कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बादीको व्यथा

अधिकांश बादी बालबालिकाको कलिलै उमेरमा बिहे हुन्छ । उनीहरू विद्यालय जाँदैनन्, साहुको भारी बोक्नतिर लाग्छन् । त्यसरी कमाएको पैसा पनि बाबुआमाले रक्सीमा उडाइदिन्छन् । बादी महिला देहव्यापारमा संलग्न छन् । श्रीमान् नै ग्राहकसँग सेटिङ मिलाइरहेका हुन्छन् ।
वसन्तप्रताप सिंह

बझाङ — कुनै बेला थलाराका रंगे बादी माटाका भाँडाकुँडा बनाएर अन्नपातसँग साट्थे । त्यसरी आएको अन्न ७ जनाको परिवारले खाएर पनि बढी हुन्थ्यो । बचेको अन्न उनी बिक्री गर्थे । बझाङका थलारा र चैनपुरका करिब ४० परिवार बादीको जीविकामा यो व्यवसायले राम्रै भरथेग गरेको थियो तर अहिले उनीहरूको पुख्र्यौली पेसा लोप भइसकेको छ ।

बादीको व्यथा

‘केही वर्ष पहिला भाँडा बनाउन घरमै अर्डर दिन आउँथे,’ ६५ वर्षीय रंगेले भने, ‘आजभोलि दिनभर गाउँ चहार्दा पनि किन्ने कोही भेटिँदैनन् ।’ आगो ताप्ने मक्कल, खाना पकाउने हाडा, पानी भर्ने तथा घिउ, मह आदि सञ्चय गर्ने गडेल्लाजस्ता भाँडा अचेल प्रयोग हुनै छाडेको उनले बताए ।

५/७ वर्ष पहिला डिला बादीको परिवार बादी समुदायमा सबैभन्दा सम्पन्न मानिन्थ्यो । राम्रो नाच्न र गाउन जान्ने भएकाले उनको माग जिल्लाभर हुन्थ्यो । ‘एक कार्यक्रममा १० देखि १५ हजारसम्म कमाइ हुन्थ्यो,’ डिलाले भनिन्, ‘भ्याइनभ्याई हुन्थ्यो ।’ उनीसँगै सारंगीवादक श्रीमान्, मादल बजाउन र नाच्न सहयोग गर्ने अरू पनि जान्थे । सबैले रामै्र रकम बकस पाउँथे ।

यो चलन पनि पूर्ण रूपमा हराइसकेको छ । डिलाको परिवार अहिले कथित उपल्ला जातका मानिसले स्वेच्छाले दिएको भरमा गुजारा चलाउन बाध्य छ । परम्परागत पेसा लोप भएपछि यहाँका सबैजसो बादी परिवार मागेरै गुजरा चलाइरहेका छन् ।

जयपृथ्वी नगरपालिकाको चैनपुरमा १४ र थलारा गाउँपालिकाको खोलीमा ३० गरी ४४ परिवार बादी छन् । उनीहरूको जनसंख्या १ सय ९८ छ । ९७ जना महिला छन् । १५ वर्षभन्दा मुनिका बालबालिकाको संख्या ७७ छ । ६० कटेका व्यक्ति ३ जना मात्र छन् । यस समुदायको औसत आयुबारे कुनै तथ्यांक नभेटिए पनि अधिकांश मानिस ५० वर्षभन्दा बढी बाँचेको भेटिँदैन । बादी समुदायमा हालसम्म एक जनाले एसएलसी पास गरेका छन् । १३/१४ वर्षको उमेरमा धेरै बालबालिका विद्यालय छाड्छन् ।

गरिबीको मार
जब बर्खा सुरु हुन्छ, चैनपुरका १४ परिवार बादीको सकस बढै जान्छ । टिनको टहरो पुरै ओसिलो हुन्छ । ओछ्याउने कपडा हुँदैनन् । ‘बिहान उठा चिसोले केटाकेटीका आँखा सुन्निएर टालिएका हुन्छन्,’ नीरा बादी भन्छिन्, ‘पानी परेको पर्‍यै छ । हातखुट्टा र गाँठा सुन्निने समस्या हुन थालेको छ ।’

