१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दान दिएरै ढल्कियो उमेर

प्रकाश बराल

बागलुङ — उमेरले ६२ वर्ष पुगिसके तर उनको जोश–जाँगर तन्नेरीझैं छ । काम नगरी एकैछिन बस्दैनन् । बिहान–बेलुकी मजदुरी गर्छन्, दिउँसो जागिर । जीवनभर सरकारी जागिर खाए । उमेर हदले अवकाश पाएपछि पनि त्यही‌ँ करारमा काम गरिरहेका छन् । मजदुरी गर्न पनि छाडेका छैनन् ।

दान दिएरै ढल्कियो उमेर

उनले यति धेरै दु:ख गरेको पैसा कमाएर परिवार पाल्न र छोराछोरी पढाउन भने होइन । जीवनभर कमाएको पैसा जोगाएर राखेका पनि छैनन् । जति कमाउँछन्, सबै अरुकै लागि खर्चिन्छन् । दान दिएरै उनको उमेर ढल्किएको छ ।

जैमिनी नगरपालिका– ७, जैदीका होमबहादुर कँडेल बिहान ५ बजेदेखि नै घाँस–दाउरा, खनजोत र भारी खेप्ने काममा खटिन्छन् । त्यसबापत कसैले पैसा दिए हात थाप्छन्, नदिए माग्दैनन् । कमाएको सबै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा खर्च गर्छन् ।

जैमिनी नगरपालिका– ७, जैदीका होमबहादुर कँडेल बिहान ५ बजेदेखि नै घाँस–दाउरा, खनजोत र भारी खेप्ने काममा खटिन्छन् । त्यसबापत कसैले पैसा दिए हात थाप्छन्, नदिए माग्दैनन् । धेरैले उनलाई खाना खुवाउँछन् । कमाएको सबै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा खर्च गर्छन् ।

पुख्र्यौली थलो काठेखोला ३, धम्जा भए पनि सानैदेखि जैदीमा बसेका कँडेलको आफ्नो परिवार छैन । त्यसैले होला, गाउँका सबैलाई आफन्त ठान्छन् ।

संस्कृत मावि बेलबगरमा ४० वर्ष सहयोगी भएर काम गरेका उनले तलब कहिल्यै आफ्ना लागि खर्चेनन् । सबैजसो रकम आफ्नै स्कुल, छिमेकी स्कुल, क्लब र सामाजिक संस्थालाई दान दिए । आफू भने बिहान–बेलुकी जसको घरमा काम गरे, त्यहीं दिएको खाना खाए । गाउँलेले दिएको कपडा लगाएर हिँडे । गाउँलेले एकपटक लगाएका कपडा दिएपछि वर्षभरि किन्नु नपर्ने उनी बताउँछन् ।

आफ्नै स्कुललाई उच्चमावि र स्नातक तह सञ्चालन गर्ने अभियानका लागि ५ लाख रुपैयाँ र अन्य कामसमेत गरी १२ लाख रुपैयाँ सहयोग गरे । छिस्ती, अर्जेवा, बिनामारे, जैदी र धुल्लुबास्कोटलगायत दर्जनौं विद्यालयमा उनले पटक–पटक गरी करिब १५ लाख रुपैयाँ दान दिए । सानोतिनो दान दिएको हिसाबकिताब राखेका छैनन् । ‘तलब पाएको दिन कसलाई सहयोग गरौं भन्ने लाग्छ, कसलाई बढी खाँचो छ भनेर खोजी गर्छु,’ उनले भने, ‘आफ्नालागि कपडा, दाल–चामल किन्न पनि पर्दैन । पैसा जोगाएर के गर्ने ? दान गरे काम लाग्छ ।’

दुई दशकदेखि नगद खर्चेर आफ्नालागि केही किन्नु नपरेको उनले बताए । ‘भोको पेट बस्नुपरेको छैन, कसैको कुभलो चिताउनुपरेको छैन,’ उनले भने, ‘जोगाएर केही गरुँला भन्ने नभएकाले स्कुलहरूलाई सहयोग गर्न पाउँदा आनन्द लाग्छ ।’

उनले गाउँमा सरसफाइ अभियानमा पनि योगदान दिएको विद्यालयका पूर्वप्रधानाध्यापक तथा जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले बताए । ‘काममा इमानदार, कसैको बिगार नगरेकाले उहाँलाई बालबालिकादेखि वृद्धसम्म सबैले चिन्छन्, सम्मान गर्छन्,’ पौडेलले भने, ‘उहाँको व्यक्तित्व फरक प्रकारको छ ।’

आफ्ना लागि केही चाहिँदैन भनेपछि मानिस मनको धनी हुने स्थानीय तमसम रानाले बताए । ‘हामीलाई के गरी धेरै कमाइ होला भन्ने छ,’ उनले भने, ‘उनी भएको दान गर्छन् तर पनि खान–लाउन पुगेकै छ ।’

कँडेलको सहयोगी मन देखेर धेरै संस्थाले सम्मान पनि गरेका छन् । सम्मान गर्न बोलाएका ठाउँमा उनी सबैले आफ्नो कर्तव्य सम्झेर काम गर्ने र कमाइको केही पैसा दान गर्ने वा शिक्षालाई सहयोग गर्दा देशलाई जापान र युरोप बनाउन सकिने बताउँछन् । ‘सबैले कामलाई सम्मान गर्ने र फजुल खर्च जोगाए १० वर्षमा नेपालाई जापान जस्तै बनाउन सकिन्छ,’ उनले भने, ‘सबै घरले कृषि उत्पादनमा जोड दिए विदेशबाट केही ल्याउनु पनि पर्दैन ।’

प्रकाशित : श्रावण २५, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?