पर्यटकलाई मिलेमतोमा मोटरसाइकल नामसारी
काठमाडौँ — पर्यटक भिसामा राजधानी आएका फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिचेल चप्पु हरेक दिन कालो रङको साइन मोटरसाइकलमा हुइँकिन्थे । यिनै डेनिससहित उनका साथी क्रिस्टोफर गुलियोक्सलाई पक्राउ गरी साउन ८ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गर्यो ।
बाल यौन दुराचार आरोपमा पक्राउ परेका डेनिसमाथिको अनुसन्धान उनी चढ्ने मोटरसाइकलमा पनि केन्द्रित भयो ।
उक्त मोटरसाइकल भाडाको थिएन । उनले ६० हजार रुपैयाँमा किनेर आफ्ना नाममा पास गर्न भ्याइसकेका थिए । नेपालमा कुनै पेसा–व्यवसाय गर्न अनुमति नलिएका पर्यटकले उक्त मोटरसाइकल कसरी आफ्ना नाममा पास गरे ? त्यो पनि यातायात व्यवस्था विभागबाट कानुनी प्रक्रिया पुर्याएर । विभागका अनुसार भारतीयबाहेकका विदेशी नागरिकले नेपालमा सवारीसाधन किनेर आफ्ना नाममा पास गर्न ५ प्रकारको कागजी प्रक्रिया पूरा गर्नुपर्छ । यातायात व्यवस्था कार्यविधि निर्देशिका २०६० (संशोधित) मा म्याद बहाल रहेको भिसा, सम्बन्धित दूतावासको नो अब्जेक्सन लेटर, नेपालमा कुनै पेसा वा व्यवसाय गरेको प्रमाण, बसोबास गर्ने क्षेत्रको स्थानीय तहको सिफारिस र दूतावासले दिने रजिस्ट्रेसन पत्रका आधारमा मात्रै विदेशी नागरिकले सवारी नामसारी गर्न मिल्ने प्रावधान छ । तर, यी कुनै कागजी प्रक्रिया पूरा नगरेका डेनिसलाई यातायात व्यवस्था विभाग सतुंगलस्थित शाखाले मोटरसाइकल नामसारी गरेर बिलबुक दिएको छ ।
डेनिसको पक्राउसँगै विभागका कर्मचारीले नियमविपरीत विदेशी नागरिकलाई गाडी पास गरिदिएर प्रमाण लुकाउने गरेको तथ्य पनि प्रकाशमा आएको छ । मिलेमतोको यो धन्दा सुरु हुन्छ, वोया ९ भोजपुरका सन्तोष श्रेष्ठले आफ्नो मोटरसाइकल मित्रपार्कको पाठक वर्कसप रिकन्डिसनमा बेचेपछि । उक्त मोटरसाइकल वर्कसपले लुम्बिनी रिकन्डिसनलाई बेच्यो । लेखनदास किशोर भट्टराईले उक्त मोटरसाइकल पासको कागजी प्रक्रिया अघि बढाए । अर्का लेखनदास चित्रप्रसाद सापकोटाले थप काम गरे ।
स्रोतका अनुसार असार ८ मा ३९ लटको मोटरसाइकल पास गर्न रिकन्डिसन हाउसका कर्मचारी डेनिसलाई लिएर सतुंगल शाखाका अधिकृत केदार दाहालको कक्षमा पुगे । शाखामा मोटरसाइकलको लटअनुसार अधिकृत तोकिएका हुन्छन् । दाहालले पास गर्न नमिल्ने बताएपछि उनीहरू असम्बन्धित शाखाका अर्का अधिकृत कमला खत्रीको कोठामा पुगे ।
आफ्नो लटबाहेकको सवारी पास वा नामसारी गर्नुअघि कार्यालय प्रमुखको अनुमति लिनुपर्ने भन्दै कार्यालयले चैत १५ मा आन्तरिक सर्कुलर गरेको थियो जसमा कार्यादेशभन्दा बाहिरको कार्यसम्पादन गर्दा कार्यालय प्रमुखसँग लिखित अनुमति नलिए अनुचित प्रभावमा परेको ठानेर विभागीय कारबाही हुने उल्लेख छ । खत्रीले उक्त सर्कुलर बेवास्ता गर्दै डेनिसलाई मोटरसाइकल नामसारी गर्ने कागजी प्रक्रिया पूरा गरिदिइन् । यातायात व्यवस्थापन निर्देशिका २०६० विपरीत गरिएको कामको पोल खुल्ने डरले नामसारी गर्दा उठाइएको टिप्पणीसहितको फाइल नै रिकन्डिसनका कर्मचारीलाई दिएर पठाइन् ।
सतुंगल शाखाका प्रमुख गणेश अर्यालले यस प्रकरणबारे आन्तरिक छानबिन भइरहेको र केन्द्रीय कार्यालयलाई पनि जानकारी गराइएको बताए । स्रोतका अनुसार शाखाप्रमुखले अधिकृत खत्रीसँग सोधेको स्पष्टीकरणसहितको पत्र विभाग पठाइएको छ । तर विभागले आवश्यक कारबाहीमा ढिलाइ गरिरहेको छ । विभाग प्रवक्ता तुलसीराम अर्याल उक्त घटनाबारे आफूलाई विस्तृतमा थाहा नभएको भन्दै पन्छिए । ‘त्यसबारे ठ्याक्कै थाहा भएन । दैनिक कति निवेदन आउँछन, फ्याट्टै भन्न सक्दिनँ,’ उनले भने । अर्यालले यसो भने पनि विभाग स्रोतका अनुसार उक्त घटनाबारे उनी सबभन्दा धेरै जानकार छन् । सतुंगल शाखाले पत्राचार नै गरेर घटनाबारे बताएको र कर्मचारीको स्पष्टीकरणको पत्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँगै विभागमा पनि पठाएको छ ।
विभागले मिलेमतोमा मोटरसाइकल पास गरेको तथ्य खुलेलगत्तै ब्युरोले त्यससम्बन्धी कागजात खोजी गरेको थियो । तर सम्बद्ध कागजातको फाइल सतुंगल कार्यालयमा भेटिएन । ‘पोल खुल्ने डरले कर्मचारीले फाइल नै रिकन्डिसन हाउसका कर्मचारीलाई दिएको पाइयो,’ विभाग स्रोतले भन्यो । अधिकृत खत्रीले भीडभाडमा त्यस्तो काम भएको आफूले पछि मात्रै थाहा पाएको बताइन् । ‘अफिसमा राख्नुपर्ने फाइल कसरी अरूको हातमा गएछ ? त्यो बदमासी नै हो । यसमा मेरो केही गल्ती छैन,’ उनले उल्टै प्रश्न गरिन् ।
प्रकाशित : श्रावण २५, २०७५ २०:२०