हिउँद पनि सधैं पीडा बोकेरै आउँछ । बादी बालबालिका नांगै आङ जाडाको सामना गरिरहेका हुन्छन् । लक्ष्मी बादी भन्छिन्, ‘घाम लागेका दिन दिउँसो पल्टिन्छौं । नत्र रातभर आगो तापेर जाग्राम बस्ने गरेका छौं । दाउरा नभएको दिन रोएरै रात कट्छ ।’ गत पुसमा जाडाले ६ वर्षीया छोरी बेहोस भएको सुनाउँदै पुनीले भनिन्, ‘कतिबेला आगो निभेछ, थाहा भएन । निद्रा खुल्दा जाडाले छोरीको शरीर निलो भएको थियो । आगो फुकेर निकैबेर तताएपछि आँखा खोलेर रोई ।’

जनता आवासअन्तर्गत नयाँ घर बनाइदिने भनी पहिलेका टहरा भत्काइएपछि चैनपुर र थलाराका २८ परिवार बादी अस्थायी टहरामा रात काटिरहेका छन् । गत मंसिरभित्रै बनिसक्नुपर्नेमा थलाराका बादी समुदायका घर निर्माण हुन अझै दुई महिना लाग्ने बताइएको छ । चैनपुरमा ४ महिनाअघि जग हालेर छोडिएको छ । ओसिलो भुर्इंमा रात बिताउन निकै सकस भइरहेको चैनपुरकी राधा बादीले बताइन् । ‘बच्चा बिरामी पर्न थालेका छन्,’ उनले भनिन्, ‘निमोनियाँ भएको छ, न्यानो लुगा भए यस्तो समस्या आउने थिएन ।’

कुप्रथाको बन्धन
यो समुदायमा बालविवाह अर्काे समस्या हो । थलाराकी सुर्मा बादी उमेरले भर्खर सात वर्ष पुग्न लागिन् । उनको अघिल्लो वर्ष नै सोही गाउँका राजु बादीसँग मगनी भइसकेको छ । १५ वर्षीय राजुले भने, ‘विवाह खर्च जुटाइसकेका छैनौं । खर्चको जोहो भए यही दसैंमा, नभए मंसिरमा विवाह गर्ने योजना छ ।’ सरकारले बिहे गर्न उपयुक्त उमेर २० वर्षलाई मानेको छ तर वादी समुदायलाई न नेपाल सरकारको नियम थाहा छ, न त प्रजनन स्वास्थ्यका हिसाबले बिहे गर्न उपयुक्त उमेर ।

बादी समुदायमा सुर्माको उमेरका धेरैको विवाह भइसकेको छ । मगनी भइसकेका ८ जना बालिकाको यसै वर्ष विवाहको तयारी गरिएको सविता बादीले बताइन् । ‘धेरैजसोको त ३/४ वर्षको उमेरमै मगनी भइसक्छ,’ उनले भनिन्, ‘७/८ वर्षकै उमेरमा विवाह गराइदिन्छन् ।’ परम्परादेखि चल्दै आएकाले यो संंस्कारलाई निरन्तरता दिएको बादीहरू बताउँछन् । ‘बाजेबराजुका पालादेखि यस्तै चलेको हो,’ थलाराका अम्मर बादीले भने, ‘हामी कसरी छोड्न सक्छौं र ?’

बादी समुदायको यो चलन रोक्न धेरै प्रयास गरे पनि नसकेको थलारा प्रहरीचौकीमा लामो समय काम गरेका प्रहरी नायब निरीक्षक नारायण चन्दले बताए । ‘दुवै पक्षको कुरा मिलिसकेको हुन्छ,’ उनले भने, ‘रोक्न गए हामीमाथि नै आक्रमण हुने खतरा हुन्छ ।’

ऋणमाथि ऋण
चैनपुरको दक्षिण पश्चिम कुनामा रहेको कित्थी बादीको झुप्रामा ४ वर्षदेखि सानो ताला झुन्डिएको छ । उनका श्रीमान् राइल्या बादीले लिएको ऋण नतिरेको भन्दै साहुले ताला लगाएका हुन् । कित्थीले २ छोरा र एक छोरीसहित छिमेकी पदमको झुप्रामा शरण लिइन् । त्यहाँ बस्ता पनि साहुले ऋण तिर भन्दै सताउन थालेपछि १ वर्षअघि ११ वर्षका छोरा लिएर उनी थलारामा आफन्तकामा गइन् । १४ वर्षका छोरा जीवन चैनपुरमा कहिले कसको त कहिले कसको झुप्रोमा बसेर गुजारा गरिरहेका छन् । उनलाई पनि साहुले ऋण तिर्न दबाब दिइरहेका छन् ।

यहाँ १४ परिवार बादीको बसोबास छ । सबैले छिमेकी सुनार समुदाय र बजारका केही पसलेबाट ऋण लिएका छन् । समयमै तिर्न नसक्दा उनीहरूले दैनिक साहुको दुव्र्यवहार खप्नुपरेको छ । ऋणकै डरले भागेका सुरेन्द्र बादी अहिलेसम्म समुदायको सम्पर्कमा नआएको रमेश बादीले बताए । रमा बादी ५ वर्षकी छोरी छोडेर २ वर्षअघि बेपत्ता भएकी थिइन् । उनकी छोरीको बिचल्ली छ । साहुको कुटाइ र गाली खानु सामान्य भइसकेको बम्म बादीले बताए । ‘दिनभर मागेर ल्याएको चामल पनि खोसिदिन्छन् । पकाएको भात पनि लगेर आफ्नो गाईलाई खुवाउँछन् । कति दिन त सानी छोरी र म भोकभोकै सुतेका छौं,’ उनले भने ।

ऋण लिन लालपुर्जा, बादी परिचयपत्र, नागरिकतालगायत धरौटी राखेका कारण बादी समुदायका कसैसँग परिचय खुल्ने सरकारी कागजात छैन । आफूले लिएको भन्दा बढी रकमको कागज साहुले बनाउने गरेको उनीहरूको गुनासो छ ।

दुर्व्यवहार हुनुमा बादीहरूको बानी नै कारण भएको राधा बादीको भनाइ छ । ‘१ हजार माग्छन्, एक हप्तामा हजारको पन्ध्र सय दिउँला भनेर आफैं कबोल गर्छन्,’ उनले भनिन्, ‘भनेको समयमा ऋण तिर्न सक्दैनन् । साहुलाई ढाँटेपछि दुव्र्यवहार त गर्ने नै भए ।’ बादीहरूमा काम नगरी खाने बानी परेको उनले बताइन् ।

बाबुआमा रक्सीमा रमाउने
असार तेस्रो साता एक हुल कलिला बालबालिका खोलीको उकालो काटै थिए । सबैको पिठ्यूँमा गह्रौं भारी थियो । उनीहरू थलारा गाउँपालिकाका बादी बालबालिका हुन् । सबैजसो दैनिक बिहान एक घण्टा ओरालो हिंडेर झनाना बजार पुग्छन् अनि स्थानीय व्यापारीको सामान बोकेर २/३ घण्टा उकालो चढ्छन् । एक जनाले दैनिक डेढ सयसम्म कमाउँछन् । यसरी दु:ख गरेर कमाएको पैसा उनीहरूका बाबुआमाले रक्सी खाएर उडाइदिँदारहेछन् । ‘महिनाभरिमा तीनचार हजारजति कमाउँछु होला,’ १० वर्षीया निर्मला बादीले भनिन्, ‘५/६ सयजतिको म खाजा खान्छु । बाँकी बुबाआमाले रक्सी खाएरै सकाउनुहुन्छ ।’

केटाकेटीले दैनिकजसो भारी बोक्ने गरेको र वयस्कहरू मदिरामै भुल्ने गरेको स्थानीय महिला स्वास्थ्य स्वंयसेविका चक्रुदेवी रोकायाले बताइन् । ‘यी बच्चा दिनदिनै भारी बोक्छन् । यिनका बाबुआमा बिहानैदेखि रक्सी खाएर सुतेका होलान् । केटाकेटीको कमाइले परिवार धानेका छन्,’ उनले भनिन् । पहिलादेखि नै माग्ने र मदिरा पिउने जात भएकाले यसलाई अन्यथा लिन नहुने रंगे बादीले बताए । रक्सीले लट्ठ परेको अवस्थामा भेटिएका उनले भने, ‘हामीले यसरी नै हाम्रा आमाबाबुलाई पाल्यौं । यिनीहरू हामीलाई पाल्छन् । यिनलाई यिनकै छोराछोरीले पाल्छन् ।’

सिंगो बादी समुदाय नै मदिराको लतमा फसेकाले उनीहरूको उन्नति हुन नसकेको स्थानीय गोरख विष्टले बताए । ‘चौबिसै घण्टा रक्सी खान्छन्,’ उनले भने, ‘बादी समुदायको उत्थानका लागि विभिन्न संघसंस्थाले प्रयास गरे पनि मदिराको लतकै कारण सफल हुन सकेन ।’

विद्यालय जाँदैनन् बालबालिका
स्कुले उमेरका सबैजसो बालबालिका भारी बोकिरहेको अवस्थामा भेटिन्छन् । गत वर्ष ३ कक्षा पढै गर्दा स्कुल छोडेकी थलाराकी १२ वर्षीया निर्मला बादीले भनिन्, ‘घरमा समयमा खाना पाकेको हँुदैन । कहिले भोकै जानुपर्छ । कहिले आमाबुबाले नै किन स्कुल जानुपर्‍यो भनेर हपार्छन् । त्यही भएर जानै छोडिदिएँ ।’

थलारामा स्कुल जाने उमेरका ५० जनाभन्दा बढी बालबालिका छन् । घरबाट करिब ५ सय मिटरको दूरी उच्च माध्यमिक विद्यालय छ तर नियमित स्कुल जाने एक जना मात्र छन् ।

थलारा उच्च माविका शिक्षक धर्मराज उपाध्याय भन्छन्, ‘यिनीहरूका अभिभावकको नै कमजोरी छ । विद्यालय नियमित पठाउनुपर्‍यो भनेर कति सम्झायौं, मान्दै मान्दैनन् ।’ अभिभावक मदिराको लतमा लागेका कारण छोराछोरीले नै मागेर वा भारी बोकेर पाल्नुपर्ने अवस्था रहेको उनले बताए ।

चैनपुरका बादी बालबालिकाको हालत पनि उस्तै छ । बस्तीबाट ५ मिनेट दूरीमा २ वटा सरकारी विद्यालय छन् तर नियमित पढ्न जाने बादी बालबालिकाको संख्या २ मात्र छ । स्कुल जाने उमेरका बालबालिकाको संख्या भने ३३ छ ।

‘अघिल्लो वर्ष १५ जनाले भर्ना गरेका थिए । एक दुई जना मात्र नियमित आउँथे । यो वर्ष कसैले भर्ना गरेका छैनन्,’ नमुना निमाविका प्रधानाध्यापक गजेन्द्र रसाइलीले भने, ‘छात्रवृत्ति पाउने लोभमा भर्ना गर्छन् । तर स्कुल आउँदैनन् ।’ चैनपुरका बादी केटाकेटीहरू दिनभर बजारमा डुलेर मागेर खाने गरेका छन् ।

जयपृथ्वी सामुदायिक अध्ययन केन्द्र र जिल्ला शिक्षा एकाइले गरेको अध्ययनअनुसार ४३ बादी बालबालिकाले बीचैमा विद्यालय छाडेका छन् । आफ्नो समाजमा बालबालिकाले पढ्ने बातावरण नै नभएको अभिभावक बताउँछन् । ‘खानाको ठेगान छैन, बाबुआमा रक्सीले टिल्ल परेर रातदिन होहल्ला गर्छन् । केटाकेटीलाई पिट्छन्,’ थलाराकी कस्तुरी बादीले भनिन्, ‘यस्तो समाजमा कसरी बच्चाले पढ्न सक्छन् ।’ बादी महिलाको अगुवाइसमेत गरिरहेकी उनी बालबालिकालाई अन्त कतै राखेर पढाउन सके पछिल्लो पुस्ता सप्रिने बताउँछिन् ।

लगानी बालुवामा पानी
गरिबी निवारण कोषको आर्थिक सहयोगमा गैरसरकारी संस्था सप्रोस नेपालले थलाराका बादीको आयआर्जनका लागि भन्दै बाख्रापालन कार्यक्रम सुरु गर्‍यो । सबैले मेहनत पनि गरे ।

