आफन्तैले दिँदैनन् रगत

रगत दिँदा शरीर कमजोर हुने गलत सोचाइले बिरामीका आफन्त रक्तदानबाट पन्छिँदै 
दीपक परियार

लेखनाथ — रगत चाहिएर पुगेका बिरामीका आफन्तको पोखराको रक्तसञ्चार केन्द्रमा बेलाबेला भीड हुन्छ । केन्द्रको खाताबाट पाइएको रक्तदाताका नम्बरका फोन गरेर उनीहरू खाँचो परेको सुनाइरहेका हुन्छन् । अधिकांश समय केन्द्रमा रगत अभाव हुन्छ । 

विशेषगरी दसैं, तिहारजस्ता चाडपर्वको समयमा रगत मौज्दात हुँदैन। रक्तदान कार्यक्रमको भरमा माग धानिरहेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रलाई रगत पुर्‍याउन हम्मे हुन्छ। बिरामीका आफन्तले रगत दिन चासो नदेखाउँदा अभाव हुने गरेको हो।

Yamaha

विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमबाट केन्द्रमा रगतको जोहो हुन्छ। सर्वसाधारणमा रक्तदानप्रति सचेतना बढे पनि बिरामीकै आफन्त भने रक्तदान गर्न आनाकानी गर्छन्। कार्यालयका निर्देशक ध्रुवमणि लामिछानेका अनुसार आºनै रगत दिने बिरामीका आफन्त मुस्किलले वर्षमा १० जना मात्रै हुन्छन्। उनी रक्तदानप्रति आममानिसमा गलत धारणा अझै कायम भएको उदाहरणको रूपमा यसलाई लिन्छन्। ‘सिकिस्त बिरामी लिएर ४/५ जनासम्म आफन्त अस्पताल आउँछन्,’ उनी भन्छन्, ‘रगत चाहियो भनेर दिन कोही तम्सिँदैनन्।’

रगत दिँदा शरीर कमजोर हुने गलत सोचाइले बिरामीको आफन्त रक्तदानबाट पन्छिन खोज्ने उनको अनुभव छ। ‘रगत दिने जिम्मा ब्लड बैंकको मात्रै हो भन्ने आमधारणा छ ,’ उनले भने। बिरामीका आफन्तले रगत दिने हो भने कुनै पनि बेला रगत अभाव नहुने उनी बताउँछन्।

स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी बिरामीका आफन्तले रगत नदिनुमा पर्याप्त जनचेतनाको अभावलाई कारण मान्छन्। उनले भने, ‘बिरामीका आफन्तमा ब्लड बैंकले रगत खोजिदिन्छ, हामीले किन दिने भन्ने खालको मानसिकता छ।’ सरकारले व्यवस्थापन गर्न जाने कहिल्यै रगतको अभाव नहुने उनको तर्क छ। ‘आफन्तले रगत नदिनु व्यवस्थापनको कमजोरी हो,’ उनले भने।
ब्लड बैंकका अनुसार कास्कीमा आर्थिक ०७३/७४ मा १२ हजार ८ सय ९९ ले रक्तदान गरेका थिए।

गत आर्थिक वर्षमा उक्त संख्या १३ हजार ७ सय पुग्यो। वर्षमा ८ सय मात्रै रक्तदाता बढ्नु सन्तोषजनक नभएको निर्देशक लामिछाने बताउँछन्। पोखरामा औसतमा ४० युनिट रगत दैनिक खपत हुन्छ। ब्लड बैंकमा हाल ‘ए’ र ‘बी’ समूहको रगत अभाव छ। ‘ओ’ र ‘एबी पोजिटिभ’ रगत भने पर्याप्त छ।

प्रकाशित : श्रावण २५, २०७५ १९:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दान दिएरै ढल्कियो उमेर

प्रकाश बराल

बागलुङ — उमेरले ६२ वर्ष पुगिसके तर उनको जोश–जाँगर तन्नेरीझैं छ । काम नगरी एकैछिन बस्दैनन् । बिहान–बेलुकी मजदुरी गर्छन्, दिउँसो जागिर । जीवनभर सरकारी जागिर खाए । उमेर हदले अवकाश पाएपछि पनि त्यही‌ँ करारमा काम गरिरहेका छन् । मजदुरी गर्न पनि छाडेका छैनन् ।

बागलुङको जैमिनी ७ का होमबहादुर कँडेल । उनले जीवनभरको कमाइ सामाजिक क्षेत्रमा दान दिएका छन् । तस्बिर : प्रकाश बराल । कान्तिपुर

उनले यति धेरै दु:ख गरेको पैसा कमाएर परिवार पाल्न र छोराछोरी पढाउन भने होइन। जीवनभर कमाएको पैसा जोगाएर राखेका पनि छैनन्। जति कमाउँछन्, सबै अरुकै लागि खर्चिन्छन्। दान दिएरै उनको उमेर ढल्किएको छ।

