नेपाली दूतावास साउदीले १८ परिवारलाई क्षतिपूर्ति दिलायो

होम कार्की

काठमाडौँ — साउदी अरबमा सवारी दुर्घटनामा मृत्यु भएका १८ जनाका परिवारले झन्डै ७ करोड रुपैयाँ (२३ लाख ९९ हजार रियाल) ब्लडमनी पाएका छन् । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले पीडित परिवारका तर्फबाट अदालतमा मुद्दा लडेर ब्लडमनी (दिया रकम) दिलाएको हो ।

Yamaha

पीडित परिवारको नाममा आएको रकम दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । ब्लडमनी पाउनेहरुमा झापाका भीम भट्टराई, धनकुटाका भूपालदेव लिम्बू, तनहुँका चित्रबहादुर थापा, सप्तरीका देवेन्दप्रसाद राय, खोटाङका देवराज राई, गोरखाका एकप्रसाद लामिछाने, सिराहाका शिवकुमार यादव, जाल मोम्मद रैन, मो. मुजाहिद शेख, मो. जाहिर मन्सुर, कास्कीका राजुबहादुर कुँवर, ललितपुरका रमेश पुलामी, खोटाङका रामनाथ राई, सिराहाका सलिम मियाँ, खोटाङका सन्तोष खत्री र गुल्मीका जयबहादुर सुवेदी रहेका छन् । उनीहरुले ५ हजार रियाल देखि तीनलाख रियालसम्म ब्लडमनी पाएका छन् ।

‘साउदी अरबको प्रचलनअनुसार मृतकको धार्मिक आस्था र घटनामा निज (मृतक)को गल्तीको हिस्सासँग फैसला हुने रकम निर्भर रहने भएकोले फैसला भएको ब्लड मनी फरक फरक भएको हो,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दूतावासले गत आर्थिक वर्षमा २ सय ४९ जना मृतकका कानुनी हकदारले पाउने गरी ११ करोड ४३ लाख ३७ हजार रुपैयाँ ब्लडमनी पठाएको थियो ।

ब्लडमनी दाबी लाग्ने मुद्दामा पीडित परिवारका तर्फबाट दूतावास आफैले घटना भएको क्षेत्रको अदालतमा मुद्दा दायर गरी बहस पैरवी गर्दै आएको साउदीको लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपूतले बताए । मुद्दाको बहस पैरवी गर्दा दूतावासले पीडित पक्षसँग सेवाशुल्क लिने गरेका छैनन् । ‘गत आर्थिक वर्षमा ४१ जना मृतकका ब्लडमनीसम्बन्धी मुद्दा अदालती प्रक्रियामार्फत टंगो लगाएको छ । जसमध्ये १८ जनाको अदालतको फैसलाअनुसार ब्लडमनी सम्बन्धित पक्षबाट असुल गरी मृतकका कानुनी हकदारले पाउने गरी परराष्ट्र मन्त्रालय पठाएको छ,’ उनले भने ।

मुद्दा किनारा लगाउन राजधानी सहरबाट सयौं/हजारौं किमि टाढा रहेको घटना भएकै क्षेत्रका अदालतहरुमा गई मुद्दा चलाउनुपर्ने स्थिति छ । ‘यसको लागि तत् तत् स्थानका ट्राफिक प्रहरी, गर्भनर, अनुसन्धान विभागका निकायमा फलोअप गर्नुपर्ने हुनाले पनि मुद्दा मामिलाको विषयले लामो समय लिने गरेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण २४, २०७५ १९:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गथांमुग: मनाइयो

लीला श्रेष्ठ

भक्तपुर — नेवार समुदायले साउन कृष्ण चतुर्दशीका दिन बिहीबार धुमधामका साथ गथांमुग:(घण्टाकर्ण) पर्व मनाएका छन् ।

यस पर्वमा विशेष गरी घर/घरमा भूत पन्छाउने गरिन्छ। यस दिन बिहानै घर नजिकको महादेव मन्दिरबाट ल्याएको जलले अभिषेक गर्ने प्रचलन रहँदै आएको छ।
घर, परिवारलाई भूतप्रेतबाट मुक्त गर्न नेवार समुदायले घरघरबाट बौ वाय् ज्या (भूत पन्छाउने) गर्छन्। बौ वाय् ज्या मा काँचो माटोको सानो दहीको कटारोमा कर्कलो, धुस्वाँ, बौ स्वाँ, आरुको बोटको हाँगा सहितको छ्वाली बालेर छ्वास (दोबाटो) वा चौबाटोमा लगेर राखिन्छ।

गथांमुग: कै दिन घरको मूल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जन विश्वास छ। गथांमुग: को दिन फलाम वा तामाको औंठी लगाउने चलन छ।

टोल/टोलमा नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई साँझपख नजिक तथा खोलामा लगेर जलाइन्छ। त्यसपछि घर/घरबाट छ्वालीको चिराग बालेर छ्वास वा चौबाटोमा लगेर सेलाइने प्रचलन छ।

१४ औँ शताब्दीमा गोपाल राजवंशीमा गथांमुग: मनाएको उल्लेख भए अनुसार परापूर्वकालदेखि नै गथांमुग: पर्व मनाउन थालेको संस्कृतिकर्मी ओम द्यौभडेलले बताए। गथांमगु:का दिन वर्षौँदेखि दु:ख दिने राक्षसलाई समातेर दिनभर चोकमा उभ्याएर साँझपख खोलामा लगेर फालिएको सम्झनामा घण्टाकर्ण पर्व मनाउँदै आएको उनी बताउँछन्।

गथांमुग: पर्वलाई नेवार समुदायले वर्षको पहिलो चाडको रुपमा मनाउने प्रचलन छ। गथांमुग:को दिनदेखि देवी/देवताहरू धर्तीमा सिद्ध हुने भएकाले महादेवको परमभक्त राक्षस घण्टाकर्णलाई नदी नालामा सेलाएर घरपरिवारलाई भूतप्रेतबाट जोगाउने चाडको रुपमा मनाउने परम्परा रहेको उनले बताए।

तस्बिरहरुः इलिट जोशी/कान्तिपुर

प्रकाशित : श्रावण २४, २०७५ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT