महेन्द्र राजमार्गमा खाल्टैखाल्टा

नारायण शर्मा

काठमाडौँ — व्यस्त महेन्द्रराजमार्गको दाउन्ने गैंडाकोट खण्डमा खाल्टैखाल्टा छन् । बढी तौल बोकेका गाडी चौबिसै घण्टा ओहोरदोहार गर्ने त्यो सडकमा लगातार वर्षातका कारण सडकमा खाल्टैखाल्टा बनेको हो ।

महेन्द्र राजमार्गमा खाल्टैखाल्टा

महेन्द्रराजमार्गमा खाल्टो परेको २४ घण्टा भित्रै टालीसक्नुपर्ने भएपनि सडक डिभिजन कार्यालयको हेल्चेक्राईंले महिनौसम्म पनि खाल्टाहरु पुरिएको छैन । त्यसले दुर्घटनाको जोखिम बढेको छ भने यात्रुले सास्ती भोगिरहेका छन् ।

खासगरी दाउन्ने, दुम्किवास बजार, होङसी सिमेन्टमा आउजाउ गर्ने चोक र सबैजसो पेट्रोलपम्प अघिल्तीरको राजमार्गको खाल्टा पानी जमेर हिलाम्य छ । दुम्किवास बजारमा मुख्य राजमार्गमा ठुल्ठुला खाल्टा परेको ७ महिना बितिसक्दापनि मर्मत सम्भारमा कसैले चासो देखाएका छैनन् ।

विनयी त्रिवेणी गाउँपालिकाले खाल्टा पुर्न १ लाख रकम बिनियोजन गरेर काम गरेको थियो । ग्राभल हालेर खाल्टा पुर्न खोजिएपनि लगातारको वर्षात् र ठुला खाल्टा भएकाले सम्याउन सकेन । दुम्किवास खण्डको ५ सय मिटर खण्डभन्दा बढी क्षेत्रमा ठुल्ठुला खाल्टामा पानी जमेर हिलाम्य भएको छ ।


‘पानी जमेकामारण राजमार्गमा हुईंकिने गाडीले पैदलयात्रुलाई हिलाम्य बनाउने गरेको छ,’ दुम्किाबासका स्थानीय दानबहादुर चौधरी भन्छन्, ‘भत्केको ७ महिना भैसक्यो सडकले चासो दिएको छैन ।’ खाल्टोमा पानी जमेका कारण राजमार्गमा जाम पनि हुने गरको छ ।

जिल्ला ट्राफिक प्रहरी निरिक्षक लक्ष्मणबहादुर शाही सडक कार्यलयको बेवास्ताले सडक समयमै नबनाउँदा दुर्घटना समेत भएको बताउँछन् । ठुला खाल्टाकै कारण साउन दाश्रो साता एउटा कार उछिट्टीएर दुर्घटना भएको उनले बताए । खाल्टोका कारण साउनमा ३ वटा दुर्घटना भएको छ ।

सडकमा देखिएका खाल्टो र पानी जमेको स्थान मर्मतकालागि सडक डिभिजन कार्यालयमा पटकपटक पत्राचार गरेपनि वास्ता नभएको उनको भनाई छ । ‘बजारको सौन्दर्यता बिग्रीएको छ यात्रुले सास्ती भोगेका छन,’ उनले भने ।

डिभिजन सडक कार्यालय बर्दघाटका ईन्जिनियर युवराज पाण्डेले सडक पुरानो भएकाले भत्किनु स्वभाविक भएको बताए । उनले भने, ‘४ लेनको सडक चाँडो बन्ने भएकाले एकैचोटि उसैले गरोस् भनेकाले हिलाम्य भएको हो ।’ वर्षातमा सडक बनाउन खोजेपनि नबन्ने भएको र थोरै पुरेर नहुने भएकाले सडक क्षतिग्रस्त भएको दाबी गरे ।

सडकका उपभोक्ता बढेको र धेरै भार बोकेका गाडी थेग्न सक्ने सडक नबनेको उनले दाबी गरे । २४ घण्टा भित्र बनाउनुपर्ने भएपनि बजेट अभावका कारण बनाउन नसकिएको उनको तर्क थियो । भैरहवा–बुटवल खण्ड झैं ४ लेनको सडक चाँडो ठेक्का लाग्ला भनेर पनि बनाउन ढिलो गरिएको उनको भनाई छ । राजमार्गमा बाक्लो पीच गर्नुपर्ने भएपनि बजेट अभावले पतलो गर्नुपर्ने बाध्यताका कारण पनि सडक छिटो भत्किने गरेको पाण्डेको दाबी छ ।

प्रकाशित : श्रावण २४, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?