कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जनप्रतिनिधि कर बढाउँदै विलासितामा लागेको भट्टराईको आरोप

हरिराम उप्रेती

गोरखा — नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले अनावश्यक करको भार बढाएर जनप्रतिनिधिको दोहनकारी चरित्र तल्लो तहसम्म पुगेको आरोप लगाएका छन् ।

जनप्रतिनिधि कर बढाउँदै विलासितामा लागेको भट्टराईको आरोप

पार्टी कार्यक्रमका लागि शनिबार गोरखा आएका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै तल्लो तहका जनप्रतिनिधिले शीर्ष नेताको देखासिकी गरेको आरोप लगाए । ‘माथिल्लो तहका नेता राज्यको दोहन गरेर जसरी निजी लाभ लिइरहेका छन् तिनै पार्टीबाट निर्वाचित भएका तल्ला तहका जनप्रतिनिधि पनि शीर्ष नेताको देखासीखी गरेर विलासीताको सामान खरिदका लागि जुन हर्कत गरिरहेका छन्,' उनले भने, 'त्यो एकदमै गलत हो ।,’ उनले कांग्रेस र कम्युनिस्टका कार्यकर्ताले जनप्रतिनिधिको रुपमा भ्रष्टचारजन्य हर्कत तल्लो तहसम्म बताए ।


कतिपय स्थानीय तहले जन्मदर्तामा १ हजारदेखि १५ सयसम्म कर लिने विषय सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि जनाए । ‘जन्मने वित्तिकै कर लगाउनु गलत हो, विदेशमा बच्चा जन्मिए खुसी हुँदै आउँछन्, हाम्रो यहाँ ट्याक्स तिर्नुपर्छ, यो उल्टो भयो,’ उनले भने, ‘यो संघीयताको मर्मविपरीत भयो, केन्द्रीय नेतृत्वले दिशाबोध गर्नुपर्छ ।’ लामो संघर्ष, बहस र छलफल पछि आएको संघीयता कार्यान्वयनमा केही त्रुटी भए पनि यसबाट विमुख हुन नसकिने भट्टराईको भनाइ छ ।


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई हत्कडी लगाउनु गलत भएकोसमेत उनले बताए । ‘राजनीतिक शक्तिलाई राजनीतिक ढंगले व्यवहार गरिनुपर्छ,’ उनले भने, ‘क्रान्ति गरेर आएका पार्टीका नेता सरकारमा हुँदा अपराधी घोषणा गरेर हत्कडी लगाउनु गलत भएको हो ।’ अहिलेको सरकारले राष्ट्रहित र जनविरोधी काम गरेको भट्टराईको आरोप छ ।


५–६ महिनामै सरकारको असली चरित्र देखिएको समेत उनले बताए । ‘१४ वर्ष जेल परेका प्रधानमन्त्री, विद्रोहको नेतृत्व गरेको प्रचण्ड र मेरा सहकर्मी साथीहरु भएको सरकारले केही राम्रो काम गर्छ भन्ने थियो,’ उनले भने,‘दुई, तीन वर्ष हेरौं भनेको ५–६ महिनामै राष्ट्रहित र जनविरोधी काम देख्यौं अब जनताले नयाँ विकल्प खोज्छन् ।’ सरकारले भ्रष्टचार, अनियमितता, कमिसनखोरी नियन्त्रण गर्न नसकेको उनको भनाइ छ ।


सरकार ठूला पूर्वाधर निर्माणमा अघि बढ्नुपर्नेमा रेल र पानी जहाजको अमूर्त कुरा गरेर अड्किएको उनको भनाइ छ । ‘प्रत्येक स्थानीय तहको केन्द्र जोड्ने बाटो चाहियो, लगानी बढाउनुपर्थ्यो,’ उनले भने, ‘आयातमुखी अर्थतन्त्रलाई पक्षपोषण गर्नु राष्ट्रहितविपरीत हो, मुखले राष्ट्रवादको कुरा गर्नुभयो व्यवहारमा त्यसो भएन ।’


गोरखा निर्वाचन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका भट्टराईले शनिबार नै पुनर्निर्माणमा रहेको गोरखा दरबारको निरीक्षण गरेका थिए । पुनर्निर्माण ढिला भएको भन्दै उनले असन्तुष्टिसमेत जनाए ।

प्रकाशित : श्रावण २६, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?