कांग्रेस र विप्लवका तीन कार्यकर्ता पक्राउ

काशीराम डाँगी

रोल्पा — रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना र कांग्रेसका एक कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेस र विप्लवका तीन कार्यकर्ता पक्राउ

प्रहरीले उनीहरुलाई घर्तीगाउ बजारबाट पक्राउ गरेको हो । केही दिन अघि प्रहरीद्वारा राजधानीमा पक्राउ परेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई छुटाउन गरिएको विरोध प्रदर्शन अघि नै उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले शुक्रबार माडी गाँउपालिकास्थित घर्तीगाउ बजारमा कोण सभा आयोजना गर्ने तयारी गरेका थिए । प्रहरीले उनीहरुलाई कोण सभा आयोजना गर्नु अघि नै दिउँसो पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ ।


पक्राउ गरिएकामा नेकपाका जिल्ला सचिवालय सदस्य दिनेश वली र मजदुर संगठनका जिल्ला अध्यक्ष सूर्य खड्का छन् । वली माडी गाँउकमिटी इन्चार्ज पनि हुन् । उनीहरु दुवै स्थानीय व्यवसायी समेत हुन् । उनीहरुलाई साथ दिइरहेका कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई पनि प्रहरीले पक्राउ गरेको हो । यसबारेमा कांग्रेसले कुनै प्रतिक्रिया दिएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय घर्तीगाँउमा राखिएको छ । स्थानीय प्रशासनले गृह मन्त्रालयको आदेश अनुसार पक्राउ गरिएको जनाएको छ ।


गृह मन्त्रालयको आदेश पालना गर्दा अटेरी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले यसअघि नै सदरमुकाम बाहेकका तोकिएका सीमित स्थानमा मात्रै विरोध प्रदर्शन गर्न सूचना गरेको थियो । जिल्ला सुरक्षा समितिका अनुसार घटनाबारे प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले गृह मन्त्रालयमा जानकारी गराएका छन् । स्थानीय प्रशासनले उनीहरुलाई सोधपुछपछि रिहाई गर्न सकिनेबारे परामर्श थालेको स्रोतले जनाएको छ ।


नेकपाले भने कार्यकर्ता पक्राउ गरेकोमा विरोध गरेको छ । नेकपाका जिल्ला सचिव सन्तोष सुवेदीले उक्त घटनाबारे आक्रोश व्यक्त गरेका छन् । उनले पक्राउ परेका कार्यकर्ताको विना सर्त रिहाईको माग गरेका छन् । पक्राउ परेकाबाट प्रहरीले माइक तथा अन्य बिरोध प्रदर्शनका सामान नियन्त्रणमा लिएको छ ।


यसैबीच नेकपाको प्रभाव मानिएको रोल्पामा स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई सुरक्षा चुस्त बनाउन खटाइएको छ । सरकारले रोल्पामा सुरक्षाकर्मी थप गर्ने निर्णय अनुसार १ सय ६० जनाको सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापना गर्न पहल थालेको छ । स्थानीय प्रशासनले उक्त क्याम्पका लागि उचित स्थानको खोजी थालिएको जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?