१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आफन्तैले दिँदैनन् रगत

रगत दिँदा शरीर कमजोर हुने गलत सोचाइले बिरामीका आफन्त रक्तदानबाट पन्छिँदै 
दीपक परियार

लेखनाथ — रगत चाहिएर पुगेका बिरामीका आफन्तको पोखराको रक्तसञ्चार केन्द्रमा बेलाबेला भीड हुन्छ । केन्द्रको खाताबाट पाइएको रक्तदाताका नम्बरका फोन गरेर उनीहरू खाँचो परेको सुनाइरहेका हुन्छन् । अधिकांश समय केन्द्रमा रगत अभाव हुन्छ । 

आफन्तैले दिँदैनन् रगत

विशेषगरी दसैं, तिहारजस्ता चाडपर्वको समयमा रगत मौज्दात हुँदैन । रक्तदान कार्यक्रमको भरमा माग धानिरहेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रलाई रगत पुर्‍याउन हम्मे हुन्छ । बिरामीका आफन्तले रगत दिन चासो नदेखाउँदा अभाव हुने गरेको हो ।

विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमबाट केन्द्रमा रगतको जोहो हुन्छ । सर्वसाधारणमा रक्तदानप्रति सचेतना बढे पनि बिरामीकै आफन्त भने रक्तदान गर्न आनाकानी गर्छन् । कार्यालयका निर्देशक ध्रुवमणि लामिछानेका अनुसार आºनै रगत दिने बिरामीका आफन्त मुस्किलले वर्षमा १० जना मात्रै हुन्छन् । उनी रक्तदानप्रति आममानिसमा गलत धारणा अझै कायम भएको उदाहरणको रूपमा यसलाई लिन्छन् । ‘सिकिस्त बिरामी लिएर ४/५ जनासम्म आफन्त अस्पताल आउँछन्,’ उनी भन्छन्, ‘रगत चाहियो भनेर दिन कोही तम्सिँदैनन् ।’

रगत दिँदा शरीर कमजोर हुने गलत सोचाइले बिरामीको आफन्त रक्तदानबाट पन्छिन खोज्ने उनको अनुभव छ । ‘रगत दिने जिम्मा ब्लड बैंकको मात्रै हो भन्ने आमधारणा छ ,’ उनले भने । बिरामीका आफन्तले रगत दिने हो भने कुनै पनि बेला रगत अभाव नहुने उनी बताउँछन् ।

स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी बिरामीका आफन्तले रगत नदिनुमा पर्याप्त जनचेतनाको अभावलाई कारण मान्छन् । उनले भने, ‘बिरामीका आफन्तमा ब्लड बैंकले रगत खोजिदिन्छ, हामीले किन दिने भन्ने खालको मानसिकता छ ।’ सरकारले व्यवस्थापन गर्न जाने कहिल्यै रगतको अभाव नहुने उनको तर्क छ । ‘आफन्तले रगत नदिनु व्यवस्थापनको कमजोरी हो,’ उनले भने ।

ब्लड बैंकका अनुसार कास्कीमा आर्थिक ०७३/७४ मा १२ हजार ८ सय ९९ ले रक्तदान गरेका थिए ।

गत आर्थिक वर्षमा उक्त संख्या १३ हजार ७ सय पुग्यो । वर्षमा ८ सय मात्रै रक्तदाता बढ्नु सन्तोषजनक नभएको निर्देशक लामिछाने बताउँछन् । पोखरामा औसतमा ४० युनिट रगत दैनिक खपत हुन्छ । ब्लड बैंकमा हाल ‘ए’ र ‘बी’ समूहको रगत अभाव छ । ‘ओ’ र ‘एबी पोजिटिभ’ रगत भने पर्याप्त छ ।

प्रकाशित : श्रावण २५, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?