कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नूरप्रसादको घरमा म्याद तामेल   

कान्तिपुर संवाददाता

गोरखा — कृष्णप्रसाद अधिकारी हत्यामा जाहेरी दिएका नूरप्रसाद अधिकारीको गण्डकी गाउँपालिका–३ फुजेल चमती गाउँको घरमा म्याद तामेल गरिएको छ ।

नूरप्रसादको घरमा म्याद तामेल   

चितवन जिल्ला अदालतले जाहेरीवाला नूरप्रसादलाई आगामी भदौ ४ मा वकपत्रका लागि आउन आग्रह गरेको म्याद तामेलीपत्र बुधबार घरमा टाँसिएको हो । म्याद टाँस्न गोरखा अदालतका तामेलदार फुजेल पुगेका थिए ।

‘बुधबार मान्छे नभेटिएपछि घरमा म्याद तामेल गर्‍यौं,’ जिल्ला अदालतका स्रेस्तेदार गोविन्द आचार्यले शुक्रबार भने, ‘चितवन अदालतबाट भदौ ४ गतेअघि नै म्याद तामेल गर्नु भन्ने थियो ।’ सामान्यतया म्याद तामेल सम्बन्धित व्यक्ति, सम्बन्धित व्यक्ति नभेटे उनका परिवारलाई दिने, परिवार पनि नभेटे घरमा टाँस गर्ने र घर पनि नभए सार्वजनिक स्थानमा टाँस्ने प्रक्रिया छ ।

सम्बन्धित व्यक्ति र एकाघरका मान्छे नभेटिएपछि घरको दैलोमा म्याद तामेल गरिएको हो । गोरखा जिल्ला अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापा फुजेलस्थित अधिकारीको घर पुगेर वडाध्यक्ष नवराज श्रेष्ठलगायत स्थानीयको रोहवरमा म्याद तामेल गरिएको उनले बताए ।

म्याद तामेलीको पत्र एक प्रति घरमा टाँसिएको, एक प्रति वडाध्यक्षलाई दिइएको र एक प्रति चितवन जिल्ला अदालतमा पठाइएको छ । २०६१ सालमा छोरा कृष्णप्रसादको हत्या भएपछि नन्दप्रसाद र गंगामाया अधिकारीले २०६४ मंसिरमा गाउँ छाडेका थिए । छोराको हत्या गर्नेलाई कारबाहीको माग गर्दै अनशन बसेका नन्दप्रसादको मृत्यु भइसकेको छ ।

सरकारसँगको सहमतिपछि गंगामायाले हालैमात्र लामो अनशन तोडेकी छन् । बेपत्ता रहेका अर्का छोरा नूरप्रसादलाई प्रहरीले खोजी गरेर गंगामायासँग राजधानीमा भेट गराएको छ । ११ वर्षयता अधिकारी परिवार नफर्किएकाले घर र गोठ जीर्ण छन् । आँगनमा झार उम्रिएको छ ।

प्रकाशित : श्रावण २५, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?