कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढी, पहिरोजस्ता विपद्‌बाट चार महिनामा ५ सयको मृत्यु, ८४ जना बेपत्ता

विष्णु नेपाल/रासस

काठमाडौँ — विपद्का घटनाबाट मुलुकभर चार महिनाको अवधिमा ५ सयको मृत्यु भएको छ । त्यस्तै ८४ बेपत्ता र चार हजार बढी प्रभावित भइसके ।

बाढी, पहिरोजस्ता विपद्‌बाट चार महिनामा ५ सयको मृत्यु, ८४ जना बेपत्ता

गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७५ सालको वैशाखदेखि बिहीबारसम्म बाढी, पहिरो, चट्याङ, हुरीलगायतका विपद्बाट ती व्यक्तिको मृत्यु भएको हो । त्यसमध्ये वर्षात् पछिको बाढी र पहिरोले ८८ को मृत्यु भयो ।


मनसुन सुरुसँगै बाढी, पहिरो र हिउँदमा आगलागीका चपेटामा सर्वसाधारण पर्छन् । विपद् जोखिमका दृष्टिले नेपाल संवेदनशील देशमा पर्छ । नेपालले ज्वालामुखी र सुनामीबाहेकका विपद्सित वर्षेनी कुनै न कुनै रुपमा जुधिरहेको छ । सरकारले विपद् जोखिमलाई न्यूनीकरण गर्न गतवर्ष ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको ऐन २०७४’ जारी गरेको थियो । ऐनका प्रावधानअनुसार अहिले सबै स्थानीय निकायले स्थानीयस्तरमा विपद्लाई सम्बोधन गर्न धमाधम कार्ययोजना तयार गरी कार्यान्वनमा उतारिरहेका छन् । बुधबार मात्र सचिव पदमा बढुवा भएका गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपानेले प्राकृतिक विपद् तथा गैरप्राकृतिक घटनालाई न्यूनीकरण गर्न सामूहिक चेतना थप जगाउनुपर्ने आवश्यकता औंल्याउछन् ।


प्राकृतिक विपद्का रुपमा हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, भूस्खलन, डुबान, खडेरी, आँधी, हुरीबतास, शीतलहर, तातो हावा, चट्याङ, भूकम्प, डढेलो आदि छन् । गैरप्राकृतिक विपद्का रुपमा महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, हवाई, सडक तथा जल वा औद्योगिक दुर्घटनालाई लिइन्छ ।


महाशाखाका अनुसार प्राकृतिक विपद्का कारण वर्षेनी ९०० र गैरप्राकृतिक विपद्का घटनाका कारण दुई हजारभन्दा बढीको अकालमा मृत्यु हुने गर्दछ । उनी भन्छन्, 'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जनतालाई नै सचेतना जगाउनुपर्छ ।' ऐनको प्रावधानअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् समिति छ । गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति छ ।


प्रदेशस्तरमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला स्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय स्तरमा गाउँपालिका वा नगरपालिकाका प्रमुखको अध्यक्षतामा समिति गठन भई विपद् व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेका छन् । 'स्थानीय समुदायलाई नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सक्ने बनाउन कार्ययोजना बनाई नगरपालिकाले सहजीकरण गरिरहेका छ,' नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले भने । उनले तत्काल विपद् पछिका खोज, उद्धार र राहत कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्र सरकारले स्थानीय सरकारलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ भने ।


समुदायमा आधारित विपद् न्यूनीकरणमा छौं : कार्यकारी निर्देशक ढकाल


विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई मानवीय सेवाको संस्था नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सहयोग गरिराखेको छ । 'विपद्पूर्व तयारी, विपद् पछिका अवस्थालाई सम्बोधन गर्न समुदायमा आधारित भई नेपाल रेडक्रसले विभिन्न काम गरिरहेको छ,' रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले भने ।


मनसुन सक्रियसँगै प्राकृतिक प्रकोप, बाढी, पहिरो जोखिमलाई ध्यान दिँदै संस्थाले आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई समेत सक्रिय बनाएको छ । केन्द्रले विपद् प्रभावितलाई आपत्कालीन आवास, प्राथमिक उपचार, स्वास्थ्य, सरसफाइ र खानेपानी तत्काल उपलब्ध गराउन समन्वयको काम गर्दछ । हाल सातै प्रदेशको समुदायस्तरमा विपद्लाई सम्बोधन गर्न आवश्यक मानवीय सेवाका सबै सामग्री र स्वयंसेवकसहित ३६ हजार परिवारलाई एकै पटक उपलब्ध गराउनसक्ने गरी गैरखाद्य सामग्री तयारी अवस्थामा राखेको छ । कार्यकारी निर्देशक ढकालले भने, 'सम्भावित विपद्बाट जोगिन पूर्वतयारी, विपद्का समयमा खोज, उद्धार, राहत तथा संकटापन्न परिवारको जीवनस्तर माथि उठाउन मानवीय सेवा निरन्तर भइराखेको छ ।'


बाढी, पहिरो तथा अन्य प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट आउनेसक्ने क्षतिलाई न्यूनीकरण गर्न र तत्काल मानवीय सहयोग गर्न सोसाइटीले आफ्ना जिल्ला शाखालाई तम्तयार राखेको छ । विशेषगरी विसं २०७२ को भूकम्प, गतवर्ष तराई मधेशका केही जिल्लाका डुबानमा परेका परिवारलाई रेडक्रसले गरेका मानवीय सेवालाई नेपाल सरकार तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट उच्च सराहना भएको थियो । भूकम्प पीडितलाई आवास, खानेपानी, स्वास्थ्य, जीविकोपार्जनलगायतका क्षेत्रमा नेपाल रेडक्रसले सहयोग गरी राखेको छ ।

प्रकाशित : श्रावण २४, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?