३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सहमति कार्यान्वयन नभए पुनः अनशनमा बस्ने डा‍.केसीको चेतावनी

अतुल मिश्र

काठमाडौँ — डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीलाई सरकारले आफूसँग १६ दिनअघि गरेको ९ बुँदे सहमति कार्यान्वयन नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

सहमति कार्यान्वयन नभए पुनः अनशनमा बस्ने डा‍.केसीको चेतावनी

डा. केसीले बालुवाटारमा शनिबार प्रधानमन्त्रीलाई भेटी सहमति कार्यान्वयन गर्न दबाब दिएका हुन् । प्रधानमन्त्री ओलीले ४ दिनअघि नै केसीलाई भेट्न सन्देश पठाएका थिए । केसीको स्थ्यस्थितिका कारण भेटवार्ता ढिलो भएको हो । ओली र डा. केसीबीच सहमति कार्यान्वयन सम्बन्धमा करिब दुई घण्टा छलफल भएको थियो ।

प्रत्युत्तरमा ओलीले आफू सहमति हुबहु कार्यान्वयन गर्न प्रतिबद्घ रहेको भन्दै केसीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । स्रोतका अनुसार केसीले प्रधानमन्त्रीलाई संसद्बाट चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गराउन माग गरेका थिए । सहमति अक्षरश: कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै उनले सहमति १६ दिन भइसक्दा पनि मन्त्रिपरिषद्बाट अनुमोदन नभएकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सरकारले विश्वविद्यालय र प्रतिष्ठान पदाधिकारी नियुक्ति मापदण्ड निर्धारणका लागि १५ दिनभित्र कार्यदल गठन गर्ने सहमति गरे पनि अहिलेसम्म त्यसबारे कुनै निर्णय नभएकोतर्फ समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले डा.केसीलाई संसद्बाट सम्झौताअनुसार नै विधेयक पारित गर्ने जिम्मेवारी आफ्नो रहेको बताए । प्रत्युत्तरमा डा. केसीले कुनै छलछाम भए, तोडमरोड भए आफू १६ औं अनशन बस्न बाध्य हुने चेतावनी दिए । जवाफमा प्रधानमन्त्रीले भने, ‘म त्यस्तो स्थिति नै आउन दिन्नँ ।’

सहमति मन्त्रिपरिषद्बाट अनुमोदनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव पेस गर्ने औंल्याउँदै प्रधानमन्त्रीले उक्त प्रस्ताव शिक्षामन्त्रीले ल्याउनुपर्ने भएकाले यसबारे उनीसँगै बुझ्ने जनाएका थिए । उनले शनिबारै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बालुवाटार बोलाउने बताएका थिए । प्रधानमन्त्रीले दुई/तीन दिनभित्रै सम्झौतासँग सम्बन्धित प्रक्रियाहरू अगाडि बढाउने प्रतिबद्घता छलफलमा व्यक्त गरे ।

उक्त छलफलमा केसीका तर्फबाट डा. अभिषेकराज सिंह, डा. सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल, विषद् दाहाल, डा. विश्वराज तिमिल्सिना, प्रीतम सुवेदी पनि संलग्न थिए । सरकारका तर्फबाट ओलीसहित प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार कुन्दन अर्याल थिए । सरकारसँग ९ बुँदे सहमतिपछि २७ दिन लामो अनशन तोडेका डा. केसी तीन दिनअघि नै त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर क्वार्टरमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

मार्सी चामलदेखि जिल्ला भ्रमणसम्म भेटवार्तामा मार्सी चामलको प्रसंगदेखि जिल्ला भ्रमणलगायत थुप्रै अनौपचारिक कुराकानीसमेत भएको थियो । स्रोतका अनुसार डा. केसीले मुलुकका सबै जिल्ला भ्रमण गरेको र एउटा जिल्लामा कम्तीमा तीनपटक पुगेको प्रधानमन्त्रीलाई बताएका थिए ।

सबै वस्तुस्थिति बुझेको जनाउँदै डा. केसीले भनेका थिए, ‘म रहरमा, कसैको लहडमा आवेगमा आएर अनशन बसेको हैन । मान्छेको दु:खले मलाई भित्रैदेखि छोएको छ । अन्याय, अत्याचारविरुद्घ लडेको हो । शिक्षा र स्वास्थ्य गाउँका जनताको पनि नैसर्गिक अधिकार हो ।’ जवाफ प्रधानमन्त्रीले भने, ‘म १४ वर्ष जेल बसें डाक्टर साहेब, त्यसैले तपाईंजति घुम्न पाएको छैन तर कम्तीमा एकचोटि हरेक जिल्ला गएको छु ।’

आफू ८ कक्षा पढेको, भैंसी चराएको, हलो जोतेको मान्छे रहेको पनि ओलीले बताए । प्रधानमन्त्रीले मेडिकल शिक्षाको नेतृत्व लिनसमेत डा. केसीसँग आग्रह गरे । स्रोतका अनुसार डा. केसीले कुनै पदका लागि नभएर मुलुकमा थिति बसाल्न सत्याग्रह गरेको जनाएका थिए । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले मार्सी चामलको प्रसंग झिक्दै आफूलाई पहिले यसबारे थाहा नभएको बताए ।

कालो–कालो देखिने मार्सी चामल खासै मिठो नहुने जनाउँदै उनले ठट्यौली गरे, ‘मिठो चामल खाएर भाइरल भएको भए पनि हुन्थ्यो नि ।’ प्रधानमन्त्रीले केसीसित आफूलाई मार्सी चामलको भात खुवाउने प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसित कुनै व्यक्तिगत सम्बन्ध नभएको बताएका थिए ।

‘आशा गरौं, सम्झौता अक्षरश: कार्यान्वयन हुन्छ’
डा. केसीले प्रधानमन्त्रीसँग भेटवार्तापछि सरकारसँगका सम्झौता अक्षरश: पालना हुने आशा व्यक्त गरे । अन्यथा १६ औं पटक अनशन बस्न आफू तयार रहेको उनले बताए । आफूले धेरै ठूलो अपेक्षा नगरेको जनाउँदै केसीले प्रधानमन्त्रीले केही प्रतिबद्घता व्यक्त गरेको उल्लेख गरे । २७औं दिन भए पनि सम्झौता भएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएको उनले बताए ।

भिडियोः

प्रकाशित : श्रावण २६, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?