नेपाली ऊर्जा बजारमा बंगलादेशको प्रवेश, समझदारीपत्रमा हस्ताक्षर  

विजय तिमल्सिना

काठमाडौँ — नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार हस्ताक्षर गरेका हुन् ।

उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार उर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै । तस्बिर : इलिट जोशी । कान्तिपुर ।


समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश छन्।

Yamaha


समझदारीमा हस्ताक्षरपछि बोल्दै बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशमा स्थायी सरकार रहेकाले दुवै देशबीचको ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गरे । उनले भारतहुँदैआफ्नाे देशमा ऊर्जा भित्र्याउन भारतीय पक्षसँग छलफल गर्ने बताए । 'आगामी बिमस्टेक बैठकमा बंगलादेशले यो बिषय राख्छ,' उनले भने ।

ऊर्जा मन्त्री वर्षमान पुनले दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने बताए । 'यसबारे आैपचारिक प्रस्ताव कुटनीतिक संयन्त्रमार्फत पठाइनेछ,' उनले भने । मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यको लागि पनि छलफल अघि बढाइने बताए ।

उर्जा समाझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो। यसअघि भारत र चीनले पनि यस्तै उर्जा सहकार्य सम्बन्धी सम्झौताहरु भइसकेको छ।

विद्युतको उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा विद्युत् आपूर्तिको विकल्प खोज्दै छ। बंगलादेशले विद्युत् भित्र्याउन भुटानमा पनि जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ।

नेपालमा आगामी केही वर्षभित्र उत्पादित विद्युत् बढी हुने अनुमान छ। स्वदेशी लगानीमा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उत्पादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ।

नेपालमा खपत भएर बाँकी भएको विद्युत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो।

बंगलादेश पक्ष र ऊर्जा मन्त्रालयबीच नेपालमा बंगलादेशले लगानी गर्न सक्ने सम्भावित जलविद्युत् आयोजनाको विषयमा पनि छलफल हुँदै आएको छ। नेपालका लागि बंगलादेशी राजदूत मासफी विन्टे सामले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीका लागि बंगलादेश तयार रहेको बताउँदै आएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पनि ऊर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो। यो सम्झौता अनुसारअनुसार नेपाल र चीनबीच पनि सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र रहेका छन्। प्रधानमन्त्री ओलीले असार पहिलो साता चीन भ्रमण गरेका थिए।

यसअघि नेपाल–भारतबीच यस्तो सहकार्य हुँदै आएको छ। नेपाल र भारतका ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त संयन्त्रले दुई देशको ऊर्जासम्बन्धी मुद्दा छलफल गर्दै आएको छ। नेपाल र बंगलादेशबीच सहकार्य समझदारीमा हस्ताक्षर गर्ने गरी लामो समयदेखि तयारी भइरहेको थियो। नेपाल र बंगलादेशबीच यसबारे पटकपटक छलफल हुँदै आएको थियो।

बंगलादेशले आफूलाई अपुग विद्युत् भारतसँग पनि खरिद गर्दै आएको छ। भारतसँग बंगलादेशले ६ सय मेगावाट बढी विद्युत् खरिद गर्दै आएको छ। बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग भारतीय कम्पनीले नेपालमा निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणको जिम्मा पाएको छ। समझदारीअनुसार माथिल्लो कर्णालीबाट उत्पादित ३ सयदेखि ५ सय मेगावाटसम्म विद्युत् बंगलादेशले खरिद गर्नेछ।

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख थियो।

बंगलादेशले निर्माण गर्ने गरी १ हजार १ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो आयोजना प्रस्ताव गरिएको थियो। दुवै आयोजना बंगलादेशले निर्माण गरी उत्पादित विद्युत् बंगलादेश लैजाने गरी सहमतिमा हस्ताक्षर भएको थियो।

तत्कालीन वाणिज्यमन्त्री रोमी गौचन थकाली र बंगलादेशी समकक्षी तोफेल अहमदले सहमतिमा हस्ताक्षर गरेका थिए। तर, सम्झौतापछि उक्त अवधारणामा कुनै प्रगति भएको छैन।

नेपालसहित भारत, भुटान, बंगलादेश सम्मिलित उपक्षेत्रीय बीबीआईएन बैठकमा समेत बंगलादेशले नेपालबाट भारत हुँदै आफ्नो देशमा विद्युत् भित्र्याउन चाहेको मुद्दा उठाउँदै आएको छ।

विद्युतको माग र आपूर्तिबीचको असन्तुलन बंगलादेशको समस्या रहँदै आएको छ। तथ्यांकअनुसार सन् २०१६ सम्ममा बंगलादेशका कुल परिवारमध्ये ७६ प्रतिशतकहाँ मात्रै विद्युत् सुविधा पुगेको छ। यसलाई सन् २०२१ सम्ममा ९८ प्रतिशत पुर्‍याउने बंगलादेश सरकारको लक्ष्य छ।

प्रकाशित : श्रावण २५, २०७५ १३:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'फेक इन्काउन्टर' हल्ला मात्रै हो, निसान हत्यामा संलग्न मुठभेठमै मारिएका हुन्ः गृहमन्त्री

कान्तिपुर संवाददाता

चितवन — भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । बिहीबार चितवन पुगेका गृहमन्त्री थापाले 'फेक इन्काउन्टर' भनेर चलाइएको 'हल्ला', हल्ला मात्रै भएको बताए । गृह मन्त्रालयमा प्राप्त सूचना अनुसार उक्त घटना मुठभेडबाटै भएको उनको दाबी छ । उनले भने, 'फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।'

तस्बिरः रासस

राजधानीमा गत आइतबार पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो ।

अपहरणकारीले गत आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेका थिए । सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो ।

यस्तै गृहमन्त्री थापाले सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको बताए । अपराध कम भएको र दोषी पनि तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको जानकारी गराए ।

प्रकाशित : श्रावण २५, २०७५ १२:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT