दीगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले दीगो विकास लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रिय सभा गृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ उद्घाटन गर्दै उनले ‘दीगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका हुन् ।

दीगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख

‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो’, उनले भने, ‘यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दीगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ । दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हासिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’


जलवायु परिवर्तनका कारण ठूला प्राकृतिक विपदका घटना भइरहेको भन्दै सभामुख महराले दीगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्नेतर्फ सचेत गराए । उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको बताउँदै सभामुख महराले भने, ‘युवाहरु आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ बढ्नुपर्छ । उद्यमशीलताले रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ ।’


लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतिसँग लड्ने क्षमताको खोजी गर्न उनले युवाहरुलाई आग्रह गरे । विकासका साझा मुद्दाहरुमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने सभामुख महराको भनाइ थियो । उनले नयाँ संविधान कार्यान्वयनकै चरणमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा ठूलो युवा समूह जनप्रतिनिधि चुनिएको उल्लेख गरे । उनले राजनीतिक नेतृत्व तहमा पुगेको युवा शक्तिले वर्तमान विश्वका आम युवाहरुका साझा सवालमा एसियाली मुलुकका युवाहरुसँग सहकार्य गरेर काम गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : श्रावण २६, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?