अस्पतालमा भर्ना नपाउँदा मृत्यु

अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि पाँच दिनदेखि उपचार ठप्प छ ।
हरि गौतम

रुकुम पश्चिम — भेरी नगरपालिका–४, जाजरकोटका ४२ वर्षीय शेरबहादुर विकलाई दमको व्यथाले च्यापेपछि आफन्तले चौरजहारी अस्पताल ल्याए । चौरजहारी अस्पताल बन्द भएकाले उनलाई अस्पतालमा भर्ना गरिएन । आफन्त नेपालगञ्ज लैजाने खर्चको जोहोमा लागे, यहीबीच शेरबहादुरको मृत्यु भयो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, स्थित चौरजहारी अस्पताल । तस्बिर: हरि गौतम/कान्तिपुर ।  

अस्पतालमा उपचारको क्रममा एक विरामीको मृत्यु भएपछि उत्पन्न तनावले अस्पतालमा पाँच दिनदेखिविरामीले उपचार पाएका छैनन्।

Yamaha

अस्पताल प्रशासनले अस्पतालमा भर्ना लिन नसक्ने भन्दै शेरबहादुरलाई नेपालगञ्ज जान भनेको थियो। तर नेपालगञ्ज जाने मेसो मिलाइ नसक्दै उनको मृत्यु भयो। नेपालगन्ज जानका लागि रकमको व्यवस्था गर्दागर्दै उनको मृत्यु भएको आफन्तले जनाएका छन्।

‘नजिक अस्पताल भएर पनि अकालमै ज्यान गयो,’ उनका ज्वाँइ अमृत विकले भने, ‘अस्पतालको समस्याका कारण उहाँ जस्तै अरुले पनि ज्यान गुमाउनु नपर्ला भन्न सकिन्न।’ उनले तत्कालै समस्या समाधन गरेर सेवा सुचारु गर्न माग गरेका छन्।

अस्पतालमा समस्या भएपछि शेबहादुर जस्तै अन्य थुप्रै जटिल रोगका विरामी फर्काइएका छन्। पाँच दिनदेखि विरामीले उपचार पाएका छैनन्। अस्पतालको कामकाज पाँच दिनदेखि बन्द छ।
स्थानीयका अनुसार वर्षाका कारण सजिलै गाडी पाइदैनन्। अस्पताल भर्ना नभएपछि गाडी चढ्न जाजरकोट पुग्नुपर्छ। चौरजहारीबाट सोझै दाङ, नेपालगन्ज वा जिल्ला सदरमुकाम चल्ने सबै सडक अवरुद्ध छन्। अस्पतालमा देखिएको समस्या समाधान नहुँदा हरेक दिन दु:ख पाउनेहरुको संख्या बढै गैरहेको छ।
उपचारको क्रममा अस्पतालमै भेरी नगरपालिका–१३, कुदु जाजरकोटकी २९ वर्षीया यसोदा मल्ल आरसीको मृत्यु भएपछि अस्पतालमा तनाव सुरु भएको हो। उनी मृगौलाको संक्रमण भएर अस्पताल भर्ना भएकी थिइन्। स्वास्थ्यकर्मीको लापरबाहीको कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरे। २० र २१ गते अस्पताल र त्यस आसपासमा ठूलो प्रर्दशन भयो। अस्पतालका झ्याल, ढोका, मेसिन र औषधिमा क्षति पुग्यो। तोडफोड रोक्न प्रहरीले दुई दिनमा १० राउण्ड अश्रुग्याँस तथा चार राउण्ड हवाइ फायर गर्नुपरेको थियो।
आफन्तले आफ्नो माग सम्बोधन नभएको भन्दै शव समेत बुझ्न मानेका छैनन्। यसोदाको शव पाँच दिनदेखि आइसीयूमै छ। मंगबारको छलफलपछि जाजरकोट गएका मृतकका आफन्त फर्केर चौरजहारी पनि आएका छैनन्। उनीहरु नभै छलफल अघि बढ्न नसकेको हो। पीडित पक्ष र अस्पताल प्रशासन आ–आफ्नै अडानमा रहेका कारण समस्या समाधान हुन सकेको छैन। मंगबालर तीन पटक दुवै पक्षबीच भएको छलफल विना निश्कर्ष सकिएको थियो। त्यसयता छलफलै हुन सकेको छैन।
घटना छानविनका लागि छानविन समित बनाउने विषयमा दुवै पक्ष सहमत भएपनि क्षतिपूर्तिका विषयमा दुवै पक्षका फरक फरक धारणा छन्। पीडित पक्षले छानविन समिति पनि बनाउने र मृतकका बालबालिकाको पठनपाठनका लागि अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ। अस्पताल प्रशासनले भने छानविन समितिको प्रतिवेदन अनुसार अघि बढ्ने अडान कायमै राखेको छ।

पीडित तर्फका टीकाराम आरसीले मृतकका बालबच्चाको पठनपाठनका लागि अस्पतालले क्षतिपूर्ति नदिएसम्म छलफल नगर्ने बताए। अस्पताल प्रशासक डिलबहादुर गिरीले छानविन समिति बनाएर घटनाको छानविन गर्नुपर्ने बताए। छानविन समितिको प्रतिवेदन नआइ क्षतिपूर्तिको विषयमा सोच्नै नसकिने भनाई प्रशासक गिरीको छ।

प्रकाशित : श्रावण २४, २०७५ १७:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दुहुनो गाईभैंसीलाई दाना कि पोषिलो घाँस ?

रामेश्वरसिंह पाण्डे

काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी)ले २०७५ साउन १६ देखि लागू हुने गरी शुद्ध र गुणस्तरीय दूध उत्पादनको आधारमा दूध उत्पादक केही सहकारीलाई दिने अतिरिक्त रकम (इन्सेटिभ)को साटो 'डीडीसी ब्रान्डको दाना' उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रत्यक्षतः सहकारी र दूध उत्पादन गर्ने कृषकहरू दुबै खुसी र लाभान्वित देखिन्छन् । तर, पशुपालकहरूका लागि यो दीगो तथा लाभदायक निर्णय होइन । अन्तत्वगत्वा दूध उत्पादन व्यवसायलाई यसले दूरगामी प्रभाव पार्छ । जसबाट परनिर्भर बनाई प्रतिस्पर्धात्मक बजारलाई कमजोर तथा धाराशायी बनाउने छ ।

व्यावसायिक रूपमा पशुपालन गर्दा उत्पादन लागतको करिब ६०/७० प्रतिशत खर्च केवल पशु आहारामा मात्र हुने गर्दछ । पशुहरूको वंशाणुगत तथा वैयक्तिक क्षमताको आधारमा उत्पादन हुने दूधको मात्रामा कुनै कमी आउन नदिई पशु आहारामा गरिएको बचतले दूध उत्पादन व्यवयायको सफलता मापन गर्दछ । वास्तवमा पशु आहारामा गरिएको बचत नै दुग्ध उत्पादन व्यवसायको चोखो मुनाफा हो ।

अहिले नै नेपालका व्यावसायिक दूध उत्पादक कृषकहरूलाई लागत उठाउन कठिन परिरहेको अवस्था छ । बजार भाउको आधारमा दूध उत्पादन लागत बढी भएकोले धेरैजसो व्यावसायिक दूध उत्पादन गर्ने गाईभैँसी फार्महरू आर्थिक रूपमा नाफामा जान सकिरहेका छैनन् । व्यावसायिक दूध उत्पादक कृषकहरूले दुधालु गाईभैंसीहरूलाई पशुआहारामा दानामा अत्यधिक प्रयोग गरेको कारण नै दूध उत्पादन लागत बढेर नाफा घट्न गएको हो ।

नेपालमा दुग्ध उत्पादक कृषकरूले प्रायः गाईभैँसीहरूलाई सुखा आहारा (पराल, गहुँको छ्वाली) तथा दाना (धानको ढुटो, मकैको पिठो, चोकर, तथा पशु आहारा उद्योगमा तयार गरिएको दाना) आधाआधा भाग (बरोबर मात्रामा) खुवाउँछन् । एउटा वयस्क गाईभैँसीले एकदिनमा १२–१५ किलो यस्तो आहारा खान्छन् र दिनमा ८–१० लिटर दूध दिन्छन् । हरियो घाँसको मात्रा नगन्य वा अति थोरै हुन्छ, अपवादको रूपमा उपलब्ध भएको अवस्थामा कहिलेकाहीं स्थानीय घाँस तथा स्याउला पनि खान दिइन्छ । हालको बजार मूल्यको आधारमा पराल रु १५–२० प्रति किलो र दाना रु ४०–४५ प्रति किलो पर्दछ । बजार मूल्यको आधारमा गाईभैंसीले खाने पराल तथा दानाको मूल्य हिसाब गर्दा उत्पादित दूधको बिक्री मूल्य र आहारा खर्च उस्तैउस्तै पर्न जान्छ ।

घाँसेबालीहरू पशुहरूका लागि अति पोषिलो तथा किफायती आहारा हो । दूधको उत्पादन लागत घटाउन हरियो, पोषिलो घाँसमा आधारित पशुपालन व्यवसाय अपनाउनु पर्दछ । गाईभैंसीहरू घाँस खाने (उग्र्याउने) जनावर हुन् । उग्र्याउने जन्तुहरूको भूँडीमा चार पोका हुन्छ जसमा सूक्ष्म जीवाणुहरू पाइन्छन् । यी जीवाणुहरूले रेसादार घाँसपातलाई पचाएर पोषकतत्वमा परिणत गर्न सक्छन् । यसरी सबै खाले उग्र्याउने जन्तुहरूले घाँस तथा स्याउला खाएर जीवन निर्वाह गर्नुका साथै वंशवृद्धि तथा पशुजन्य उत्पादन दिन सक्छन् ।

हरियो पोषिलो अकोशे घाँसपातहरूमा अन्न वा दानामा भन्दा बढी प्रोटिन तथा पोषकतत्व पाइन्छन् । विभिन्न अध्ययनले हरियो घाँसपातहरू दानाको तुलनामा एक तिहाई सस्तो पर्दछ । अर्थात् दानामा आधारित दूध उत्पादन व्यवसायमा प्रतिलिटर दूधको उत्पादन लागत रु ३५–४० पर्न सक्छ भनें हरियो, पोषिलो घाँसमा आधारित दूध उत्पादन गर्दा रु २०–२५ प्रतिलिटर भन्दा बढी पर्न जाँदैन ।

अनि के कारणले घाँसमा आधारित दूध उत्पादन व्यवसाय फस्टाउन सकिरहको छैन त ? यसको मुख्य कारणहरूमा चेतना तथा प्रविधिको अभाव रहेको छ । सजिलै उपलब्ध हुने तथा ढुवानी गर्न सकिने भएकोले विशेषतः व्यावसायिक दूध उत्पादकहरूले दाना तथा परालमा आधारित पशुपालन गरेको पाइन्छ ।

नेपालमा करिब २५ लाख दुधालु गाईभैंसी छन् जसबाट वर्षेनी १९ लाख टन दूध उत्पादन हुने गर्दछ । दुधालु पशुहरूमा भैंसीको सङ्ख्या र दूध उत्पादन केही बढी छ । कुल उत्पादित दूधको करिब १५ प्रतिशतमात्र बजारीकरणका लागि विभिन्न प्रशोधन कारखानामा पुग्छ बाँकी गाउँघरमै खपत हुने अनुमान छ । दूध मूल्य श्रृंखलामा प्रत्यक्ष रूपमा करिब ५ लाख परिवार आबद्ध रहेको अनुमान छ ।

नेपालमा करिब १०५ वटा पशुपक्षी दाना उद्योगहरू सञ्चालित छन् र यी उद्योगहरूले दैनिक २५०० देखि ३००० टन विभिन्न प्रकारका दाना बनाउने गर्दछन् । कुल उत्पादित दानाको करिब ९५ प्रतिशत दाना कुखुराको दाना र बाँकी गाईभैंसीको (क्याटल फिड) र माछा आदिको दानाको बनाइन्छ । दाना बनाउन चाहिने विभिन्न खाद्यतत्वहरूमा मकै, भटामास, पीना, भिटामिन्स, खनिज लवण आदि हुन् । दानामा चाहिने मकैको लागि मात्रै वर्षेनी करिब २० अर्ब रुपैयाँ बाहिरिने गर्छ । एक अध्ययनअनुसार वर्षेनी खसीबाख्राले मात्र करिब ९ अर्बको मकै खान्छन् । उग्र्याउने पशुहरूलाई पोषिलो घाँस खुआएर पालेमा मात्र दूध उत्पादन नघटाई ठूलो धन राशि बचत गर्न सकिन्छ ।

त्यस्तै नेपालमा हाल करिब तीन हजार मध्यम तथा ठूलास्तरका व्यावसायिक गाईभैंसी फार्महरू दर्ता गरिएका छन् । जसमा १० देखि ३०० सम्म उन्नत जातका करिब ४५००० दुधालु गाईभैंसी पालिएका छन् । यस्ता व्यावसायिक फार्महरूमा ९० प्रतिशत जर्सी तथा होल्सटन र बाँकिमा मुर्रा जातका भैंसी पालिएका छन् । धेरैजसो यस्ता फार्महरूमा उन्नत जातका दुधालु पशुहरू भए तापनि हरियो घाँस खेतीका लागि यथेस्ट मात्रामा जग्गा व्यवस्था गरिएको पाइँदैन । हरियो घाँस खेतीको विस्तार भने हुँदै गएको छ । समुचित प्रविधि अभावले यथोचित मात्रामा उन्नत घाँसमा आधारित पशुपालन विकास हुन भने सकिरहेको छैन ।

घाँसमा आधारित पशुपालनका लागि बाह्रै महिना उपलब्ध हुनसक्ने चारथरिका हिउँदे, वर्षे, बहुवर्षे र डाले घाँस, कोसे तथा अकोसे घाँसेबालीहरू उचित मात्रामा लगाउनु पर्दछ । यसका लागि करिब १००० वर्गमिटर (२ रोपनी वा ३ कट्ठा) जग्गामा कोशे–अकोशे घाँसेबालीहरू लगाएमा एउटा १० लिटरसम्म दूध दिने गाई वा भैंसीलाई थप दाना नखुआइ किफायती दरमा प्रतिलिटर रु २०–२५ लिटरका दरले दूध उत्पादन गर्न सकिन्छ । तर, बढी उत्पादन दिने गाईभैंसीको दूध उत्पादन क्षमता दैनिक १० लिटरभन्दा बढी हुन्छ । त्यस्ता दूधालु पशुहरूलाई थप प्रति ३ लिटर दूधका लागि १ किलो सन्तुलित दाना दैनिक रूपमा खान दिनु पर्छ ।

दानामा आधारित दूध उत्पादन व्यवसायको साटो घाँसेबालीमा आधारित दूध उत्पादन व्यवसाय प्राकृतिक, दीगो तथा उत्पादन मूल्यमा बजार प्रतिस्पर्धी हुने भएकोले यसतर्फ लाग्नु उचित हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७५ १७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT