३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बर्खामा भारतकै भर

बर्खा लागेपछि मोहनपुरका स्थानीय कैयौं पटक बस्तीमै थुनिन पुग्छन् । बस्तीमै थुनिएर अलपत्र परेका बेला भारतीय सुरक्षाकर्मीले उद्धार गरी ज्यान बचाएका घटनासमेत छन् । 
मोहन बुढाऐर

मोहनपुर (कैलाली) — उनीहरू नेपाली हुन्, भूमि पनि नेपालकै हो । तर, बर्खामा वरिपरि नदी बगेपछि पूर्ण रूपमा भारतमा निर्भर हुन्छन् । बर्खा लागेपछि नेपालतिरको सम्बन्ध टुट्छ, पारि जोडिन्छ । बर्खामा नदी उर्लिंदा तर्ने पुल छैन । त्यसैले दैनिक भारतकै भर पर्नुपर्ने बाध्यता छ ।

बर्खामा भारतकै भर

बर्खा लागेपछि कैलारी गाउँपालिका ३ मोहनपुरका स्थानीय कैयौं पटक बस्तीमै थुनिन पुग्छन् । कतिपय अवस्थामा भारतको दुदुवा नेसनल पार्कमा बास बिताउन बाध्य हुन्छन् । बस्तीमै थुनिएर अलपत्र परेका बेला भारतीय सुरक्षाकर्मीले उद्धार गरी ज्यान बचाएका घटनासमेत छन् ।

तीनतिरबाट मोहना नदीले घेरिएको मोहनपुर बस्ती भारतको दुदुवा नेसनल पार्कसँग सटेको छ । उनीहरू घाँस–दाउरा गर्न मात्र होइन, दैनिक उपभोग्य वस्तु किनमेलका लागि समेत भारतीय बजारमै निर्भर छन् । यहाँ आदिवासी थारू समुदायभित्रका पनि पूर्वकमैयाका ८१ परिवारको बसोबास छ ।

वर्षायाममा बाढीले मोहना उर्लिएपछि आफ्नै गाउँपालिका आउजाउ गर्ने बाटो पनि छेकिन पुग्छ । तीन तिरबाट नदीले घेरिएकाले मोहनपुरबाट स्वदेशी बजार पुग्न सकिने अवस्था छैन । भारतीय बजार चन्दनचौकी पुगेर दैनिक उपभोग्य वस्तु खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए ।

नदीले घेरिएकाले सितिमिति नयाँ मानिस बस्तीमा पुग्दैनन् । यहाँका बासिन्दा पनि बर्खामा नाकाबन्दीको अवस्था सामना गर्न बाध्य छन् । ‘नेपालतिरभन्दा काम र रासनपानीका लागि सुरुदेखि भारतसँग सम्बन्ध रहन पुग्यो,’ भलमन्सा भागिराम चौधरी भन्छन्, ‘बर्खाको समयमा मोहना नदीको बाढीले नेपालतिर उसै पनि आउन सकिने अवस्था छैन । डुंगाको यात्रा पनि निकै जोखिमपूर्ण हुन्छ ।’

गाउँका पाका सेन्धु चौधरीले ०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा यहाँका कमैया परिवार पहिलो पटक मतदाता बनेको बताए । ‘तत्कालीन हसुलिया गाउँ विकास समितिको वडा नम्बर ४ अन्तर्गत यो गाउँ परेको थियो,’ उनी भन्छन्, ‘पहिलो पटक वडाध्यक्ष उम्मेदवार ‘भोट बैंक’ बनाउन सरकारी कर्मचारी लिएर मतदाता नामावली संकलन गर्न आएका थिए । त्यसको केही समयपछि भएको निर्वाचनमा यहाँका करिब ५०/६० जनाले भोट हाल्यौं ।’ उनका अनुसार धेरैको नागरिकता पनि त्यसपछि बनेको हो । उनी नेताहरूले यो ठाउँलाई अहिलेसम्म पनि भोट बैंकका रूपमा मात्र प्रयोग गरिरहेको र गाउँमा विकास निर्माणले गति नलिएको बताउँछन् ।

