२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपालमा गुड्यो छुकछुके रेल

कान्तिपुर संवाददाता

जनकपुर — भारतको जयनगरदेखि नेपालको खजुरीसम्मको साढे ८ किमिमा बुधबार ब्रोडगेज रेल गुडेको छ । झन्डै पाँच वर्षपछि नेपाली भूमिमा पुन: रेल सञ्चालन गरिएको छ । भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति आयोजनाले परीक्षणका लागि रेल गुडाएको हो ।

नेपालमा गुड्यो छुकछुके रेल

दुवै देशका प्राविधिकले परीक्षण सफल भएको जनाएका छन् । भारतीय निर्माण कम्पनी इरकोनका साइट प्रमुख रवि सहाय तथा रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले परीक्षण सञ्चालन शतप्रतिशत सफल भएको बताए । ‘बिहान जयनगरबाट खजुरीसम्म रेल इन्जिन सञ्चालन गरियो । अपराह्न ५३ बैगन (माल तथा यात्रु बोक्ने बोगी) ब्लास्ट (रेल लिक निर्माणमा प्रयोग हुने गिट्टी) सहितको मालगाडी चलाइयो,’ इरकोनका साइट प्रमुख सहायले फोनमा भने ।


परीक्षण सञ्चालनकै क्रममा भारतबाट ५ हजार टन ब्लास्ट नेपाल ओसारिएको थियो । यसअघि रेल लिक, स्टेसन भवन, पुलपुलेसा लगायतमा प्रयोग हुने निर्माण सामग्री सडकबाटै ओसारिँदै आइएकामा अब रेल मार्गबाटै ल्याइने जानकारी उनले दिए । ‘वर्षाको मौसममा सडक हिलाम्य भएकाले निर्माण सामग्री ओसार्न कठिन भएको थियो । अब रेल मार्ग प्रयोग गर्दा सजिलो हुनेछ,’ सहायले भने ।


उनका अनुसार यात्रुहरूको सुरक्षालाई दृष्टिगत गरी पहिले इन्जिन तथा त्यसपछि मालवाहक रेल सञ्चालन गरिनेछ । ‘हाम्रो उद्देश्य सुरक्षित यात्रा हो । ५ हजार टन भारी बोकेको मालवाहक रेल गुड्ने लिकमा यसभन्दा झन्डै आधा भार भएको यात्रुवाहक रेल सञ्चालन गर्न झन् सुरक्षित हुन्छ,’ उनले भने ।


५ वर्षअघिसम्म भारतको जयनगरबाट महोत्तरीको बिजुलपुरासम्म (५२ किलोमिटर) नैरो गेज रेल सञ्चालन हुँदै आएको थियो । आयोजनाअन्तर्गत नैरो गेज (दुईदेखि अढाई फिट फराकिलो रेल लिक) विस्थापित गरी ब्रोडगेज (पाँचदेखि साढे पाँच फिट फराकिलो) लिकको स्तरोन्नति गरिँदै छ । ५२ किमिमा सञ्चालित जनकपुर रेलवेलाई विस्तार गरी ६९ किमिसम्म सञ्चालन गर्ने लक्ष्य छ ।


यस्तै झन्डै पाँच दशकसम्म कोइलाबाट सञ्चालित रेल गत तीन दशकदेखि डिजेलबाट सञ्चालन हुँदै आएको थियो । स्तरोन्नतिपछि पनि डिजेल इन्जिन नै सञ्चालन हुने भारतीय निर्माण कम्पनीका साइट प्रमुख सहायले जानकारी दिए । उनका अनुसार यो रेल डीइएमडब्लू (डिजल इलेक्ट्रिक मल्टिपल युनिट प्रणाली) अर्थात दुवैतर्फ इन्जिन भएको तथा डिजेल र इलेक्ट्रिक दुवै इन्धनका स्रोतबाट समेत सञ्चालन हुन सक्छ ।


भारत सरकारको ७ अर्ब बढी लगानीमा सञ्चालित जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत प्रस्तावित जयनगर–बर्दीवास ब्रोडगेज सञ्चालनमा आउन अझै दुई/तीन वर्ष लाग्ने भए पनि जनकपुर–कुर्थामा यसै वर्षको अक्टोबरसम्म सञ्चालन भइसक्ने दुवै देशका प्राविधिकहरूको दाबी छ ।


भारतीय निर्माण कम्पनी इरकोनका सिभिल अतिरिक्त म्यानेजर दीपककुमारले प्रस्तावित परियोजनाअन्तर्गत निर्माण हुने ब्रोडगेजमाथि सय किलोमिटर प्रतिघण्टाको दरले रेल कुदाउने तयारी भइरहेको जानकारी दिए । यसअघि जयनगर–जनकपुर–बिजुलपुरामा सञ्चालित नैरो गेजमा २० देखि २५ किमि प्रतिघण्टाको गतिमा रेल गुड्ने गरेको थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमि दूरी आधा घण्टामा पूरा हुनेछ । बर्दिबाससम्मको ६९ किमि एक घण्टामा पूरा हुने उनको दाबी छ ।


जयनगर–कुर्थासम्मको ३५ किलोमिटरको निर्माण ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका इन्जिनियर ओझाले बताए । उनका अनुसार ३५ किमिमध्ये ३२ किमिमा रेल ट्रयाक ओछ्याउने काम पूरा भइसकेको छ । स्टेसन भवन, आवास र पुललगायतको निर्माण कार्य पनि अन्तिम चरणमा छ । भारतबाट ल्याइएको विशेष मेसिनबाट ट्रयाक जोड्ने र बोल्डर सम्याउनेलगायत काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २५, २०७५ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?