नारायणगढ–मुग्लिन कालोपत्रे सकियाे

रमेशकुमार पौडेल

चितवन — कालोपत्रे पुरा भएसँगै नारायणगढ मुग्लिन सडक विस्तारको काम लगभग सकिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार शुक्रबारदेखि कालोपत्रेको काम सकिएको हो ।

नारायणगढ–मुग्लिन कालोपत्रे सकियाे

कालोपत्रे सकिएसँगै आयोजनाको काम ९८ दशमलव तीन प्रतिशत पूरा भएको इन्जिनियर खनालले जानकारी दिए ।

‘अब सडक सुरक्षाका केही कामहरु मात्रै बाँकी छन् । यो पनि पुरा भएपछि एक प्रतिशत काम मात्रै बाँकी रहन्छ । जुन आकस्मिक रुपमा समस्या आउँदा ठेकेदारले गर्नु पर्ने कामहरु हुन् । त्यो एक वर्षपछि मात्रै पुरा हुन्छ । काम अब सकियो भन्दा फरक पर्दैन’ खनालले भने । सन् २०१५ को अप्रिल अर्थात ७२ सालको वैशाखमा दुई वर्षभित्र काम सक्ने सर्तमा ठेक्का सम्झौता भएको थियो ।

काम सुरु नहुँदै भूकम्प आयो । सूचना अधिकारी खनाल ०७२ साल असारको दोस्रो साताबाट निर्माणको काम सुरु भएको बताउँछन् । त्यसपछि मधेस आन्दोलन, नाकाबन्दी र इन्धन संकटले समस्या थप्यो ।

‘०७२ सालभरी जम्मा नौ प्रतिशत मात्रै काम भएको थियो’ सूचना अधिकारी खनालले भने । समयमा काम नसकिएपछि पटक पटक म्याद थप भएको थियो । खनालका अनुसार पाँच पटक म्याद थप भएको छ । यो सडक राजधानी काठमाडौंको जिवन रेखा (लाइफ लाइन) हो ।

विस २०३६ सालमा नारायणगढ गोरखा सडकका रुपमा निर्माण भएको यो सडक साढे पाँच मिटर मात्रै चौडा थियो । कुल ३६ किलो मिटर लम्बाइको सडकको ३३ दशमलव दुई किलो मिटरमा विस्तारको काम भएको थियो । सडकलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन नौदेखि ११ मिटर चौडा बनाइएको छ ।

विश्व बैंकको सहयोगमा विस्तारको काम भएको हो । सुरुवाती लागत अनुमान दुई अर्ब ९० करोड रहेको विस्तारको काममा सम्पन्न हुँदा तीन अर्ब २८ करोड रुपैयाँ खर्च भएको खनालले जानकारी दिए ।

राजधानीलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने यो सडक खण्डमा दिनमा १० हजार गाडी गुड्छन् । विस्तारको काम सुरु भएसँगै जाम र पहिरोको समस्याले धेरैलाई पिरोलेको थियो ।

सवै ठाउँमा कालोपत्रे भएसँगै अहिले ३५ देखि ४५ मिनेटभित्र यो सडक पार गर्न सकिन्छ । तर पहिरोको पिरलो कायमै छ । विस्तारका लागि पहाड काटेको ठाउँमा अहिले पनि पहिरो गएर १२ घण्टासम्म गाडी रोकिएको छ । गतवर्ष लगातार ४३ घण्टा बाटो बन्द भएको थियो । अहिले ६ ठाउँमा पहिरोको समस्या छ । त्यस्तै दुई ठाउँमा सडक भाँसिएको छ ।

‘समस्याको निराकरणका सम्बन्धमा वर्षापछि अध्ययन हुन्छ । अध्ययनले जे निक्र्यौल गर्छ त्यही अनुसारका नियन्त्रणका कामहरु हुन्छन् । अहिलेलाई अब अरु ठुला काम गर्न सक्ने अवस्था भने छैन’ सुचना अधिकारी खनालले भने । सडक चिल्लो र फराकिलो भए पनि जिर्ण पुलहरु अझै पनि छन् । १८ वटा पुल जिर्ण भए पनि हाल चारवटा पुल मात्रै नयाँ बनाइदै छ ।


नारायणगढ मुग्लिन सडकको आँपटारीमा कालोपत्रे हुँदै । विस्तारको काम भइरहेको यो सडकमा शुक्रबारदेखि कालोपत्रेको काम पुरा भएको छ । तस्बिर : रमेशकुमार पौडेल । कान्तिपुर

प्रकाशित : श्रावण २५, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?