नेपाली दूतावास साउदीले १८ परिवारलाई क्षतिपूर्ति दिलायो

होम कार्की

काठमाडौँ — साउदी अरबमा सवारी दुर्घटनामा मृत्यु भएका १८ जनाका परिवारले झन्डै ७ करोड रुपैयाँ (२३ लाख ९९ हजार रियाल) ब्लडमनी पाएका छन् । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले पीडित परिवारका तर्फबाट अदालतमा मुद्दा लडेर ब्लडमनी (दिया रकम) दिलाएको हो ।

नेपाली दूतावास साउदीले १८ परिवारलाई क्षतिपूर्ति दिलायो

पीडित परिवारको नाममा आएको रकम दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । ब्लडमनी पाउनेहरुमा झापाका भीम भट्टराई, धनकुटाका भूपालदेव लिम्बू, तनहुँका चित्रबहादुर थापा, सप्तरीका देवेन्दप्रसाद राय, खोटाङका देवराज राई, गोरखाका एकप्रसाद लामिछाने, सिराहाका शिवकुमार यादव, जाल मोम्मद रैन, मो. मुजाहिद शेख, मो. जाहिर मन्सुर, कास्कीका राजुबहादुर कुँवर, ललितपुरका रमेश पुलामी, खोटाङका रामनाथ राई, सिराहाका सलिम मियाँ, खोटाङका सन्तोष खत्री र गुल्मीका जयबहादुर सुवेदी रहेका छन् । उनीहरुले ५ हजार रियाल देखि तीनलाख रियालसम्म ब्लडमनी पाएका छन् ।


‘साउदी अरबको प्रचलनअनुसार मृतकको धार्मिक आस्था र घटनामा निज (मृतक)को गल्तीको हिस्सासँग फैसला हुने रकम निर्भर रहने भएकोले फैसला भएको ब्लड मनी फरक फरक भएको हो,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दूतावासले गत आर्थिक वर्षमा २ सय ४९ जना मृतकका कानुनी हकदारले पाउने गरी ११ करोड ४३ लाख ३७ हजार रुपैयाँ ब्लडमनी पठाएको थियो ।


ब्लडमनी दाबी लाग्ने मुद्दामा पीडित परिवारका तर्फबाट दूतावास आफैले घटना भएको क्षेत्रको अदालतमा मुद्दा दायर गरी बहस पैरवी गर्दै आएको साउदीको लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपूतले बताए । मुद्दाको बहस पैरवी गर्दा दूतावासले पीडित पक्षसँग सेवाशुल्क लिने गरेका छैनन् । ‘गत आर्थिक वर्षमा ४१ जना मृतकका ब्लडमनीसम्बन्धी मुद्दा अदालती प्रक्रियामार्फत टंगो लगाएको छ । जसमध्ये १८ जनाको अदालतको फैसलाअनुसार ब्लडमनी सम्बन्धित पक्षबाट असुल गरी मृतकका कानुनी हकदारले पाउने गरी परराष्ट्र मन्त्रालय पठाएको छ,’ उनले भने ।


मुद्दा किनारा लगाउन राजधानी सहरबाट सयौं/हजारौं किमि टाढा रहेको घटना भएकै क्षेत्रका अदालतहरुमा गई मुद्दा चलाउनुपर्ने स्थिति छ । ‘यसको लागि तत् तत् स्थानका ट्राफिक प्रहरी, गर्भनर, अनुसन्धान विभागका निकायमा फलोअप गर्नुपर्ने हुनाले पनि मुद्दा मामिलाको विषयले लामो समय लिने गरेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण २४, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?