लैजान आग्रह गरेका थिए । तर, सडक र स्थानीय तहबीच समन्वय नहुँदा सडकको पानी तिनाउ नदीमा लैजान सकिएको छैन । राजमार्गको ५० मिटर दूरीमै पूर्वपट्टि कुलो छ । त्यही कुलोमा पानी लैजान सके पनि सडकमा भेल आउँदैन । पारदर्शी सरोकार समूहका निवर्तमान अध्यक्ष महेन्द्रनारायण श्रेष्ठका अनुसार सरकारी निकायको समन्वय अभाव र निकास दिने इच्छाशक्ति नहुँदा सडकको पानीले निकास नपाएको हो ।

विस्तार जारी
चौराहदेखि गोलपार्कसम्मको सडकलाई गत वर्षदेखि व्यापारिक मार्ग आयोजनाले विस्तार सुरु गरेको छ । आयोजनाका अनुसार राजमार्ग चौराहादेखि चिडियाखोला साढे तीन किलोमिटर लम्बाइमा रहेको ७५ फिट सडकलाई ८२ फिट कायम गरिनेछ ।

४ वर्षअघि डिभिजन सडकले विस्तार गरेको सडकका छेउमा ६/६ मिटर फराकिला सर्भिस लेन निर्माण गरिनेछन् । दुवै सडकको फुटपाथमा पाइप विस्तार गरिनेछ । सडक पुनर्निर्माण हुँदासमेत नाली निकासको योजना पारिएको छैन । ‘सडक संरचना बिग्रिने भएकाले नाली फेर्ने योजना बनाइएन,’ व्यापारिक मार्ग आयोजना प्रमुख जीवेन्द्र मिश्रले भने, ‘तर पानीको निकास दिन बीचबीचका कल्भर्टलाई फराकिलो बनाएर तिनाउ नदीमा पानी पठाउने योजना बनाएका छौं ।’

अहिले गोलपार्कमा रहेको कल्भर्टलाई गहिरो र फराकिलो बनाउन लागेको मिश्रले बताए । ‘अस्पताल लाइन, मिलनचोक र चौराहमा पनि कल्भर्ट छन् । तर, अतिक्रमणमा परेका छन्,’ उनले भने, ‘यिनलाई फराकिलो बनाउने र तिनाउ नदीमा पानी लैजानेबारे स्थानीय तहसँग छलफल गर्नेछौं ।’

प्रकाशित : श्रावण २४, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?