प्रतिपरिवार ३ वटाका दरले वितरण गरिएका बाख्रा आठ महिनाको अवधिमा ६ वटासम्म भइसकेका थिए । बादी बस्तीमा अर्कै रौनक थियो । यो देखेर संस्थाका कर्मचारी, त्यसमा पनि यही बस्तीको रूपान्तरणका लागि काम गरिरहेका सामाजिक परिचालक दिलबहादुर सिंह दंग थिए ।

संस्थाका कर्मचारीहरू दसैंतिहार मनाउन आफ्ना घरतर्फ लागे । करिब डेढ महिनापछि परिचालक सिंह बादी बस्ती फर्कंदा सबैका खोर रित्ता पाए । बस्तीमा ३/४ वटा बाख्रा मात्र बाँकी थिए ।

‘५६ वटा बाख्रा गनेरै गएको थिएँ । डेढ महिनामै सबै काटेर खाएछन्,’ उनले भने, ‘हामीलाई रोग आएर बाख्रा सखाप भए भनेर ढाँटे ।’

बादी समुदायको जनचेतना अभिवृद्धि, सीप विकास, क्षमता विकास, आयआर्जनलगायतमा गरिएको सरकारी तथा गैरसरकारी लगानी उपलब्धिविहीन हुन पुगेको छ ।

‘५/६ वटा तालिम नलिएको र ४०/५० हजार रकम नपाएको त कोही छैन होला,’ कस्तुरी बादी भन्छिन्, ‘पैसा पाउनेबित्तिकै रक्सीमा ध्यान जान्छ । मागिखाने बानी लागेकाहरू काम गरी खानै मान्दैनन् ।’ उनले कतिपय व्यक्तिसँग सीपमूलक तालिमका २० भन्दा बढी प्रमाणपत्र रहेको बताइन् ।

बादी समुदायमा सरकारी–गैरसरकारी क्षेत्रको लगानीको यकिन तथ्यांक नभए पनि २० वर्षयता कम्तीमा ३ करोड खर्च भइसकेको थलारा गाउँपालिकाकी उपाध्यक्ष गंगुदेवी खडायतको भनाइ छ । ‘सरकारी–गैरसरकारी निकायले दिइहाल्छन्, किन काम गर्नुपर्‍यो भन्ने मान्यता छ । सानो संख्याका बादीहरूमा भएको ठूलो लगानीले उनीहरूलाई परनिर्भर बनाएको हो,’ उनले भनिन् ।

देह व्यापारले बिगार्‍यो
देहव्यापार बादी बस्तीको अर्को समस्या हो । देहव्यापारकै कारण यो समुदाय पछि परेको खडायतको तर्क छ । ‘भनेको बेला पैसा आइहाल्छ, त्यही भएर काम गर्न अल्छी गर्छन्,’ उनले भनिन् । बादी महिलाका श्रीमान्हरूले नै देहव्यापारको मोलमोलाइदेखि सेटिङ मिलाउने गरेको उनले बताइन् ।

‘साना नानीहरूलाई पनि सानैदेखि यस्ता काममा लगाउने गरेको पाइयो,’ खडायतले भनिन्, ‘यहाँ परिवर्तन गर्न निकै गाह्रो छ ।’

बादी महिलाहरू देहव्यापार बाध्यता रहेको बताउँछन् । ‘केटाकेटी भोकभोकै तडपरहेका हुन्छन् । केही किनेर दिउँm, आफूसँग पैसा हँुदैन । कमाइ खाने अरू बाटो छैन । देहव्यापार नगरी के गर्नु त ?,’ निरा बादीले भनिन् । कतिपय अवस्थामा बिस्कुट र चाउचाउसँग पनि शरीर बेच्नुपरेको उनले बताइन् ।

यो समुदायको स्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहे पनि सफल हुन नसकेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर जोशीले बताए । ‘पुराना त केही गरे पनि सुध्रिन सकेनन् । यिनका बालबालिकालाई छुट्टै राखेर माध्यमिक तहसम्म मात्र भए पनि शिक्षा दिनसके पछिल्लो पिंढी परिर्वतन हुन्थ्यो कि ?’ उनले भने ।

प्रकाशित : श्रावण २६, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?