‘इन्काउन्टर’ घटनामाथि छानबिन भइरहेको छ : गृहमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले पेप्सीकोला टाउन प्लानिङका बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई जनामाथि ‘इन्काउन्टर’ भएको घटनामाथि छानबिन भइरहेको बताएका छन् ।

‘इन्काउन्टर’ घटनामाथि छानबिन भइरहेको छ : गृहमन्त्री

संसद्को‍ राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले पक्राउ परिसकेका दुई अपहरणकारीलाई प्रहरीले किन ‘फेक इन्काउन्टर’ गरी हत्या गरेको भनी प्रश्न उठाएपछि मन्त्री थापाले उक्त जानकारी दिएका हुन् । ‘छानबिन सकिएपछि यही समितिमा जानकारी गराउनेछु,’ उनले भने ।


गृहमन्त्री थापाले छानबिन कसले, कसरी गरिरहेको छ भन्नेबारे भने केही खुलाएनन् । कांग्रेस सांसद देवेन्द्रराज कँडेलले ‘फेक’ इन्काउन्टर हो भन्ने सञ्चार माध्यममा समाचार आइरहेको उल्लेख गर्दै स्पष्ट पार्न गृहमन्त्रीसँग माग गरेका थिए । कँडेलले यस विषयमा प्रहरी महानिरीक्षकलाई समेत समितिको बैठकमा बोलाएर जवाफ माग्नुपर्ने बताए ।


‘इन्काउन्टर’ घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ

नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले बालकको अपहरण र हत्या घटनामा संग्लन गोपाल तामाङ र अजय तामाङ मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराएका छन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहसहितको टोलीले बिहीबार गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई दोहोरो मुठभेडमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अपहरणकारीको मृत्यु भएको दाबी गरेका थिए ।


गृह स्रोतका अनुसार एसएसपी सिंहले घटनाको पृष्ठभूमि उल्लेख गर्दै प्रहरीले गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताएका थिए । इन्डोनेसियाको बालीमा आयोजित ‘ मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेर बुधबार मात्रै फर्केका गृहमन्त्रीलाई एसएसपी सिंहले भेटेका हुन् । गृह स्रोतका अनुसार गृहमन्त्रीले घटनाको वस्तुस्थिति र अवस्थाबारे चासो राखेका थिए भने एसएसपी सिंहले गोली चलाउनैपर्ने अवस्था कसरी आयो भनेर तर्क राखेका थिए ।


अपहरणमा संग्लन दुईको मृत्यु प्रहरीसँगको मुठभेडमा भएको दाबी महाशाखाले गरे पनि अपहरणकारीको डेरा क्षेत्रका बासिन्दाले सादा पोसाकका प्रहरीले दुवैलाई समातेर लगेको बताइरहेका छन् । नगदेशका स्थानीयले प्रहरीले मृत बालक पुरेको जग छेउको खाडल पहिचान गरेपछि दुवैलाई डेराभित्रै थुनेर कुटेको र त्यसलगत्तै गाडीमा राखेर लगेको बताउँदै आएका छन् । बुधबार मात्रै मृतक दुई युवकका अभिभावकले घटनामाथि अनुसन्धान गर्न माग राख्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।


यो पनि पढ्नुहोस् ।

मुठभेड नै शंकास्पद !

प्रकाशित : श्रावण २४, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?