स्थानीय शिक्षिका विनिता चौधरीले पनि यो गाउँ नेताको भोट बैंकका रूपमा मात्र रहेको बताइन् । ‘गाउँमा राज्यको विकासको पूर्वाधारका नाममा एउटा प्राथमिक विद्यालयबाहेक अरू केही छैन,’ उनी भन्छिन्, ‘स्थानीयले न्यूनतम मानवीय सुविधासमेत पाउन सकेका छैनन् ।’ उनका अनुसार भोटको लोभमा तत्कालीन नेताले बस्तीमा २०५२ सालतिर एउटा प्राथमिक विद्यालयको कोठा बनाइदिएका थिए । अहिले पनि आधारभूत विद्यालय मात्र छ, त्योभन्दा माथिको कक्षा अध्ययन गर्नका लागि उस्तै सकस छ ।

उनले बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा पोस्ट केही नभएको यो गाउँ अन्धकारमा रहेको बताइन् । ‘यहाँका बासिन्दालाई हामी नेपाली हौं भन्ने थाहा भइसकेको छ,’ शिक्षिका चौधरीले भनिन्, ‘सरकारले सरकारी सुविधा उपलब्ध गराएर त्यसको अनुभूति दिलाओस् ।’

उनले बल्ल अहिले बिजुलीका पोल तानिन लागेको सुनाइन् । ‘बत्ती कहिले बल्ने हो, थाहा छैन,’ उनले भनिन्, ‘तीनतिरबाट नदीले घेरेकाले वारपार गर्न झोलुंगे पुल बन्ना कि भनेर पर्खिरहेका छौं ।’ उनले रात–बिरात गाउँमा कोही बिरामी हुँदा उपचारका लागि पारि भारत नै लानुपर्ने बाध्यता रहेको बताइन् । कैलालीको नेपाल–भारतको सीमा नदी भएर बग्ने मोहनाले नागबेलीझैं तीनतिर घुमेर नेपालको भूमिलाई अलग्याएको छ ।

स्थानीयले दुदुवा नेसनल पार्कको छेउको जंगलबाट घाँस, दाउरा लिन र बाख्रा चराउने सुविधा पाएका छन् । सुविधा पाएकाले उनीहरू राजीखुसी वर्षमा एक दिन माघी पर्वमा निकुञ्जभित्रको चन्दन चौकी वन पोस्टमा ५/५ केजी चामल र हल्दी (बेसार) बुझाउने गर्छन् ।

‘दुदुवाका वनपाले र सीमा सुरक्षा बल (एसएसबी) कै सुरक्षामा स्थानीयवासी जीवन गुजारिरहेका छन् भन्दा अन्यथा नहोला,’ त्यस क्षेत्रका कांग्रेस नेता रामसमज चौधरी भन्छन्, ‘नेपालसँगको साइनो भनेको सरकारी कामकाजका लागि मात्रै छ ।’

दुदुवाबाट हात्तीको लस्कर बस्तीमा पस्दा भगाउन भारतीय वनकर्मीलाई गुहार लगाउनुपर्छ । ‘बर्खामा बाढी गाउँ पस्दा ज्यान जोगाउन दुदुवाकै जंगलभित्र पस्छौं । यस्ता धेरै बर्खा भोगिसक्यौं,’ गाउँका भलमन्सा भागिराम चौधरी भन्छन्, ‘आफ्नै देशका सुरक्षाकर्मी उद्धार गर्न आउँदैनन् । बरु एसएसबीले उद्धार गरिदिँदा ज्यान जोगिन्छ ।’

सामान्य किनमेलका लागि पनि दुदुवाको जंगल भएर स्थानीय भारतको सीमावर्ती चन्दन चौकी बजार धाउँछन् । रोजगारी र रासनपानीका लागि उनीहरूको दिनहुँ सम्बन्ध जोडिने बजार चन्दन चौकी नै हो । शिक्षक राजेश चौधरी भन्छन्, ‘त्यसैले दुदुवाका वनपाले र एसएसबीसँग मिलेर बस्नुको विकल्प छैन । सुखदु:खका साथी नै उनीहरू हुन् ।’


नेपालको भूगोल पारिको कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ मा पर्ने मोहनपुरको पूर्वकमैयाहरूको एकान्त बस्ती । तस्बिर : मोहन बुढाऐर

प्रकाशित : श्रावण २५, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?