जैमिनी नगरपालिका– ७, जैदीका होमबहादुर कँडेल बिहान ५ बजेदेखि नै घाँस–दाउरा, खनजोत र भारी खेप्ने काममा खटिन्छन्। त्यसबापत कसैले पैसा दिए हात थाप्छन्, नदिए माग्दैनन्। कमाएको सबै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा खर्च गर्छन्।
जैमिनी नगरपालिका– ७, जैदीका होमबहादुर कँडेल बिहान ५ बजेदेखि नै घाँस–दाउरा, खनजोत र भारी खेप्ने काममा खटिन्छन्। त्यसबापत कसैले पैसा दिए हात थाप्छन्, नदिए माग्दैनन्। धेरैले उनलाई खाना खुवाउँछन्। कमाएको सबै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा खर्च गर्छन्।
पुख्र्यौली थलो काठेखोला ३, धम्जा भए पनि सानैदेखि जैदीमा बसेका कँडेलको आफ्नो परिवार छैन। त्यसैले होला, गाउँका सबैलाई आफन्त ठान्छन्।

संस्कृत मावि बेलबगरमा ४० वर्ष सहयोगी भएर काम गरेका उनले तलब कहिल्यै आफ्ना लागि खर्चेनन्। सबैजसो रकम आफ्नै स्कुल, छिमेकी स्कुल, क्लब र सामाजिक संस्थालाई दान दिए। आफू भने बिहान–बेलुकी जसको घरमा काम गरे, त्यहीं दिएको खाना खाए। गाउँलेले दिएको कपडा लगाएर हिँडे। गाउँलेले एकपटक लगाएका कपडा दिएपछि वर्षभरि किन्नु नपर्ने उनी बताउँछन्।

आफ्नै स्कुललाई उच्चमावि र स्नातक तह सञ्चालन गर्ने अभियानका लागि ५ लाख रुपैयाँ र अन्य कामसमेत गरी १२ लाख रुपैयाँ सहयोग गरे। छिस्ती, अर्जेवा, बिनामारे, जैदी र धुल्लुबास्कोटलगायत दर्जनौं विद्यालयमा उनले पटक–पटक गरी करिब १५ लाख रुपैयाँ दान दिए। सानोतिनो दान दिएको हिसाबकिताब राखेका छैनन्। ‘तलब पाएको दिन कसलाई सहयोग गरौं भन्ने लाग्छ, कसलाई बढी खाँचो छ भनेर खोजी गर्छु,’ उनले भने, ‘आफ्नालागि कपडा, दाल–चामल किन्न पनि पर्दैन। पैसा जोगाएर के गर्ने? दान गरे काम लाग्छ।’

दुई दशकदेखि नगद खर्चेर आफ्नालागि केही किन्नु नपरेको उनले बताए। ‘भोको पेट बस्नुपरेको छैन, कसैको कुभलो चिताउनुपरेको छैन,’ उनले भने, ‘जोगाएर केही गरुँला भन्ने नभएकाले स्कुलहरूलाई सहयोग गर्न पाउँदा आनन्द लाग्छ।’

उनले गाउँमा सरसफाइ अभियानमा पनि योगदान दिएको विद्यालयका पूर्वप्रधानाध्यापक तथा जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले बताए। ‘काममा इमानदार, कसैको बिगार नगरेकाले उहाँलाई बालबालिकादेखि वृद्धसम्म सबैले चिन्छन्, सम्मान गर्छन्,’ पौडेलले भने, ‘उहाँको व्यक्तित्व फरक प्रकारको छ।’

आफ्ना लागि केही चाहिँदैन भनेपछि मानिस मनको धनी हुने स्थानीय तमसम रानाले बताए। ‘हामीलाई के गरी धेरै कमाइ होला भन्ने छ,’ उनले भने, ‘उनी भएको दान गर्छन् तर पनि खान–लाउन पुगेकै छ।’
कँडेलको सहयोगी मन देखेर धेरै संस्थाले सम्मान पनि गरेका छन्। सम्मान गर्न बोलाएका ठाउँमा उनी सबैले आफ्नो कर्तव्य सम्झेर काम गर्ने र कमाइको केही पैसा दान गर्ने वा शिक्षालाई सहयोग गर्दा देशलाई जापान र युरोप बनाउन सकिने बताउँछन्। ‘सबैले कामलाई सम्मान गर्ने र फजुल खर्च जोगाए १० वर्षमा नेपालाई जापान जस्तै बनाउन सकिन्छ,’ उनले भने, ‘सबै घरले कृषि उत्पादनमा जोड दिए विदेशबाट केही ल्याउनु पनि पर्दैन।’

प्रकाशित : श्रावण २५, २०७५ १९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT